कला

पृथ्वी जयन्तीको अवसरमा पन्तको ‘पृथ्वीनारायण शाह’ पुस्तक आउँदै

पृथ्वी जयन्तीको अवसरमा महेशराज पन्तले ‘पृथ्वीनारायण शाह’ पुस्तक बजारमा आउने भएका छन्। आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा ‘पृथ्वीनारायण शाह’ पुस्तक बजारमा आउने जानकारी नेपालय प्रकाशनका टिम लिडर किरणकृष्ण श्रेष्ठले दिए।

‘नेपाली इतिहास, संस्कृति र पुरातत्त्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारी आगामी पुस २७ गते पृथ्वी जयन्तीको दिनदेखि बजारमा ल्याउन लागेको हो,’ उनले भने, ‘नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका राजा पृथ्वीनारायण शाहका कदम एवं भूमिकाबारे सो पुस्तकमा उल्लेख छ। यसमा लेखक पन्तले झन्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी अटाएका छन्।’

पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनोट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनुदित रूप पुस्तकमा समेटेका छन्। ‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,’ लेखक पन्तले भने।

पिता प्राज्ञ नयराज पन्तद्वारा स्थापित संस्था ‘संशोधन मण्डल’ को पाठशालामा संस्कृत भाषा र वाङ्मय अनि नेपालको इतिहास अनुसन्धानका लागि आवश्यक विद्या आर्जन गरेका पन्त हाल त्यसै संस्थाका अध्यक्ष छन्। जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरेका पन्त जर्मनी र भारतबाट एकएकवटा पुस्तकसहित उनका हालसम्म १८ वटा पुस्तक र आठ सय हाराहारीका अनुसन्धानमूलक लेख प्रकाशित छन्।

नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध अध्यापन तथा फ्रान्सको ‘सेन्टर फर साइन्टिफिक रिसर्च’मार्फत शोध गरेका छन्। पन्त इतिहासप्रधान त्रैमासिक जर्नल ‘पूर्णिमा’ को स्थापनादेखि हालसम्मको सम्पादकसमेत हुन्।

‘पृथ्वीनारायण शाहमा ‘इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले ?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो ?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन्?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, ‘भक्तपुर विजयको प्रत्यक्ष वर्णन’लगायत शीर्षक पुस्तकमा छन्। त्यस्तै पृथ्वीनारायण शाहले आफू दिवंगत हुनुभन्दा केही अघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ।

‘पब्लिकेसन नेपालय २० वर्ष पुगेको सुखद अवसरमा हामी नयाँनयाँ योजनामा छौं,’ नेपालयका टिम लिडर श्रेष्ठ भने, ‘यस क्रममा हरेक विधाका खासखास अध्येताहरूसँग सहकार्य बढाउँदै पाठकहरूसम्म पुग्ने लक्ष्य लिइएको छ।’ १३३ पृष्ठको पुस्तकलाई ४९५ रूपैयाँ मूल्य तोकिएको छ।

प्रकाशित: २६ पुस २०८१ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App