कला

गोलखाडी

लघुकथा

१) गोलखाडी

"हम् खाया बम्बै दिल्ली, हमको खाया घरका बिल्ली?"

श्रीमानको एक्लै भुतभुताई सुनेर कोठामा पस्दै सोधिन्, "हैन के भयो? कसलाई के भन्नुभएको?"

आजकाल सामाजिक सन्जालमा ठगहरूको अत्यधिक विगविगी छ। सचेत भइनौ भने तिमी पनि फस्लिउ है होस् गर!" जवाफ फर्कियो।

"हैन भयो चाहिं पहिला त्यो भन्नु नि!" श्रीमतीको कौतुहल बढ्यो।

श्रीमानले म्यासेन्जरको स्क्रिनसर्ट देखाउँदै भने, "हेर न मेरो साथि प्रमेशले मेरो मोबाइल बैंङ्किङमा समस्या आयो, ५० हजार क्यूआर गरिदिनु म भोलि नै फिर्ता गर्दिन्छु भनेर म्यासेज गरेको रहेछ!"

"विचरा उहाँ त तपाईको मिल्ने साथी हैन र भन्या? कहिलेकाहीं 'जहाँ गह्रो त्यहाँ साह्रो' पर्छ, पठाइदिए भैहाल्छ नि भोलि नै दिन्छु भनेकै छ क्या रे!"

श्रीमान् रन्किए, "मैले भनिहालें नि हो यसरी नै फस्छन् मान्छेहरू! कुरोसुरो बुझ्नु छैन, त्यसै प्वाक्क बोलेको छ!"

"खास कुरा के हो भनिहाल्नु नि त! मैले त तपाईकै नजिकको मित्र भएर पो भनेको त!" श्रीमती पनि तातिन्।

"मलाई शंका लागेर प्रमेशलाई फोन गरेर सोधें। उसले आफ्नो फेसबुक आइडी ह्याक भएको र अरू २/४ जना साथी ठगिइ सकेको कुरा सुनायो!"

श्रीमती आश्चर्यचकित परिन्, "ओहो!"

"यदि मैले जाँचबुझ नगरी साथीलाई समस्या परेछ भनेर पैसा पठाएको भए के हुन्थ्यो?" श्रीमानले श्रीमतीलाई सोधे।

श्रीमतीको जिस्किइन्, "गोलखाडी!"

२) समाजको सोच

अपरिचित एक अनुहार गाउँमा छिर्‍याे! गाउँवासी सशङ्कित भयो। अपरिचितले प्रश्न तेर्स्यायो, "सुवासको घर कुन हो?"

गाउँवासीले जिज्ञासा राखे, "को सुवास भन्नुभयो कुन्नि? हामी पनि यो गाउँमा धेरै पुराना होइनौं! दुईचार वर्ष मात्र भयो बसाइँ सरेर आएका!"

अपरिचितले उनको कौतुहल मेटाउन खोजे, "खै को भन्नु तपाईलाई, सुवास र हामी विदेशमा सँगै बस्छौं।"

गाउँवासीले फुर्ति लगाए, "त्यस्ता विदेश बस्ने त कत्ति छन् कति? घरैपिच्छे विदेशमा छन् यो गाउँमा! कसरी चिन्नु? उनको बाउआमाको नाम तपाईलाई थाहा छैन?"

अपरिचितले सम्झाए, "सुवासले मेरो नाम लिनु सबैले चिन्छन् भन्थ्यो, अहिले उसको बुबा धेरै विरामी हुनुहुन्छ रे! उसले उपचारका लागि अलिकति पैसा पठाएको थियो!

गाउँवासीले अड्कल काटे, "ए! त्यही अमेरिकामा ट्वाइलेट पुछ्ने सुवासेको घर पो सोध्नुभएको रहेछ! ऊ sss त्यही हो उसको घर!" उनले औंल्याए।

अपरिचितले खिन्न हुदै जवाफ फर्काए, "तपाईलाई धन्यवाद, तपाईले मेरो आँखा खोलिदिनुभयो। मलाई मेरो पहिचान पनि थाहा भयो अनि समाजको सोच पनि!"

३) विद्रोह

"उनीहरूले हिजो मेरो छोरो मारे! म कसरी सहेर बसूँ!" ध्वाँसेले विशेष सम्मेलनमा आफ्नो पीडा पोख्यो।

"हो हामीलाई पनि उनीहरूको वस्तीमा पस्यो भनेर नाङ्लो ठटाएर तर्साउन खोजे। पटका पड्काएर लखेटे!" गजराजले आफ्नो गुनासो पोख्यो।

लङ्गुरेले थप्यो, "आजभोलि उनीहरूको ज्यादती निकै बढेको छ। हामीलाई पनि उनीहरूको वस्तीमा पसेर मकै खायो भनेर काँडेतार लगाउँछन्। हामीलाई तर्साउन पाइपको यन्त्र बनाएका छन्। कानको जाली फुट्ने गरी पड्काउँछन्! त्यति मात्र हो र कतैकतै त हामीले दु:ख दियौं भनेर अलिअलि बचेको जङ्गलका रूख पनि काट्ने निर्णय गरेका छन्।"

