कला

‘दि भ्वाइस’सँग क्याप्सुल

काठमाडौं– आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्रान्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ।

सो आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार सहकार्यको सम्झौता भएको हो। राजधानीमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए।

सम्झौता कार्यक्रममा ‘दि भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए । उनले देशभर ७० वटा डिलरमार्फत दर्शकले सोको टिसर्ट खरिद गर्न सक्ने बताए । ‘अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गायन रियालिटी सोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो ।

अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पुर्‍याउने अभियानमा छौं,’ उनले भने।सोका निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग सोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए । ‘हाम्रो सोसँगै क्याप्सुल ९ को प्रबद्र्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ,’ पौडेलले भने । नेदरल्यान्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दि भोइस अफ नेपाल’ ल्याएको हो।

नेपाल फ्रेञ्चाइजीको सो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सनुप पौडेल छन् । यो सो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फुटबल हुने भएपछि आयोजकले साउन महिनाबाट सोको प्रसारण सुरु गर्न लागेका हुन्।
 

प्रकाशित: ४ वैशाख २०७५ ०३:२८ मंगलबार

दि भ्वाइससँग क्याप्सुल