कला

दिवंगत प्रस्तोता सम्झँदै ‘पलेंटी’ को पुनरागमन

दिवंगत स्रष्टा एवं कलाकारको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेंटी’ फेरि सुरु भएको छ। विगत २० वर्षदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीको साझा थलोका रूपमा चिनिँदै आएको यो कार्यक्रम कोरोना महामारीयता बन्द भएको थियो।

नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि आभासले संयोजन गर्दै आएका छन्। ‘पलेंटी’ ले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’ मा शुक्रबार र शनिबार दिएको थियो। यसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशमशेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापालगायत ११ जना स्रष्टाका सिर्जना एवं गायन समेटिएको थियो।

‘पलेंटी’ सँग आबद्ध ५६ जना प्रस्तोतामध्ये उल्लिखित स्रष्टा एवं कलाकारको निधन भइसकेको छ। उनीहरू सबैले आफ्नो गीतमा प्रकट गरेका कुनै साझा विम्बको खोजी गर्दा ‘फूल’ लाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाएपछि सबैमा फूल अर्पण गर्दै कार्यक्रमको खाका उभ्याइएको नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठले बताए।

कार्यक्रमलाई ‘गीति–निबन्ध’ नामकरण गरिएको थियो, जसमा प्रस्तोता आभासले दिवंगत स्रष्टाका रचना प्रस्तुत गरेका थिए। गीत भने महिला स्वरमा अभिज्ञा घिमिरे र पुरुष स्वरमा बेनुप क्षेत्रीले गाएका थिए। ‘पलेंटी’ ले नयाँ मञ्च पाएको छ। ‘आरशाला’ ले हलमा बस्न कुर्सीको व्यवस्था मिलाएको छ। यसरी कुर्सीमा बसेर कार्यक्रम अवलोकन गरे तापनि कार्यक्रमको नाम भने ‘पलेंटी’ नै यथावत् रहने छ ।

त्यस्तै, गितारमा कृपेश लोहनी, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुवेदी, तबलामा लक्ष्मीप्रसाद डंगोल र किबोर्डमा दिनेश रेग्मीको उपस्थिति थियो। रत्नशमशेर थापाको ‘फूलै फूलको मौसम तिमीलाई’ बाट सुरु भएको गायन राममान तृषितको ‘एक फूल झरेर के भो’ मा टुंगिएको थियो। यसपछिको प्रस्तुति भने दार्जिलिङका संगीतकार चन्दन लम्जेल र गायिका डेजी बराइलीको हुनेछ। यो दम्पतीकी गायिका छोरी विमोचना लम्जेलसहित सिंगो परिवारले एकसाथ आफूलाई प्रस्तुत गर्नेछन्। गीत भने दार्जिलिङको प्रतिभाशाली कवि नोर्देन रुम्बाका पछिल्लो समयका रचना हुनेछन्।

अर्को महिना मञ्चमा गीतकार कालीप्रसाद रिजाल उपस्थित हुनेछन्। रिजालका नयाँ गीतमा आभास स्वयंले सहकार्य गर्दै प्रस्तुति दिनेछन्। आगामी ‘पलेंटी’ कार्यक्रमहरूको टिकट बुकिङ पनि खुला भइसकेको छ।

प्रकाशित: २३ माघ २०८१ ०९:३५ बुधबार

# Nagarik # Late writer and artist