"हामीलाई यसरी किन देखिनसहेका होलान् हँ, यिनीहरूले? हामीलाई देख्यो कि लखेटीलखेटी मार्ने! हाम्रो मासु खाने, कस्तो अत्याचार? घोर्ले बँदेलले दुखेसो पोख्यो।सम्मेलनमा उपस्थित सबैको आआफ्नै गुनासो थियो। कोही आफ्नो वास उठ्न लागेको गुनासो गर्दै थिए। कोही आफ्नो स्वतन्त्रता हनन भएको कुरा गर्दै थिए। कोही आफ्नो वंश विनाश होला भन्ने चिन्तामा थिए।

लङ्गुरेलाई गजराजले उत्तर दियो, "हामीले अत्याचार गर्यौ रे! हामी उनीहरूको वस्तीमा छिर्यौ रे!"

"ए! डोजर चलाएर, जङ्गल फाँडेर, प्लटिङ्ग गरेर उनीहरू हाम्रो सिमाभित्र छिरेका हुन् कि, हामी उनीहरूको वस्तीमा छिरेका?" लङ्गुरेले गहन विषय उठाए।

सबैको प्रत्याक्रमणको जोसिलो भाव बुझेर प्रमुख अतिथि सेरबहादुरले सबैलाई आग्रह गरे, "अब पनि हामी सबैले एकजुट भएर आआफ्नो ठाउँबाट सशक्त विद्रोह गरेनौं भने मानिसले हाम्रो अस्तित्व समाप्त पार्छन् अनि आफू पनि सकिन्छन्!"

कर्तलध्वनिको समर्थन सुनियो।

४) उच्च सम्मान

"भाइ साहाब हम आपके साथ एकफोटो ले सकते हैँ?" शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे।

"अरे भाई क्योँ नहीँ, आइए न लिजीए!" भारतको  राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागिता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ।

उनले मसंग टाँसिएर फोटो खिचे। उनका समूहका साथीहरूले पनि मसंग उत्साहका साथ फोटो खिचाए। ग्रुप फोटो पनि प्रशस्तै खिचे। उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए। म पनि फुरूङ्ग परेँ।

विहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे। पर्याप्त फोटो खिचे। महिलाहरूले पनि त्यसै गरे। मिलाई मिलाई फोटो खिचाए! देख्नेहरूलाई लाग्थ्यो होला म ठूलै सेलिब्रेटी हुँ!

भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो। म भने गर्वले दङ्ग थिएँ।

मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मलाई जिज्ञासा राख्नुभयो, "आज हाम्रा छिमेकी मित्रहरूले तपाईको निकै सम्मान गरे! खै हामीसँग त त्यस्तो गरेनन्!"

मैले उत्तर दिएँ, "उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे हुँ, न त मैले उनीहरूलाई चिनेको छु!"

"त्यसो भए त्यत्रो सम्मान के को लागि थियो त ?" साथीले सोधे। मैले प्रतिउत्तर दिएँ,"मेरो शिरमा सगरमाथा समानको ढाका टोपी सजिएको छ नि त!"

५) देखासिकी

"खैखै हामीलाई चस्मा देखाउनुस् त!" 

दुई जना महिला चस्मा पसलभित्र पसे।

पसलेले भने, "खै चस्माको पर्चा दिनुस् त, पावर कति रहेछ हेर्नुपर्‍याे!"

"हामीले त्यस्तो पावर भएको चस्मा खोजेको होइन, पावर विनाको चस्मा खोजेको! छैन कि क्या हो?" रूपाले भनिन्।

पसलेले हत्तारिँदै उत्तर फर्काए, "किन नहुनु नि! मेरो पसलमा जस्तो चाहियो त्यस्तै चस्मा छन्!" भन्दै उनले एउटा चस्मा निकालेर देखाए।

पार्वतीले चस्मा हातमा ओल्टाईपल्टाई गर्दै खिस्याइन्, "यो के चस्मा देखाउनुभएको। यस्तो चस्मा पनि लाउँछौँ त हामी?"

पसलेले सम्झाउँदै भने, "यो धेरै राम्रो चस्मा हो, घाम लागेको बेलामा कालो हुन्छ अनि घाम नलागेको बेलामा आफैँ सेतो हुने चेन्जेबल चस्मा हो, आँखालाई निकै राम्रो गर्छ।"

रूपाले कुरा प्रष्ट पारिन, "हामीलाई आँखामा लगाउने चस्मा चाहिएको होइन के!"

"आँखामा लाउने नभए कहाँ लगाउने चस्मा चाहियो त तपाईहरूलाई?" पसलेले आश्चर्य व्यक्त गरे।

पार्वतीले रहस्य खोलिन्, "हामीलाई चाडबाड, विहे, व्रतबन्ध र घुमघाम गर्दा टाउकोमाथि राख्ने कालो चस्मा चाहिएको हो क्या!"

( ‘सपनाकाे पहाड’ लघुकथासंग्रहमा सङगृहीत)

प्रकाशित: २३ माघ २०८१ १३:२९ बुधबार

# Nagarik ko 'Akshaar' # Laghukatha Soundarya # Laghukatha