कला

एलिनालाई रचना र समीक्षाको हौसला: सधैँ तपाईंको साथमा छाैँ

गायिका एलिना चौहानको डिभोर्सलाई लिएर धेरैले सहानुभूति देखाइरहेका छन्। एलिनालाई हौसलाका साथ अगाडि बढ्नका लागि धेरैले सुझावहरू दिइरहेका छन्।

यसैबिच उनका दुई समकालीन गायिकाहरू रचना रिमाल र समीक्षा अधिकारीले खुसी भएर अगाडि बढ्न भनेका छन्।

गायिका रिमालले आफूहरूले साङ्गीतिक क्षेत्रमा प्रवेश गरेदेखि नै एक अर्काको दुःख सुख साटिरहेको बताएकी छिन्। उनले आफूहरूको सम्बन्धमा दरार ल्याउन केही मान्छेहरु लागि परे पनि त्यो सफल नभएको बताएकी छिन्।

रिमालले कुराकानीमा एलिनाले भोगेको पीडाहरू सुन्दा आफूलाई नै पीडा महसुस हुने गरेको पनि उल्लेख गरेकी छिन्। उनले लेखेकी छन्, 'हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफूलाई नै पीडा महसुस हुन्थ्यो । अन्ततः आज तपाईँले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी, अब तपाईँलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुसी आउँदै, जाँदै गर्छन्, तर मनको खुसी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’

अर्की गायिका समीक्षाले पनि डिभोर्सको निर्णय लिएर एलिनाले आफूलाई सक्षम र साहसी नारी साबित गरेको बताएकी छन् । हिजोका दिनमा आफूलाई पीडा पर्दा उत्प्रेरणा दिएको पनि उनले भनेकी छिन्।

समीक्षाले लेखेकी छिन्, 'हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यति बेलै तपाईँ साँच्चै साहसी लाग्नुहुन्थ्यो। आज हिंसा र यातना विरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रुपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु।' 

प्रकाशित: ३० माघ २०८१ १४:१५ बुधबार

#Singer Rachana Rimal #Singer Eleena Chauhan #Singer samikxaya Adhakari