कला

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!

मुक्तक

१) मुक्तक

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्,

गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्।

आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र,

वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिरहून्!

२) मुक्तक

आखिर हल्का रंगमा त जिन्दगी खुलाउन खोज्थें म,

गाढा न टाढा वश, सिम्रीकमै त भुलाउन खोज्थें म।

अल्फाज हैन जिन्दगी जिउने अन्दाजले सिकाउँछन्,

पीडा त खालि पानी न हो घुलेरै बगाउन खोज्थें म।

३) मुक्तक

आखिर जनताकै रक्षाको निमित्त दल बनेकै हो भने,

आखिर माटोकै सेवाको निमित्त गल खनेकै हो भने।

फोहाेरी राजनीतिको दम्भहरू किन यति विकराल गर्छौ,

नगर जुँगाकै लडाइँको निमित्त साँच्चै देश भनेकै हो भने।

४) मुक्तक

सायद उनी आँखामा सधैं रहेर होला सपना कति चलेथ्यो,

चौतारीमा बसेर उनकै प्रतीक्षामा यस्तै साँझ कति कटेथ्यो।

निदौरो कति भोकप्यास हराए यस्तै जुनी नै बित्ने हो कि,

भन्देउ बटुवा कहीं भेटे सम्झनामा यो ज्यान कति जलेथ्यो।

५) मुक्तक

तिमी थियौ त लाग्यो मलाई उर्वर प्रेरणा मिल्यौ,

साथ दियौ त लाग्यो मलाई सुन्दर अंगेना मिल्यौ।

अरे डुब्नै लागेको किनारा जस्तो लाग्दै थिएँ म,

हात दियौ त लाग्यो मलाई जिउने बहाना मिल्यौ।

प्रकाशित: २ माघ २०८१ ११:२३ बुधबार

# Laghukatha # Niyatra # Gajal # Nibandha # Muktak