कला

शून्यक

लघुकथा

१) अभिलाष

प्रश्नकर्ताहरूको प्रश्नको भकारी रित्तियो। प्रत्येक क्षेत्रको ओजिलो प्रश्नहरूको सटिक उत्तरमा र उसको कार्यप्रति उपस्थित सबै नतमस्तक थिए। यो सफलताले आविष्कर्ताको भुईमा खुट्टा थिएन।

‘हैन यसको दिमाग त आईन्सटाइनको भन्दा खतरा रहेछ।’ विज्ञानमा रूचिकर एक व्यक्ति बोले।

‘हैन यो त अष्टाबक्रभन्दा नि चौपट्ट रहेछ।’ एक सन्त प्रकृतिका व्यक्ति बोले।

‘किन नहुनु नि यो त कृत्रिम बौद्धिकता बोकेको अत्याधुनिक कृतिम मानव हो।’ आविष्कर्ता दङ्दास हुँदै भने।

भीडमा उत्सुक नजरले हेरिरहेको एक बालक अगाडि सरेर आविष्कर्तालाई प्रश्न गरे, ‘अङ्कल यसले सबै प्रश्नको उत्तर दिन्छ?‘

“अवश्य। देखेनौ यसले कति सजिलै दिएको उत्तर।’ मुस्कुराउँदै आविष्कर्ताले भने।

बालकले उत्साहमा कृत्रिम मानवतिर फर्कदै प्रश्न गरे,  ‘भगवानको घरमा जानुभएको मेरी आमा कहिले फर्कनुहुन्छ?’

२) अदृष्य भाइरस

‘हाम्रो पनि केही दाल गलेन।’

मानव जातिको विनासको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ ले हरेस खाँदै भन्यो।

‘हो, हामी जति सशक्त भए पनि हाम्रोविरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो।’ सार्सले थप्यो।

‘मलाई त झन् उठ्नै नसक्ने गरी लडाए।’ औलोले निरासा व्यक्त गर्‍याे।

‘अब के गर्ने? के हाम्रो योजना असफल नै हुने हो त?’ स्क्रब टाईफसले शंका गर्‍याे।

‘किन हरेस खाएको? हेर, म अझ पनि डटिरहेको छु’ डेङ्गुले केही हौसला बढाउन खोज्यो।

‘यो पटक म प्रयास गर्छु।’ अकस्मात् आएको आवाजले उनीहरू सबै आवाज आएतिर फर्के।

 ‘को हौ तिमी? सामुन्ने किन आउँदैनौ?’ सबैले एकै स्वरमा प्रश्न गरे।

‘म अदृष्य छु, तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ।’ उसको आवाजमा दृढता थियो।

केही समयको सरसल्लाह पछि अदृष्य भाइरसलाई जिम्मेवारी सुम्पियो।

नभन्दै अदृष्य भाइरसले आफ्नो जिम्मेवारी वहन गर्‍याे। उसलाई बधाई दिन पुनः एकपटक बैठक बस्यो।

‘हैन, तिमीले मानवजातिलाई थला बस्ने गरी नै प्रहार गर्यौ त। के गर्‍याै हँ त्यस्तो?’ सबैको प्रश्न थियो।

‘तपाईहरूले भौतिक आक्रमण गर्नुभयो मैले मानसिक।’ हाँस्दै अदृष्य भाइरसले जवाफ दियो।

उता मानवजाति अवरूद्ध इन्टरनेटले छटपटिरहेका थिए।

३) अपूर्व झोली

‘लौ ब्रह्मा, सृष्टिकर्ता तिमी नै हौ। यो समस्याको निवारण पनि तिमी आफै गर।’ दुवै शिव र विष्णुले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक अन्नपात, असर्फी बोकेर ब्रह्मा मर्त्यलोक झरेका थिए।

गरिबी निवारणका लागि स्वयम् मर्त्यलोकमा झरेको थाहा भएपछि भिक्षाटनहरूको ताँती नै लाग्यो।

ब्रह्माले आफ्नै हातले दानदक्षिणा दिन सुरु गरे। उनलाई पहिलो भिक्षुलाई दान दिन नै निकै सकस पर्‍याे। थकित हुँदै सोधे,“तिमी नेता हो?’

