कला

दस्तुर

लघुकथा

‘सर नमस्कार!’ घनश्यामले हाकिमको दैलोमा पुगेर भन्यो।

‘ख्यारर।’ हाकिमले नमस्तेको उत्तर दिएन एउटा बेल बजायो। एकजनाले उठेर दैलो बन्द गर्यो।

‘हजुर एकछिन भित्र मान्छे छन्।  उनीहरू आएपछि हजुर जानुहोला है।’ त्यो व्यक्तिले घनश्यामलाई भन्यो।

‘जानुस्’ एकछिनपछि उसले हाकिमको कोठातिर इसारा गर्दै भन्यो।

‘सर नमस्कार!’

‘भन्नुस्’, हाकिमले काम सोध्यो।

‘सर, हामीले घर भत्काएर अन्तै सार्दै छौं। त्यसको लागि के गर्नुपर्छ?’ घनश्यामले भन्यो।

‘यही सोध्नु थियो? एउटा निवेदन लेखेर दिनुस्।’ हाकिमले भन्यो। ऊ बाहिर गयो र एउटा निवेदनमा विवरण लेखेर ल्यायो।

‘सर!’

‘अलि व्यहोरा मिलाएर लेख्नुपर्छ। बाहिर कसै अरूसँग लेखाउनुस्।’ हाकिमले निवेदन फर्काउँदै भन्यो। घनश्याम बाहिर आएर पचास रूपैयाँ दिएर अरूलाई लेखाए।

‘लिनुस् सर।’

हाकिमले निवेदन खुब हेरे आेल्टाइपल्टाई अनि कसैको नाममा फार्वड गरेर दिए।

‘सर नमस्कार!’ घनश्याम अर्को कोठामा पुगेर दुवै हात जोडे।

नास्ता खाने समय भयो। एकछिनपछि आउनुस्।’ ऊ उठ्यो र बाहिर निस्किंदै भन्यो। घनश्याम घडीतिर हेर्दै बसे। आधा घन्टापछि आयो।

‘त्यहाँ मौका हेर्नुपर्छ।’ ऊ अन्कनायो।

‘सर म टाढाबाट आएको रात पर्छ सर मलाई।’ घनश्यामले भन्यो।

‘हजुरकाे भन्दा पहिलेका छन् दर्खास्त। चिया पनि दिन्छु भन्दा पनि सकेको छैन्।’ उसले प्याच मुख खोल्यो।

‘सर लिनुस्।’ हजुर बुढा मानिस भएर दया जाग्यो मलाई।’ उसले रूपियाँसँगै कागज छोप्यो।

‘यो पैसा जम्मा गराइदिनुस् र हाकिम साहेब कहाँ जानुस्।’ उसले दर्खास्तलाई अगाडि बढायो। केसियर चिया पिउन जानुभाको छ। ऊ खिड्कीमा उभियो ३ बजे केसियर आयो।

‘दिनुस्।’ उसले मुख बिगार्दै दर्खास्त छोप्यो। पैसा लग्यो।

‘हाकिम साहिव मिटिङमा जानुभयो।’ त्यहाँ आउँदा हाकिम थिएनन्।

‘हाकिम साहिब कतिबेला आउनुहुन्छ?’ घनश्यामले सोध्यो।

‘हाकिम साहिबको थाहा छैन, नआउन पनि सक्नुहुन्छ।’ उसले घडी हेर्दै भन्यो।

‘हजुरले आजै सही गराउने हो?’ मलाई दस्तुर दिए म मिटिङमै गएर गराउने प्रयास गर्छु तर खर्च अलि बढी लाग्छ।’ उसले भन्यो।

- सुरेशकुमार पाण्डे

प्रकाशित: ८ माघ २०८१ ११:०८ मंगलबार

# Laghukatha # Poem # Story # Nagarik