कला

मृत्युपछिको जीवन

निबन्ध

दाहसंस्कार नगर्ने बेलासम्म त हजुरबुबाको शरीर उस्तै थियो, जस्तो शरीरले प्राण पाउँदा हुन्छ। दाहसंस्कार गरेर फर्कंदै गर्दा हामीसँग उहाँको शरीर थिएन। रात छिप्पिइरहँदा एकलास नदीमा उहाँको शरीरलाई खरानी बनाएर हामी फक्र्यौं। त्यतिबेला म सानो थिएँ। मनको जिज्ञासा बुबासमक्ष राखेँ– बुबा, मान्छे मरेपछि कहाँ जान्छ ? बुबा अलमलमा पर्नुभयो, दाहसंस्कार सकेर कोरामा बसेका बेला छोराले सोधेको यो अमूर्त प्रश्नको उत्तर के दिने भनेर होला। वास्तवमा मरेपछि मान्छे कहाँ जान्छ भनेर उहाँलाई नै थाहा थिएन। बुबाले भन्नुभयो– ‘हाम्रा पितापुर्खा पनि यसैगरी यही पृथ्वीमा हुनुहुन्थ्यो कुनै बेला। अहिले जसरी बुबाको मरण भयो, त्यसैगरी उहाँहरू सबैको मरण भएर उ माथि जानुभयो बाबु। हामी पनि मरेपछि जाने घर उ माथि आकाशमा छ। त्यही घरमा मृतक सबै बाउबाजेसँग मिलन हुन्छ।’

मैले के बुझ्थेँ र यस्ता कुरा। बुबाको कुरा सुनेपछि मेरो मन अलि ढुक्क जस्तो भयो। मलाई लाग्यो– त्यसो भए हामीले मृत्युलाई अथाह डरका रूपमा लिनु पर्दैन। आखिर मरेपछि पनि जाने भनेको उ माथिको घरमै त हो। यो घर छोडेर त्यो घर जाने न हो।

यो त धेरै वर्ष पहिलाको कुरा रह्यो। आज बुबासँग भएको त्यो वार्तालाप सम्झँदा लाग्दैछ, बालबच्चाको जीवनबाट डरलाई पन्छाइदिनुपर्छ। मृत्युको भय मेटाइदिनुपर्छ। मृत्युभय भएन भने नै जीवनभय पनि नरहने हो। जोसँग मृत्युभय हुन्छ, ऊसँग जीवनभय सधैं रहिरहन्छ। मृत्युदेखि डराउने मान्छे जीवनभर त्रासमा बिताउँछ। त्यसैले मृत्युलाई असहज होइन, सहज सोच्नुपर्छ। वास्तवमा मान्छे मरेपछि कहाँ जान्छ, त्यो न बुबालाई थाहा थियो, न सानो म बबुरोलाई।

बाल जिज्ञासा न हो, मैले फेरि सोधेँ– तर मरेपछि नर्कमा पनि जान्छ अरे नि मान्छे ? नर्क त साह्रै नराम्रो हुन्छ अरे, हो र बुबा ?

अब बुबा फसादमा पर्नुभयो। छोरालाई के भनेर भ्रम छर्ने ? वास्तवमा आफैंलाई थाहा नभएको कुराको जवाफ कसरी दिने ? फेरि एउटा बालमनको सवालको समन सकारात्मक निष्कर्ष र ऊर्जा मिल्नेगरी नै दिनुपर्ने थियो उहाँले। त्यतिबेला बालमस्तिष्कमा मृत्युप्रतिको नकारात्मक चिन्तन घुसाउनु हुँदैन भन्नेमा उहाँ सचेत हुनुहुन्थ्यो जस्तो लाग्छ। त्यतिबेला मेरो मानसपटलमा जे भरियो, लामो समयसम्म त्यही छाप रहिरहने निश्चित थियो। सानो बबुरो भए पनि प्रश्न सानो थिएन, गम्भीर थियो।

बुबाले भन्नुभयो– मरेपछि जाने भनेको त्यही ठाउँ हो बाबु, जुन अघि मैले बताएँ। नर्क त हामीले गर्ने कामका आधारमा यहीं भोग्ने हो। यहीं हेरौं न, मानिस कति दुःखी छन्। कोही रोगले, कोही शोकले, कोही भोकले तड्पिरहेका छन्। यही जीवनमा पाएका दुःख नै नर्क हुन् बाबु। हाम्रो मनमा रिस, डाह, ईष्र्या, अशान्ति जस्ता कुराले हामीलाई नमर्दै नर्कमा पुर्‍याउँछन्। त्यसैले हामीले यस्ता नराम्रा कुरा मनमा कहिल्यै राख्नु हुन्न।

