कला

‘रानीमहल’मा मिस नेपाल

कठमाडौं– हालसालै मिस नेपालको ताज हस्तान्तरण गरेकी निकिता चन्दकले फिल्ममा अभिनय गर्ने भएकी छिन्।

उनले ‘रानीमहल’ शीर्षकको फिल्ममा अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी छिन् । दुईमहिना अघि घोषणा भएर फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ।

निर्देशक हिमाल न्यौपानेले पहिले घोषणा भएका केही नामको साटो नयाँ अनुहार भित्र्याउँदै फ्लोरमा जाने तयारीमा रहेको बताए । ‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं । वैशाखको दोस्रो हप्तासम्ममा फ्लोरमा गइसक्नेछौं,’ न्यौपानेले भने।
दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए।

निर्देशक न्यौपानेले वर्षाले गर्न लागेको रोलमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताए । फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन् ।२ करोडको लगानीमा बन्न लागेको फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौँमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मका केही दृश्य विदेशमा समेत खिच्ने निर्माण टिमले जनाएको छ।

फिल्मको पटकथा दीपक पौडेलले लेखेका हुन् । पौडेलले चलचित्रको कथा प्राचीन दार्शनिक अरस्तुले भनेझै, पात्र र दर्शकको मनोवैज्ञानिक कथार्सिसलाई महत्व दिएर लेखिएको बताए । उनले फिल्मको कथा आधुनिक समाज, प्रेम, त्याग र बलिदानको सेरोफेरोमा केन्द्रित रहेको पनि दाबी गरे।  

चलचित्रमा नीर शाह, सुष्मिता के. सी., बि एस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोख्रेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ।हिमाल के सीको द्वन्द निर्देशन रहने फिल्मको संगीत अर्जुन पोख्रेल र हर्कुलिस बस्नेतले तयार गरेका छन् । बिमल भुषालले फिल्मका निर्माता हुन्।

प्रकाशित: ३ वैशाख २०७५ ०४:३१ सोमबार

रानीमहलमा मिस नेपाल