छोरी ठुली भैसकी बिहे गर्नेकुरै गर्दिन। कुनै केटालाई पनि "मेरो केटा साथी हो" भनेर ल्याउँदिनँ, बिहे नै नगरीकन बस्छे कि भन्ने पो चिन्ता लाग्न लाग्यो।
पन्ध्र वर्ष अगाडि डिभी परेर अमेरिका बसाई सरेका सुवेदी परिवारका बुढाबुढी प्राय: आफ्नी एक्ली छोरीबारे यस्तै कुरा गर्छन्। अमेरिकामा हुर्केकी छोरी पूरा अमेरिकन नै बनेकी छ। बेलामौकामा साथीहरूलाई मोमो पार्टी गर घरमा पनि बोलाउँछे। तर कुनैलाई पनि "यो मेरो ब्याए फ्रेण्ड हो " भनेर चिनाउन्न।
त्यसमा बुबाआमा चिन्तित थिए। अमेरिकामा यस्तो विषयमा चिन्तित हुन सुहाउँदैन भन्ने पनि उनीहरूलाई थाहा छ तर उनीहरूको नेपाली रगतले त्यो कुरा स्वीकार्दैन। अमेरिकी नियम अनुसार उ अठ्ठार बर्षको भएपछि घर छोडेर एपार्मेण्टमा एक्लै बस्न गै। त्यसमा पनि कानुन त आमाबाबुले बोल्ने कुरा थिएन। उनीहरूको घरपरिवार राम्रो र रमाइलो नभएको पनि होइन। हजुरआमा नेपालमा एक्लै भएकाले कानुन अनुसार ल्याउन मिल्ने भएकाले उनी पनि सँगै थिइन्।
बिहानबेलुकी नेपाली खाना पनि उनी पकाउँथिइन् तर नातिनी भने पटक्कै मन पराउँदथिइनन् दुई वर्ष अगाडि उनको बुबाले अफिसका केही साथीलाई मोमो पार्टी गरेर बोलाएका थिए।
त्यो दिन उनी पनि गरमै थिइन्। मोमो पोको पार्न आमालाई हेल्प गर्दै थिइन्। बुबाका साथीहरू आए। मीठो मानेर, स्वाद लिएर मोमो खाए। त्यसमध्ये एउटा काले धेरै रमाइलो गफ गर्ने र गित गाउने पनि थियो। छोरीलाई त्यो असाध्य राम्रो लाग्यो। अन्कल भनेर नै कुरा गरिन्। त्यसपछि पनि बुबाले "छोरीले मोमो पार्टी रमाइलो मानी " भनेर बेला मौकामा मोमो पार्टी गरिरहे।
एकदिन अनायास खुशी मुडमा छोरीले बुबाआमा हजुरआमा टिभि हेरिरहेको ठाउँमा आएर " तपाईहरू मेरो बिहेको चिन्ता नगर्नुस् है। अब म बिहे गर्छु। मेरो ब्याए फ्रेण्ड छ। म एक दिन ल्याउँछु " भनी। बुबाआमा खुशी भए। त्यसकाे केही दिनपछि छोरीले केटा साथी बुबा आमालाई भेटाउन ल्याइन्। तर त्यो अरू कुनै थिएन उसकै बुबाको काले साथी थियो जो बारम्बार मोमो पार्टीमा आउँथ्यो।
- रञ्जुश्री पराजुली
प्रकाशित: ४ माघ २०८१ ११:३७ शुक्रबार