कला

प्रज्ञाप्रतिष्ठानद्वारा नेपालभाषाका स्रष्टा सम्मानित

नेपाल प्रज्ञाप्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्तवाधनमा प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नेपालभाषाका स्रष्टाहरूलाई कदरपत्र समर्पण’ गरिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै नेपालभाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरू : तेजेश्वरबाबु ग्वङ्गः, नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य, नवीन चित्रकार, सत्यभामा माथेमा, प्राडा तुयुबहादुर महर्जन, मथुरा साय्मि, अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजु गरी १२ जनालाई नगदसहित कदरपत्रद्वारा सम्मान गरेका छन्।

यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषाप्रति अनुदार रहेको समयमा पनि नेपालभाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती, अभियान र आन्दोलन भएको बताए। उनले प्रज्ञाप्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न जरुरी रहेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले सदियौंदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञाप्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताए। उनले नेपालभाषामा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई मायाको चिनोस्वरूप कदरपत्रसम्म प्रदान गर्न सकिएको बताउँदै मातृभाषाको संरक्षणमा प्रतिबद्ध रहेको बताए।

कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले आफ्नो समापन मन्तव्यमा नेपालभाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञाप्रतिष्ठानको तर्फबाट कदरपत्रले भने पनि सम्मान गरेर हौसला प्रकट गरेको बताए। उनले यस्ता कार्यक्रमहरू सबै मातृभाषाका स्रष्टासम्म पुर्‍याउने बताए।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार कार्यक्रमको सुरुमा वरिष्ठ कवि त्रिरत्न शाक्यको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन कवयित्री प्रतिसरा साय्मिले गरेका थिए।

प्रकाशित: १२ माघ २०८१ ०९:४८ शनिबार

# Nagarik # Poem