कला

दाइजोविरोधी ‘भोर’ ट्रेलर

काठमाडौं – तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म युनिटले नयाँ वर्ष २०७५ को छेको पारेर ट्रेलर सार्वजनिक गरेको हो।

निर्देशक यादव भट्टराईको निर्देशनमा बनेको फिल्मले तराईको मौलिक कथालाई उठान गरेको छ। यसअघि सती प्रथाको कथामा आधारित फिल्म ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवले नयाँ फिल्मलाई दाइजो प्रथालाई निर्मुल पार्ने अभियानको रुपमा निर्माण गरेको बताए।

फिल्मको कथा साहित्यकार तथा ‘झोला’कै कथाकार कृष्ण धरावासीले लेखेका हुन्। जसमा निर्देशक भट्टराईकै पटकथा छ ।  फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन्।

राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गरेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, उज्जवल ढकालको सम्पादन छ । देवेन्द्रप्रसाद सुवेदी कार्यकारी निर्माता रहेको फिल्म आउँदो वैशाख २१ गते रिलिज हुँदैछ। यो फिल्मको जनकपुर, पोखरामा प्रिमियर र हेटौंडामा च्यारिटी शो भइसकेको छ। फिल्मको सम्पूर्ण छायांकन जनकपुरमा नै गरिएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०६:१६ आइतबार

दाइजोविरोधी भोर ट्रेलर