कला

स्वाद

लघुकथा

वर्षको एकपटक अमेरिका गएर उनी छ महिना त्यतै बस्दथे। उनका लागि नेपाल र अमेरिका बस्न फरक पर्दैन थियो। अझ भन्ने हो भने अमेरिका प्यारो लाग्न थालेको थियो।

काठ्माडौंमा घर ठूलो थियो तर आफू एक्लै थिए। एउटा काम गर्ने केटो सानैमा श्रीमतीले ल्याएकी थिइन्। स्कुल भर्ना गरेर पढाउदा पढाउँदा त्यो त माथि नै पुग्यो।एउटा फल्याटमा बस्न दिए। बिहेबारी गरिदिए। नेपालमा बस्दा त्यही नै उनका परिवार हुन्छन्। दुईटा सन्तान पनि जन्मिसके। बुढाबुढी दुवै बैंकमा जागिरे छन्। गाडी पनि किनिसकेका छन्। उनलाई असाध्य माया गर्छन्।

आफूले जन्माएका दुवै छोराछोरी अमेरिकामा अध्ययन गर्न गए। अध्ययन पूरा गरे।त्यतैका नागरिकसँग बिहेबारी गरे। छोरीपट्टि ज्वाइँ छोरापट्टि बुहारी दुवै असल छन्। उता भएको बेला खानपान सकेसम्म नेपाली स्वादकै बनाउन खोज्छन्। अलिअलि नेपाली पनि बोल्न कोसिस गर्छन्।

श्रीमती बितेपछि केही वर्ष उनलाई धेरै गाह्राे भयो। उनी एक्लाे महसुस गर्दथे। चार वर्षसम्म डिप्रेशनमा बसे तर पछि आफूले आफैंलाई बाँच्न सिकाए। त्यसपछि ओहरदोहर गर्न थाले। दुवैतिर गरेर चार नाति छन्।

जाडो दिन थियो। बाहिर सेताम्य हिउँ परेको थियो। त्यो बेला उनीछोरा कहाँ  बसेका थिए। श्रीमती हुँदा त्यस्तो जाडो दिनमा’  तात्तातो मोमो खाने भन्दै खुवाउँथिन्। उनले

त्यही सम्झिरहेका थिए। हिट खोलेर आगो पनि बालेर न्यानो बनाएको थियो।

बुहारी लियाले। डाडी आज म सर्प्राइज खाजा खुवाउँछु। बोलाएपछि मात्र डाइनिङ हलमा आउनु है’ भनेकी थिइन्। त्यसैले उनी सानो ब्ल्यान्केट घुँडामा राखेर टिभि हेरिरहेका थिए। नाति आर्जुनले दौड्दै आएर  हजुरबा! आज तपाईंलाई मनपर्ने खाजा ममीले बनाउँदै हुनुहुन्छ। खान आउनु रे। त्यो खाना मलाई पनि धेरै मीठो लाग्छ’ भन्यो। खाजा खान म उस्को हात समातेर डाइनिङ टेवल पुग्दा त टेवलमा तात्तातोवा बाफ उड्दै गरेको हेर्दै मुख रसाउने मेरी अमेरिकन बुहारीले बनाएकी स्वादिलो मोमोले भरिएको ठूलो कचौरा मलाई पर्खिरहेको थियो।

प्रकाशित: २० माघ २०८१ १३:०० आइतबार