कला

राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ!

मुक्तक

१) मुक्तक

कुरा मात्र नारी झुलायो उसैले,

म तिम्रै हुँ भन्दै भुलायो उसैले।

बसेँ आस राखी भयो हाल यस्तो,

दिई दु:ख ज्यादा डुलायो उसैले।

२) मुक्तक

गीतमा खोजेँ तिमीलाई पाइन धुनमा,

चाँदनी ठानेँ तिमीलाई पाइन जूनमा।

सस्तो भयो जिन्दगी यो भाउ घट्यो नि,

खार्दै जोखेँ तिमीलाई पाइन सुनमा।

३) मुक्तक

ख्याल राखौँ सबैले यात्रा पैतालाकै लक्ष्यमा हुन्छ,

औकात अन्त खोज्नु पर्दैन मानिसको गक्ष्यमा हुन्छ।

संसारमा असम्भव केही छैन भन्छन् विज्ञ मानिसहरू,

पौरखी बनौं साथी हो समय बाँच्नेकै पक्षमा हुन्छ।

४) मुक्तक

कलाकार नै हुन् अभिनयमा टेक्का लिन्छन्,

अर्काको अनावश्यक कुरामा हेक्का लिन्छन्।

मानिसका रङ अनि प्रकृति छन् बुझी नसक्नुका,

सबै उनीहरूको बिर्ता हो झैँ गरी ठेक्का लिन्छन्।

५) मुक्तक

सम्पूर्ण कुरामा बर्बराउँछ भित्रैबाट खाली गर्छ,

सुसंस्कार हराउँछ र बाबुलाई पनि गाली गर्छ।

विदेशीसामु देशको इज्जतको हेक्का राख्दैन,

इमान गुमाएपछि मानिसले सर्वत्र जाली भर्छ।

६) मुक्तक

मान्छे स्वयं बिग्रियो कि भात लाग्छ जानौँ,

धरातल नै बिर्सिएपछि मात लाग्छ जानौँ।

दूरदर्शी नभएमा बेहाल बन्छ अवस्था यो,

जताततै समस्याको  खात  लाग्छ जानौँ।

७) मुक्तक

राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,

जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ।

सोझो बाटोमा हिँडेको त कहिल्यै पनि देखिएन,

व्यक्ति उही कहिले अँगालो हुन्छ कहिले भँगालो हुन्छ।

८) मुक्तक

परम्परागत दृष्टिमा केटाकेटीहरू भुरा हुन्छन्,

आजभोलि शिक्षकभन्दा विद्यार्थी छुरा हुन्छन्।

मानिसले किन आफ्नो कर्तव्य भुल्दै छ अचेल,

सिक्ने सिकाउनेभन्दा बाहिरी मात्र कुरा हुन्छन्।

९) मुक्तक

बाबाआमा हुँदाको माइतीघर रमणीय हुन्छ,

भावनाले छुँदाको माइतीघर रमणीय हुन्छ।

जति सम्पन्न होस् जन्म ठाउँ भुल्दैन मान्छे,

ईश्वर वा खुदाको माइतीघर रमणीय हुन्छ।

१०) मुक्तक

कल्याणकारी जीवनको सार लिन सकेको छैन,

नदीको मूल प्रवाह भित्रको धार लिन सकेको छैन।

समयले हन्डर खुवाएर पाठ पढाउँछ जीवनको,

सिकाइमै छु अझै खास आकार लिन सकेको छैन।

प्रकाशित: २६ पुस २०८१ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App