कला

बसन्तको सांगीतिक ‘यायावर’

काठमाडौं – इलामे गीतकार बसन्त थाम्सुहाङको दोस्रो सांगीतिक एल्बम ‘यायावर’ सार्वजनिक भएको छ ।

गीतकार संघ नेपालले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा गीतकार रत्नशमशेर थापा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति बल्लभ, प्राज्ञ तथा साहित्यकार श्रवण मुकारुङ, संगीतकार आभाष, गीतकार योगेन्द्रमणि दाहाल, गीतकार दिनेश अधिकारी र गीतकार थाम्सुहाङले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे।

एल्बममा ‘यायावर’, ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका ती पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘ए चन्द्रमुखी’ र ‘नसोध साथी’ बोलका गीत छन् । गीतमा भिषण मुकारुङ राई, भविन ढुंगाना, झुमा लिम्बु, कर्मा ग्याल्छेन बम्जन, लसिमित राईको स्वर छ । गीतमा अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङ र आभाषको संगीत छ।

गीतकार रत्नशम्शेरले गीतमा छन्द, लय र भावको सन्तुलन मिलाउनुपर्ने हुँदा यो लेखन क्षेत्र कठिन रहेको बताए । उनले गीतलाई गम्भीर भएर सुन्ने र त्यसको विश्लेषण गर्ने श्रोताको खाँचो रहेको औल्याए ।गीतकार अधिकारी पछिल्लो समयमा नयाँ पुस्ताको नेपाली सुगम गीत तथा संगीतका क्षेत्रमा प्रवेश भएकाले त्यसको राम्रो विकास तथा व्यावसायिक बन्दै गएको बताए।

प्राज्ञ मुकारुङले क्यासेटमा स्वदेशी मौलिकता र सामाजिक विषयवस्तुलाई समेटिएका गीति भावना रहेको हुँदा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एल्बमको शीर्ष गीतको भिडियो ‘यायावर’ पनि सार्वजनिक गरिएको थियो । विज्ञान राई निर्देशित भिडियोमा राजन खतिवडाले फिचरिङ गरेका छन् ।बसन्तको गीत ‘ए चन्द्रमुखी’ वर्ष २०७१ को वर्षगीत घोषित भएको थियो । उनले यसअघि २०६८ सालमा ‘अवशेष’ नामक एल्बम बजारमा ल्याएका थिए ।
 

प्रकाशित: ३ वैशाख २०७५ ०४:४७ सोमबार

बसन्तको सांगीतिक यायावर