कला

रहर

कविता

जब कोशीका फाँट

विपुल पहाडी काँफ हुँदै

मिसिएर बगरसँग छुटेपछि

दक्षिण दिशा छाल मारेर

सुक्दछन् किनार बनी।

ठिक त्यो समयमा म

अथक मेरो रहर

र अलि धेरै बेवास्ता

अँगालोभरि बोकेर

सप्तकोसी छल्केर हिंडेका पानीको किनारमा

सुन भुत र दुध पोखरीको चोखो पानीलाई

भिक्षापात्रमा भरेर म

पर्खिरहेको हुनेछु।

मेरो रहर

धुलोमा लड्दा खुनी अनुहारका चोटको रगत

ढुङ्गाको लेउजस्तै घाउको माम्री

महाजालले छोपेर

सँगसँगै बगेर

मधेसका फाँटमा तोरी भएर फुल्नु मात्र हो।

रहरलाई रेटीरेटी फुटाएर

ब्रह्माण्डभरि

बादलुको दरबारमा

जबसम्म सुक्दैन कहिले यस् धरतीमा पानी

र सप्तकोसीमा बग्नुपर्छ मेरो रहर।

प्रकाशित: १२ माघ २०८१ १३:१६ शनिबार

# Poem # Story