जन्म, मृत्यु, स्वर्ग, नर्क मान्छेले धेरैभन्दा धेरै सोच्ने र दार्शनिकले पनि सबैभन्दा बढी चिन्तन गरेका विषय हुन्। जन्मपश्चात् ढिलोचाँडो मृत्यु सबैको हुन्छ। यो ध्रुव सत्य हो। हाम्रो जिज्ञासा भने जीव अर्थात् मान्छे कहाँबाट आयो अनि मृत्युपश्चात् कहाँ जान्छ भन्ने हो। मर्ने पालो हाम्रो पनि आउँछ भन्ने सत्य मनन गर्दा हामी सबै भावुक बन्छौं। मृत्यु कहिल्यै नआइदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ अनि हामी जीवनभर मृत्युभन्दा पर पर भाग्न थाल्छौं। आखिर भागेर जाने ठाउँ नै कहाँ छ र ? यथार्थमा हामी जति भाग्छौं, उति उही मृत्युको नजिक नै पुगिरहेका हुन्छौं।

मैले कथामा सुनेको थिएँ, मरेपछि जाने ठाउँ दुईवटा छन्– स्वर्ग र नर्क। जीवनकालमा धर्म ग¥यौं भने स्वर्ग गइन्छ, पाप गर्‍यौं भने नर्क गइन्छ। जीवनमा सत्कर्म गर्‍यौं, कसैको कुभलो गरेनौं, सत्सङ र भगवान्को सेवा गर्‍यौं भने हामी स्वर्ग जान्छौं। मैले सुनेबुझेको कुरा यही हो।

 स्वर्गमा भगवान्हरू बस्छन्। त्यो भूमि बगैंचाजस्तै सुन्दर हुन्छ। मृत्युपछिको बसाइ त्यहाँ परमानन्दपूर्ण हुन्छ। त्यहाँ बाह्रै महिना फूल फुलिरहन्छन्, सधैं मिठा मिठा फल फलिरहन्छन्। पहाडबाट स्वच्छ झरना झरिरहेका हुन्छन्। ठाउँ ठाउँमा सफा पोखरीहरू हुन्छन्। पोखरीमा हाँस, चराचुरुङ्गी क्रिडा गरिरहेका देखिन्छन्। त्यहाँ सुगन्धित हावा हरर आइरहेको हुन्छ। निर्मल पानी बगिरहेको हुन्छ। नाचेर, गीत गाएर रमाइलो गर्ने गन्धर्व–किन्नर र अप्सराहरू हुन्छन्। बिरामी हुँदा औषधि गर्ने वैद्य र आयुर्वेदिक औषधि भनेजति पाइन्छ। त्यहाँ जीवन शान्त, सुखी र संस्कारी हुन्छ।

सबैको मनमा सकारात्मक तरङ्ग, ओठमा हाँसो र वचनमा माधुर्य हुन्छ। रिस, राग, जाल, झेल, भ्रमबाट मुक्त हुन्छन् सबै। त्यहाँ प्रवेश गरेपछि जन्म र मृत्युको खेल समाप्त हुन्छ। मरेर स्वर्ग पुगिसकेपछि अब त्यहाँ न मरिन्छ भन्ने डर हुन्छ, न रोग, व्यथा, कष्ट, पीडाकै चिन्ता। जीवनविहीन आनन्द पाइन्छ स्वर्गमा। स्वर्गको यस्तो परिकल्पना गर्दा मनमा आनन्द छाउँछ। यस्तो तरङ्गले मनलाई घेर्दा मुत्युदेखि पनि कत्ति डर लाग्दैन। मृत्युलाई पनि प्रेम गर्न मन लाग्छ।

एकैछिनपछि फेरि नर्कको कुरा मनमा आउँछ। मैले सुनेबुझेको कुरा हो– जीवनमा असत् कर्म ग¥यौं, रिस, राग, क्रोध, मोहमा डुब्यौं, अरूको हत्या, हिंसामा प्रवृत्त भयौं भने हामी नर्कतर्फ लाग्छौं। नर्क रोग, भोक, शोक, अभाव, पीडाले जकडिएको हुन्छ। त्यहाँ राक्षसहरू बस्छन्। त्यहाँ बस्नै नसकिने गर्मी हुन्छ। सास फेर्न पुग्ने हावा पनि हुँदैन। राम्रोसँग सास फेर्न नपाएर, वर्षौंदेखि तिर्खा मेट्ने गरी पानी पिउन नपाएर, खान नपाएर, सुत्न नपाएर तड्पिराखेका हुन्छन् प्राणी। त्यहाँ सबैलाई मर्ने इच्छा हुन्छ तर कोही पाउँदैनन् मर्न। नर्कमा राक्षसले खाने मुख्य भोजन नै मान्छे हो। राक्षसले मान्छेलाई कठोर सजाय दिएर खान्छन्।

