कला

फिल्म ‘रंगी’ को शीर्ष गीत ‘रंगी’ सार्वजनिक

आउँदाे फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ।

भिडियोमा फिल्मका कलाकारहरु सलोन बस्नेत र मलिका महत फिचर्ड छन्। भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ। चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ। संगीत, शब्द र स्वरको सुन्दर मिश्रण रहेको गीतमा कोरियोग्राफी अब्बल छ। सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ। निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो। सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

प्रकाशित: २३ माघ २०८१ १०:२३ बुधबार

# Nagarik ko 'Akshaar' # Poem # OSR Digital # Programming mixing and mastering