कला

म छोरा हुँ

लघुकथा

एक मात्र छोरी गार्गीलाई उनकी आमा भन्छिन्, ‘छोरी तिम्रो बिहे गर्ने बेला भैसकेकाे छ। धेरै ठाउँबाट माग्न आएका छन्। कुरा चलाऊँ है।’

आमाको कुरा सुनेर रिसाउँदै तपाइँहरूलाई मलाई घरबाट निकाल्न हतार लागेको छ। त्यो मलाई थाहा छ। म निक्लिऊँ त भन्छे।

आमा बिस्तारै त्यसो होइन छोरी, बिहे भनेको बेलैमा गर्नुपर्छ। तिमीले आफैं छानेको छ भने पनि भन भन्छिन्।

आजको जमानामा बिहे गर्न केटाकेटी अरूले खोज्ने हो र? जसले बिहे गर्ने हो त्यसले नै सबै निर्णय गर्छ। बिहेभन्दा पहिले सँगै घुम्ने, रमाइलो गर्ने। मन लागेको शाेख जति सबै पूरा गर्नुपर्छ। जीवन छोटो छ। आजको दिन रमाएर बाँच्नुपर्छ। मलाई मेरो जीवन बाँच्न दिनुस्। तपाईहरू हस्तक्षेप नगर्नुस् भनेर फलाक्दै ऊ आफ्नो कोठातिर पस्छे।

बिहे गरेको दश वर्षपछि जन्मिएकी एउटा मात्रै छोरीका लागि आमाबाबुले कुनै कुराको अभाव हुन दिएनन्। नर्सरीदेखि नाम चलेको स्कुल भर्ना गरे। छोरी पनि पढाइमा तेज थिइन्। राम्रो स्तरमा परीक्षाहरू उतीर्ण हुँदै गई। ऊ जति ठुली हुँदै जान्थी आमाबाबु छोरीको अनाैठो व्यवहार देखेर सशङ्कित हुन्थे।

ऊ आमाबाबुको कुरा पट्टकै सुन्दिन थिई। छोरीको भविष्य बिग्रेला भनेर उनीहरू भने चिन्तित हुन्थे। त्यसैले बैलैमा उसकाे बिहे गरिदिने सोचमा थिए। तर ऊ भने स्वतन्त्र भएर आफनै तालमा हिँड्न रमाउँथी। राति अबेर घर आउने, केटाको जस्तो लुगा लगाउने गर्थी। राति पिएर आए पनि बाबुआमा धैर्य रहेर भोलिपल्ट बिहान शान्त भएको बेला कुरा गर्दथे।

 त्यसबेला पनि ऊ भन्थिन्, ‘तपाईहरू मेरो चिन्ता लिन छोडिदिनुस्। म केटी होइन, केटा हुँ। मलाई कसैले केही गर्न पनि सक्दैन।’

छोरीको त्यस्तो व्यवहारले उनीहरू दुःखी हुन्थे।

एकदिन मध्यरातसम्म छोरी घर नअएकीले उनीहरू कुरेर बसिरहेका थिए। बिहान हुने बेलामा नशाले मदहोश भएर लरबराउँदै आइपुगे।

उनीहरूको अगाडि ठिङ्ग उभिएर भनिन्, ‘म तपाईहरूको छोरा हुँ। तपाईहरूले मेरो छोरी बाह्य आवरणभित्र छोराको चरित्र हेर्ने प्रयास नै गर्नु भएन। बाह्य बनोट छोरीको भए पनि आन्तरिक बनोट मेरो छोराको छ। त्यसैले म भोलि नै सेक्स परिवर्तन गर्न विदेश जाँदैछु। फर्केर आएपछि तपाईहरूका लागि बुहारी भित्र्याउने छु। भोलि बिहानै विदेश उड्दै छु।’  केहीबेरमै आमाबाबुको जवाफको प्रतीक्षा नै नगरी आफ्नो कोठा भित्र पसी।  

प्रकाशित: ४ फाल्गुन २०८१ ११:५० आइतबार

# Laghukatha Saundarya # Niyatra # Nagarik ko 'Akshaar' # Muktak # Poem