लघुकथा लेखक एवं अन्वेषक डा. पुष्करराज भट्ट ‘मन्त्री र मास्क’ लिएर बजारमा आएका छन्। उनी अढाई दशकदेखि निरन्तर नेपाली साहित्य सिर्जना एवं समालोचनाका क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्यको जिम्मेवारीमा रहेका डा. भट्ट नेपाली लघुकथामा प्रथम पटक विद्यावारिधि गर्ने व्यक्तित्व हुन्। उनका यसअघि तीन लघुकथा कृति प्रकाशित छन्। मन्त्री र माक्स लघुकथा कृति कोरोनासँग सम्बन्धित रहेको छ।
सम्पादन हाउस, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा भट्टका ५६ लघुकथा छन्। यी लघुकथाको लेखन काल कोरोनाकाल भएको र यस अवधिमा नेपाली समाजमा देखिएका घटनालाई विषय बनाइएको छ। कृतिमा व्यक्ति पात्रको एक्लोपना, निराशा अनि कुण्ठाका अभिव्यक्तिलाई स्वर दिइएको छ।
कोरोनाकालमा एक्लै घरमा बस्नु पर्दा मानिसको मनस्थिति खल्बलिएको छ। समाज, देश अनि विदेशमा मृत्युका मात्र खबर सुन्नुपर्दा मानिसले आफ्नो सन्तुलन गुमाएको, आफन्तसँग भेट नहुँदा पीडाको सामना गर्नु परेको, समयमा उपचार नपाउँदा अकाल मृत्यु वहन गर्नुपरेको घटनालाई कथात्मक रूप दिइएको छ।
विशेषतः कोरोनाकालमा आफन्त नै बिरानो बनेको, मानिसमा स्वार्थपरायणता बढेको, व्यक्तिवादले प्रश्रय पाएको, समाजमा ठगी एवं लुटका घटना बढेको, भ्रष्टाचार, अनैतिकता, कालोबजारीले चरम रूप लिएको अवस्थालाई लघुकथा सर्जकले कुशलताका साथ प्रस्तुत गरेका छन्।
यी लघुकथामा संवेदना भएका मानिसले साधनहीन, विपन्न नागरिकको सहयोग गरेको, जीवनभरका लागि गुन लगाएको अवस्था प्रस्तुत गरिएको छ। लेखकले यस कृतिमा मानिसमा रहेको असंवेदनशील चरित्र, स्वार्थपरायणता, परपीडक चरित्रका अनेक पक्ष समेत उजागर गरेका छन्।
वरिष्ठ आख्यानकार माया ठकुरीले यी लघुकथामा समाजमा देखिएको विसंगति र कुप्रथाको विरोधका साथै समाज सुधारको चेतना व्यक्त भएको बताएकी छन्। भूमिकाकार गोपाल अश्कले कोरोना कालको नेपाली जनजीवन र त्यस जीवनले भोगेका सन्त्रास, पीडा आदिको चित्रण भएको बताएका छन्। लघुकथामा हुनुपर्ने गुण सङ्क्षिप्तता, कसावपन, तीक्ष्ण व्यङ्ग्य, गहिरो अनुभूतिको प्रकटीकरण आदि यस लघुकथासङ्ग्रहमा पाइन्छ।
सरल भाषा, आकर्षक शैली र समसामयिक विषयवस्तुको छनौट गरिएर लेखिएको वर्तमान युगको त्रासदीमा आधारित भट्टको छपन्न लघुकथा संलग्न भएको यो कृति पाठकहरूले रुचाउने हाम्रो विश्वास छ।
प्रकाशित: २९ पुस २०८१ १०:४९ सोमबार