कला

पलेँटीमा नोरदेन रुम्बाका गीत सुनाउँदै डेजी, चन्दन र विमोचना

हरेक अंग्रजी महिनाको अन्तिम शुक्रबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङको सांगीतिक परिवार प्रस्तुत हुने भएको छ। यस महिनाको कार्यक्रमका निम्ति संगीतकार चन्दन लोमजेलले गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन्, जसलाई गायक डेजी बराइली र विमोचना लोमजेलले गाउनेछन्।  

पलेँटी कार्यक्रम आजभन्दा २० वर्षपहिलेदेखि सञ्चालन हुँदै आएको हो। नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगत्मा परिचित व्यक्ति हुन्। रुम्बाले दार्जिलिङ बसेर गरेका सिर्जनाले नेपाली साहित्यिक क्षेत्रमा योगदान पुगेको छ।

सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रूपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगत्मा गुन्जिइरहन्छन्।

संगीतकार चन्दन लोमजेलकै धुनमा नारायण गोपालले स्वर दिएको ‘मेरा सबै रात अब, मातहरू भए’ गीत नोर्देन रुम्बाले नै रचना गरेका हुन्। त्यस्तै, कर्म योञ्जनको सङ्गीतमा अरूणा लामाले गाएको ‘फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा’, बद्री–दुर्गा खरेलको संगीतमा रहेका ‘गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ’ र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदै छु’ नोर्देन रुम्बाकै शब्द हुन्।

त्यसैगरी चन्दन लोमजेलकै संगीतमा डेजी बराइलीले गाएको ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम’ साथै नेपथ्यले गाएको ‘कसैले सोधे कुन हो तिम्रो गाउँ’ पनि नोरदेन रुम्बाकै सिर्जना हुन्। यो महिनाको पलेँटीमा भने उनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुनेछन्।

यसपालिको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्, ‘नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू संगीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो। त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली संगीतप्रेमीमाझ ल्याउने जमर्को गरेका हौं।’

पहिलोपटक सन् २००६ मा पलेँटीमा बसेका चन्दन भन्छन्, ‘पलेँटीले पूराना सर्जकका रचनालाई संरक्षण गर्ने राखेको उद्देश्यबाट प्रभावित भएर नै यसपालि पनि पलेँटीमा आएका छौं। गीतकार नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उद्देश्य सुन्नेबित्तिकै यहाँ आएर वाद्यवादकसँग अभ्यास गरिरहँदा झन् उत्साहित छु।’ चन्दनझैं सन् २००६ मै पहिलो पटक पलेँटीमा आएकी डेजी बराइली भन्छिन्, ‘पहिलो पटक पलेँटीमा आउँदा त यो कार्यक्रमबारे अनभिज्ञ थिएँ। त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौं।’

प्रकाशित: १० फाल्गुन २०८१ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App