कला

कुनै बेला

लघुकथा

‘ए सेतु, भित्रबाट आगो लिएर आऊ त!’ दलानमा बसेकी हरिकलीले आफ्नो ५ वर्षीय छोरालाई भनी।

‘आमा चिम्टा कहाँ छ!’ सेतुले भित्रबाट सोध्यो।

‘सुन त चिम्टा पुग्न सक्दैनस्। ला यो बिडीलाई सल्काएर ल्याइदे।’ हरिकलीले थपिन्।

दलानमा बसेर फाटेको डसना सिलाउँदै गरेकी निमाले र हरिकली लुकेर धूमपान गर्थे।

‘दिदी, सेतुले पनि के बिडी सल्काउला बरू आफैं जानु न् हजुर।’ निमाले अर्को बिडी निकालेर थमाउँदै भनी।

‘मलाई अगेनामा जान हुने भए तिमीलाई भन्नै पर्दैनथ्यो। म बाहिर सरेकाले हो क्या।’ हरिकलीले सुस्तरी भनी।

‘ओहो यो केटाले बिडी सल्काएको अहिले कुनै टुप्लुक्क आइपुग्छ अनि बिडी खान हराउँछ।

सेतु बरू छिट्छिटै मुखले तान त बाबु बिस्तारै सल्किन्छ।’ निमाले बाहिरबाट भनी।

‘हस् आन्टी।’ सेतुले सल्किएको बिडी मुखले जोडसँग तान्यो।

ऊ भुँइमा गर्ल्याम्म पल्टियो।

‘के भयो यसलाई!’ हरिकली रून थाली।

निमा फटाफट भित्र गई एउटा लोटामा गाग्रोबाट पानी भरी र उसको टाउको भिजाउन थाली।

‘आमा!’ एकछिनपछि सेतु बोल्यो र पिर्लिक्क आँखा उघार्‍याे।

प्रकाशित: ३ माघ २०८१ १३:४७ बिहीबार

# Poem # Nagarik