 कुकुर र गिद्धहरूले शरीरको मासु लुछ्न लगाइएको हुन्छ। मान्छेलाई उम्लिरहेको तेलभित्र जिउँदै हालेर पकाउँछन्। बिच्छी, सर्पलाई टोकाएर तड्पिएको मान्छे हेर्दै राक्षसहरूले मनोरञ्जन लिन्छन्। कसैलाई ढाडै भाँचिने गरी भारी बोक्न लगाइएको हुन्छ, कसैलाई सासै फेर्न नपाउनेगरी खेत खन्न लगाइएको छ। कसैलाई सियोको टुप्पोमाथि सुत्न बाध्य गरिएको छ, कसैलाई आत्थुआत्थु पोल्नेगरी आगोमा हिँडाइराखिएको छ। कसैको आँखा छैन, कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको अुनहार नै छैन। नर्कको भूमिमा कुनै अन्न उत्पादन हुँदैन। फोहोर किरा खाएर पालिनुपर्छ। त्यहाँ त तरबारजस्ता  ढुङ्गा, सियोजस्तो घाँस, विषादीयुक्त अन्धकूप हुन्छन्। त्यहाँ शरीर गलित हुन्छ तर कहिल्यै निदाउन पाइँदैन। शान्ति हरण गरेर तड्पीतड्पी बाँच्ने थलो हो नर्क। जिउँदै तेलमा पकाउँदा पनि मान्छेलाई मर्ने छुट छैन। त्यस्तो कठोर ठाउँ हो नर्क।

स्वर्ग र नर्कबारे हाम्रो मनमा जीवित चिन्तन हो यो। मरेपछि मान्छे कहाँ जान्छ, हामीले कहिल्यै देखेका छैनौं। हामीलाई यत्ति थाहा छ, मृत्यु कसैको पनि रोजाइ हुँदैन। जतिसुकै दुःख, पीडा, पिर, चिन्ता, रोग, भोक, शोक भए पनि मान्छे बाँच्न नै चाहन्छ। मरेपछि तँ परमानन्दमय स्वर्गमा जान्छन् भन्ने विश्वास कसैले दिलाए पनि मान्छे यहींको दुःखपूर्ण जीवन नै रोज्छ। फेरि जति जीवन रोजे पनि मान्छेले सधैं जीवन पाउँदैन। मान्छे शून्यबाट आएको थियो, मरेपछि उही शून्यमा फर्कन्छ। मृत्युपश्चात् जलायो भने खरानी हुन्छ, गाड्यो भने कुहिएर माटो बन्छ।

वास्तविक संसार त जन्मअघि र मृत्युपछिकै हो जस्तो पनि लाग्छ। किनभने अनन्त अन्धकार छिचोलेर चौतारीजस्तो जीवनमा एकैछिन बसेर हामी नयाँ संसार अवलोकन गर्छौं अनि लाग्छौं उही वास्तविक अनन्त शून्यतर्फ। कहिलेकाहीं त दिक्क पनि लाग्छ, आखिर त्यही अनन्त लोकमा जानु नै छ भने मनलाई बिच्काउन यो दुईचार दिनको रङ्गरमाइलोमा किन आउनुपरेको होला। त्यो अनन्त संसारबाट यो क्षणिक रमझमयुक्त बनावटी लोकमा आउन कति सहज वा असहज भयो, त्यो हामीलाई थाहा छैन तर यो लोकमा विचरण गरिसकेपछि परलोकमा जान भने मनले मान्दै नमान्ने। यो लोकभन्दा परलोक झनै आनन्दमय छ कि, के थाहा ? तैपनि कुनै जीवले पनि जीवन त्याग गर्न मान्दैनन्। यो लोकले जीवात्मालाई मोहनी नै लगाउँछ क्यारे।

मान्छेको कुरा मात्र होइन, हरेक प्राणीलाई हेरौं त, सबैको मुख्य भय भनेकै मृत्यु देखिन्छ। आफ्नै तालमा हिँडिरहेको सानो कमिलोलाई बिस्तारै हातले छोऔं त, बेसरी भाग्न थाल्छ। जंगलमा चरिरहेका मृग, खरायोले ढुक्कले तृण चर्दैनन्। कान ठाडा पार्दै यताउता हेरिरहेका हुन्छन्। सानो कृत्रिम आवाज कहींबाट आयो भने बुर्कुसी मारेर कुद्न थाल्छन्।

नदी तरिरहेका अर्ना, रुखमा बसिरहेका बकुल्ला, पहाडमा सिउरिएका भेडा, बिचसमुद्रमा चरिरहेका माछा, रुखमा झुन्डिइरहेका मौरी, पाटनमा सुस्ताइरहेका चौंरी, जंगलमा एक्लै हिँडिरहेको जोगी, अस्पतालमा डाक्टर कुरिरहेको रोगी। फरक ठाउँ, फरक जीव अनि फरक सन्दर्भ तर सबैको मनको अन्तर्यमा राज गरिरहेको प्रमुख त्रास हो मृत्यु। मरेपछि नर्क जानुपर्छ भनेर सबै डराएका हुन् कि ? स्वर्ग जाने निश्चित भए त कोही पनि नडराउनुपर्ने, सबै स्वर्ग जान हतारिनुपर्ने !