‘हो प्रभु, कसरी थाहा भयो हजुरलाई?’ भिक्षुले अचम्म मान्दै सोधे, “यो तिम्रो झोलीमा जति हाले पनि भरिँदै भरिदैन।’

४) कुचोद्य

तीने, सत्रे, चौंसठ्ठेको अचानक जम्का भेट भयो। एकै आमाका तीन सन्तानको भेट धेरै समयपछि भएको थियो।

‘बल्ल स्वतन्त्रको सास फेरियो।’ कान्छो भाइ चौंसठ्ठेले दाइहरूतिर कर्के नजर लगाउँदै कुटिल मुस्कानमा भन्यो।

‘ए हो, तेरो टाउकोमा रहेको सत्र हजारको भार हामीलाई थाहा छैन र। कम्तीमा मैले त्यत्रो विताण्डव त मच्चाएको थिइन नि। उत्तरी र दक्षिणी छिमेकीलाई सन्तुलित राखेर कसरी घर व्यवहार चलाएँ मलाई थाहा छ।’ माइलो सत्रेले व्यङ्ग्य कस्यो।

‘तिमीहरूले जे सुकै भन। मैले जे गरे ठिक गरेँ। दिनरातको किचलो र रक्तपातभन्दा एकछत्र राज उपयुक्त थियो। मैले त्यस समय मैले घरबार नमिलाएको भए तिमीहरूले ढलीमली गर्न कहाँ पाउँथ्यौ?’ जेठो तीनेले आफ्नो तर्क पेस गर्‍याे।

‘ल भोभो धेरै खोक्नु पर्दैन। तिम्रा निसङ्कुशताको गाथाले अझसम्म पिरोलेको छ।’ चौंसठ्ठेको चर्को स्वर आयो।

‘तैले जस्तो आफ्नो सन्तानलाई सात समुद्रपार लखटेको त थिइन नि। ‘हजुर खान पाइन’ भन्दा एकछाक त पुग्नेगरी दिएकै थिएँ। अहिले खान पाइन भन्दा लात हान्छस्।’ तीनेले चौसठ्ठेलाई काँचै खाउँलाझैं गर्यो।

तीनै भाइको को सक्षम? को कुशल व्यवस्थापक? भन्ने विषयमा चर्काचर्की पर्यो। उनीहरूको गलबदीमा डुबे। तल्लाघरे कान्छा काका हस्याङफस्याङ गर्दै आएर हकार्दै भने,  ’नालायकहरू, तिमीहरू गलफती गरेर बस। उता तिमीहरूकी आमालाई फेरि बेथाले च्यापेको छ।’

५) शून्यक

विश्वव्यापी रूपमा सत्यताको परिक्षा सञ्चालन थियो। गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो। सम्पूर्ण विश्वका राजनेता परिक्षामा सहभागी थिए। प्रश्न एउटै थियो, ‘तपाईले आफ्नो देश र जनताको लागि के गर्नुभयो?’

सबै राष्ट्रका परीक्षार्थीलाई उत्तर सहज थियो र आआफ्नो पुस्तिकामा आआफूले गरेका प्रगति विवरण लेख्न कलम दौडाए।

प्रश्न पढेर नेपाली प्रतिनिधिको खलखल पसिना छुट्यो र आफैभित्र प्रश्र गर्न थाले, ‘साँच्चै मैले के गरेँ?’

केहीबेरको सोचमग्न पछि उनी मुसुक्क हाँसे र उत्तर पुस्तिकामा उत्तर लेखे, ‘सपनाहरू बनाएँ अनि जनतालाई तिनै सपनाहरूको मलामी बनाएँ।’

( कथाकार  मनीषकुमार शर्मा ‘समित’ काे अर्धशताब्दी लघुकथासंग्रहमा सगृहीत।)

प्रकाशित: ७ माघ २०८१ १२:१७ सोमबार

# Laghukatha # Nagarik