कला

समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर!

मुक्तक

१) मुक्तक

समान सृष्टि गरेको छ प्रकृतिले कसैलाई भेद छैन,

विभेद गर्नुपर्छ भन्ने लेखिएको दस्तावेज वेद छैन।

आस्था, श्रद्धा र ज्ञानको भण्डार वेदमै नभएको कुरा,

विकृति  बनाएर भित्र्याउँदा समाजलाई  खेद छैन।

२) मुक्तक

पीडा र यातना लुकाएर भित्रभित्रै जल्नुपर्छ नारीले,

पितृसत्ताको कुकृत्य इशारामा सधैँ चल्नुपर्छ नारीले।

धर्तीको शालीनता आकाशको विशालता भए पनि,

बाध्य भएर समाजको बेथितितिर ढल्नुपर्छ नारीले।

३) मुक्तक

विश्वास र भरोसा गर्न सके मातृभूमि नै संसार हो,

पौरखको बल र पैतालाको भर जीवन किनार हो।

सुनचाँदी, हिरामोती सबै फल्छ यहीँ उर्वर भूमिमा,

पोखौँ श्रम आफ्नै देशमा बाँच्ने प्रमुख आधार हो।

४) मुक्तक

कुविचार, कुभावनालाई  जीवनबाट पर सार्नुपर्छ,

सुविचार र आशीर्वचनलाई सधैँ शिरोपर पार्नुपर्छ।

मानवीय चरित्र र गुण महान सम्पत्ति हो मान्छेको, 

रिसराग, अहङ्कार, बैगुनलाई पैतालामुनि झार्नुपर्छ।

५) मुक्तक

जे बोल्न छुट छ देशमा कुराको कुनै आधार छैन,

अल्पज्ञानीहरू सर्वज्ञ बन्छन् बोल्ने कुनै विचार छैन।

अर्कालाई गिराउन र खुट्टा तान्न जानेका छन् मान्छे,

कानुन र अदालत मरेको देशमा कतै हारगुहार छैन।

) मुक्तक

विकृति भित्रिएर समाजमा मान्छे दुष्ट हुँदैछन्,

ऐँचोपैँचो हुनै छोड्यो सज्जन पनि रुष्ट हुँदैछन्।

सामाजिक सद्भाव हराउँदै गयो मान्छे पशु बन्दा,

सत्ता र शक्तिको आडभरमा कोही पुष्ट हुँदैछन्।

) मुक्तक

हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु,

संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु।

स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने,

बन्धुबान्धव, इष्टमित्र, नातागोता खुनका कुरा के गर्नु।

) मुक्तक

मान्छे जन्मिनु प्रकृतिको अमूल्य उपहार हो,

किशोरावस्था विपरीत लिङ्गीप्रतिको प्यार हो।

वृद्धवृद्धालाई हेर्ने दृष्टिकोण हेय बन्दैछ अचेल,

अजम्बरी छैन चोला मृत्यु अकाट्य विचार हो।

) मुक्तक

समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर,

प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर।

उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा, 

विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।

१०) मुक्तक

अनुपम सौन्दर्य कैद गर्न सकिन्न आँखाको नानीमा,

जलचरहरू क्रीडामग्न हुन्छन् सरोवरको पानीमा।

चाहेको सौन्दर्यलाई कैद गर्न सकिन्छ क्यामराले,

पर्यटक लोभिन्छन् नेपालको सौन्दर्यको खानीमा।

प्रकाशित: २५ पुस २०८१ ११:५० बिहीबार

# Muktak # Poem # Kabita # Katha