अध्यात्मनिरपेक्ष भएर सोच्दा लाग्छ, स्वर्ग, नर्कजस्ता अमूर्त कुरालाई मान्छेको मनमा स्थापित गराएर विचारका शासकहरूले चिन्तनगत राजनीति गर्न खोजेका त होइनन् ? मरेपछि के हुन्छ, कुनै मान्छेलाई थाहा छैन। सबैको सरोकारको यस्तो विषयमा खेलेर वैचारिक शासन गर्न पनि सजिलो हुने। स्वर्गरूपी आश र नर्करूपी त्रासको भुमरीमा मान्छेलाई पारिरहने आध्यात्मिक अस्त्र मान्छेले नै सिर्जना गरेको पो हो कि ?

वास्तवमा स्वर्ग र नर्कको अनुभूति गर्न हामीले मृत्युलाई कुरिरहनु नै पर्दैन। मृत्युपछि पुगिने स्वर्ग–नर्कको कुरा भावना र विश्वासमा मात्र अडेको हुन्छ। हामी कोही मृत्युपछिका स्वर्ग–नर्कका साक्षी होइनौं। हामी आफ्नै घर, देश वा पृथ्वीलाई स्वर्ग बनाउनतर्फ लाग्नुपर्छ। हामीले परिकल्पना गरेको सुमधुर, सुरम्य, सुगन्धित स्वर्ग यहीं भेट्न सक्छौं।

स्वर्गलाई भूत वा भविष्यको गर्तमा लुकाउनुहुँदैन, वर्तमानमै स्वर्गको अनुभूत गर्नेगरी कर्म गर्नुपर्छ। यसैगरी मृत्युपछि मात्र नर्क गइने पनि होइन। जीवित अवस्थामै नर्क पुग्न सक्छौं। त्यो पनि भविष्यमा होइन, वर्तमानमै भोग्नुपर्ने हुनसक्छ नर्क। सकारात्कम, सचेत, सतर्क, संयमित, विनयी, विनम्र, ज्ञानी, विवेकी बनेर सत्कर्म गरौं त, मनमा ग्लानि, पश्चाताप हुँदैन, शान्ति अनि आनन्द प्राप्त हुन्छ। त्यही मनको आनन्दले यही लोकमा स्वर्गको ढोका खुल्छ। नर्क पनि हाम्रो कर्मले नै निर्धारण गर्र्ने हो। हामीले मनभित्र कुदृष्टि, कुकर्म, हिंसा, हत्या, लोभ, घृणा पालौं त, नर्कमा पुग्न मृत्युलाई कुर्नैपर्दैन। यही जीवन नर्कसमान हुन्छ।

सम्झना आउँछ, हाम्रा नेताले चुनाव जित्नका लागि नेपाललाई स्विजरल्यान्ड बनाउँछौं, स्वर्ग बनाउँछौं भनेको। हामीले बनाइदिएका नेतामा देशलाई स्वर्ग बनाउने न चिन्तन छ, न संस्कार नै छ। प्राकृतिक स्वरूपमा स्विजरल्यान्ड जत्तिको देश त अहिले नै छ नेपाल। यति राम्रो भूमि छ, प्रकृतिले देशको शीरमा हात राखिदिएको छ। यहाँ खाँचो रिस, राग, द्वेष, ईष्र्यामुक्त सकारात्मक अनि व्यापक संस्कारको हो।

स्वर्गीय शान्ति, आनन्द र सुख पाउन न हामीले मृत्युवरण गर्नुपर्छ, न स्विजरल्यान्ड वा अन्य देशमा जानुपर्छ। हामीभित्रै छ स्वर्ग। हामीले अरूलाई देवता मानेर पुज्न छोडौं, आफै देवता बन्ने मार्गमा हिँडौं। मृत्युपछिको स्वर्ग होइन, जीवनकालमै आफ्नै घरलाई स्वर्ग बनाऔं। सबैले आआफ्नो घरलाई स्वर्ग बनाऔं त, समाज अनि देश स्वर्ग नबनी सुखै छैन।  

प्रकाशित: ५ माघ २०८१ ०५:४३ शनिबार

# Nagarik # Nagarik ko 'Akshaar'