कला

फिल्म ‘नाक्छोङ’को छायांकन सुरु

ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरिएयो । मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरू सम्झँदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११का वडाध्यक्ष बिक्रम वान्तवालगायत स्थानीय कलाकर्मी थुप्रैको उपस्थिति थियो ।

कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष बिक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए ।

मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरूको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यस क्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता विषयवस्तुमा जोड दिनुपर्ने बताए । फिल्म ‘गाउँ आएको बाटो’मा आफुले राईको कथा केही देखाउन खोजीपने त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो ।

निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरूको सम्मान र सम्झनासहित सुरु भएकोले इतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । उनले ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीको अलवा अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राखे बताए ।

‘नाक्छोङ’का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवश्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलवा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए । उनले भने, ‘अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु ।’

प्रकाशित: ४ माघ २०८१ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App