कला

खुत्रुकेको काम

लघुकथा

१) वसन्त

विश्वमा फूलहरूको सम्मेलन हुने मिति तय भयो। विभिन्न देशका राष्ट्रिय फूलहरूको सौन्दर्यले सभा हल मगमगायो। एउटा बेग्लै छटा बन्यो।

अन्तर्राष्ट्रिय स्तरमा आफू राष्ट्रिय फूलको नाताले आफ्नो देशको प्रतिनिधित्व गर्न पाउॅंदा आआफ्नो देशप्रति गर्व गरे। सबै दङ्ग थिए। सहभागीहरूमध्ये जापानी साकुरा र नेपाली लालीगुराँस केही निकट भए। उनीहरूको फुल्ने याम एउटै। बसाइ लहरै थियो। कानेखुशी गर्न थाले।

“कति राम्री छ्यौ ऋतुराज, वसन्तको आगमनमा फुल्छ्यौ।” साकुराले लालीगुराँसलाई फुर्काई।

“तिमीमा पनि कम सुन्दरता चाहिॅं छैन। सार्वजनिक पार्कहरूमा ढकमक्क बैंसालु जवानीसॅंगै वसन्तलाई स्वागत तथा बिदाई गर्न समेत भ्याउॅंछ्यौ। सबै जापानीले देख्न पाउॅंछन्। तिम्रो नाममा हानामी समय छुटाउॅंछन्। फोटो खिच्छन्। माया गर्छन्।”

लालीगुराँसले आफूलाई पनि आफ्ना देशकाले त्यसरी नै गरे हुन्थ्यो भन्ने आशयमा साकुरालाई भाग्यमानी ठहर्‍याई।

साकुराले राष्ट्रिय फूल भएपछि त्यो त सामान्य कुरा सोची। फेरि आफू गलत हो कि लागेर प्रतिप्रश्न तुरुन्त गरी, “अँ, त्यो त हो। साँच्चै! तिम्रा देशमा पार्कहरू छैनन् र? किन जङ्गल र भिरमा मात्र फुल्छ्यौ?”

लालीगुराँसले मुटुमाथि ढुङ्गा राखी मुख खोली, “पार्कहरू भएर के गर्नु? मलाई भेट्नेबित्तिकै कान बटार्दिन्छन्। हातखुट्टा भाँचिदिन्छन्। मुन्टो निमोठ्छन्। भाग्दाभाग्दै त्यहाँ पुगें तर जहाँ पुगे पनि मेरा देशकाले भेटे, मलाई छोड्दैनन्।”

लालीगुराँस थप बोल्दाबोल्दै भक्कानिई, “फुल्न छोडौं, वसन्तले जिस्काइहाल्छ। फुलौं, मानव आकृतिका दानवहरूले मेरो बैंसमै हत्या गर्छन्।”

२) पहिचान चाहनेको पहिचान

झण्डै एक दशकदेखि बेनामी एउटा गाउॅं थियो। प्रस्तावित नामहरू थुप्रै आए। सुहाउॅंदो र एउटा नाममा सहमति नजुटेपछि निर्वाचनबाट टुङ्गो लगाउने निर्णय भयो, जुन नाममा धेरै भोट आउॅंछ, उही नाम रहने गरी। गाउॅंलेले पूर्ण मताधिकार गाउॅंका प्रतिष्ठित मानिएकाहरूलाई सुम्पेका थिए।

हुन त मतदातामा छानिएकाहरूभन्दा माथिल्लो तहमा पनि केही व्यक्ति थिए तर तिनीहरू संरक्षकको रूपमा मानिन्थे। उनीहरू संरक्षकमा रहे पनि मतदाता नामावलीमा परेकाहरूलाई निर्वाचन अगाडि बारम्बार जिस्काइरहन्थे। कहिले फकाउॅंथे त कहिले धम्काउॅंथे।

यता गोप्य बुथ, मतपत्र, स्वस्तिक चिन्ह भने प्रयोगमा आउने भएँ भनेर एक अर्कामा निकै उत्साहित देखिन्थे।

मतदान शुरू भयो। करिब एक घण्टाभित्रमा मतदान सकियो। मतदाता सङ्ख्या थोरै भएकाले मतगणना पनि चाँडै सकियो। मत परिणाम घोषणा भयो। जनमानसको चाहना विपरीत नामको पक्षमा बहुमत आयो। अर्थात् गाउॅंलेहरूको भाषामा पहिचानरहित नामबाट गाउॅंको न्वारान भयो।

ठाँटीलाल, जो गाउॅंलेहरूले मानेको पहिचानवादी नेतामा गनिन्छ, जुरुक्क उठ्यो। “यो नाम हुनै सक्डैन। ऐटिहासिक सभ्यटा नामेत गरियो। सुरुदेखिको हाम्रो पोइन्टमा अडिग छुम् र रहनेछुम्।”

ऊ भावुकतामा थामिएन। आफ्नै कुर्सीमा थचक्क बस्यो र खुइय्य छोड्यो।

“भोट दिने बेलामा संरक्षकको आदेश भन्दै आफ्नै विचारमाथि घात गरिस्। अहिले मेरो पहिचान नामेट गरियो भन्न लाज लाग्दैन?” उसको मनले उसैलाई झपार्नु झपार्‍याे।

३) खुत्रुकेको काम

“डाक्डर साप! डाक्डर साप! मेरी मयालाई के भाकी रहिछे? जाति त हुन्छे नि?” जोगुलाल राईले एकै सासमा आफ्नी जीवनसङ्गिनीबारे डाक्टरसित चासो राख्यो।

“नआत्तिनुस्। हजुरआमाको स्वास्थ्य ठिक हुन्छ। सकेसम्म चिसोबाट जोगाउनुस् र तपाई पनि जोगिनुस् है, बा।” डाक्टरले सल्लाह सुझाउॅंदै एक टुक्रो कागज हातमा थमायो।

जोगुलालले श्रीमतीलाई प्रतीक्षालयमा बसाएर काउन्टर हुँदै औषधि पसलतिर एक फन्को लगायो।

“होइन, बुढा! त्यो के बोक्याको नि?” फुलमती खोक्दै अघि अघि बाटो लागिन्।

“तमी जाती पार्न्या ओखती।” श्रीमतीको पछिपछि उसले पछ्यायो। “भो, धेर नबोल। तम्रो खोकी बढ्न्या छ।”

इलाका स्वास्थ्य केन्द्रदेखि पाँच मिनेटको बाटोमा उनीहरूको घर पर्छ। घरेलु औषधोपचारको भरमा दुवैले उनासी हिउॅंद कटाइसके। पहिलोचोटि दर्शन गर्न ऊ श्रीमती लिएर त्यहाँ पुगेको थियो। जोईपोइ घर पुगे।

वर्षौंदेखि सुम्सुमाएको खुत्रुकेको यादले जोगुलाललाई सताएछ। उतैतिर सरासर गयो। आफ्नो मनसित बोल्दै उसले खुत्रुके फुटाउॅंछ, ‘हामी मरेपछि यसको के काम? बाँचुन्जेल न्यानो ओढ्न्या हो। न्यानोमा सुत्न्या हो।’

- म्यामराज राई

(लघुकथाकार राईकाे बुन्छत लघुकथासङ्ग्रहबाट )  

प्रकाशित: २ माघ २०८१ १२:१० बुधबार

# Laghukatha # National flowers of different countries