कला

निर्देशक गौचन फिल्म ‘मिसिङः केटी हराएको सूचना’ लिएर आउँदै

निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो फिल्म ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदै छन्। ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमव्याक मान्छन्। दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन्।

दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक छ। ‘म कम्बोडियामा पढाउँछु। विद्यार्थीहरूले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो। मैले एउटा दुई पात्रको कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ। उनीहरूले दुई हप्ताको समयमा कथा त लेखे तर सबै मैले अस्वीकृत गरिदिएँ। किनकि त्योभन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ। तर विद्यार्थीले अन्य कथा जन्माएनन्। उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुस्’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन्।

विद्यार्थीको चुनौतीलाई स्वीकारेका दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट फिल्म बनाए। त्यो फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो।

कम्बोडिया बसाइँको २२ वर्षपछि नेपाल फर्किदा दीपेन्द्रले त्यही कथा बोकेर आए। ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन् सुहाउँदो र अझ प्रगाढ हुने पाएँ। मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखें’, उनी भन्छन्।

दीपेन्द्रका अनुसार उनलाई स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो। उनले अङ्ग्रेजीमा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे।

दीपेन्द्र स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको दाबी गर्छन्। ‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो। त्यो पात्र हामीले नाजिरमा पायौं। पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन्। किनकि उसलाई भेट्नेबित्तिकै म प्रभावित भएँ। गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, दीपेन्द्र खुल्छन्।

फिल्मको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचान उठान गरिएको देखाइएको छ। ‘मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ। मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो। मधेसको जोकोही पात्रलाई ‘नेपालीपन’को भावना अवश्य नै हुन्छ। जतिसुकै हाँसखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, दीपेन्द्रको बुझाइ छ।

दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ लाई महिला केन्द्रित फिल्म मान्छन्। ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन। राम नाजिर कि सीता सृष्टि। दुवैको भूमिका बराबरी छ। त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो। महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नु हुँदैन। मचाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु। मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ ’, उनी भन्छन्।दीपेन्द्र ‘उजेली’सँगै ‘मुमिन’का लागि परिचित छन्।

प्रकाशित: १० माघ २०८१ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App