कला

बाङ्गा अक्षरले गर्‍यो ‘शुक्रबारे गन्थन’ को परिचर्चा

नेपाली हास्यव्यंग्यको मझेरी बाङ्गा अक्षरले जुम मार्फत नेपाली हास्यव्यङ्ग्य सम्बन्धी कार्यक्रम गरेकाे छ। बाङ्गा अक्षर नेपाल बाहिर रहेर नेपाली हास्यव्यङ्ग्य लेखन, पठन र प्रवर्द्धन गर्न सक्रिय सर्जकहरूको सक्रिय समूह हो।

बाङ्गा अक्षरले आयोजना गरेको उक्त कार्यक्रममा क्यालिफोर्निया निवासी साहित्यकार प्रमोद अमात्यको ‘शुक्रबारे गन्थन’ माथि परिचर्चा गरिएको थियो। सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अमेरिका, क्यानडा, नेपाल र विश्वका अन्य देशबाट सहभागिता जनाइएको थियो।

साहित्यकारहरू - खेमराज पोखरेल, डा. कुसुमाकर शर्मा गौतम र राजेन्द्र कार्कीले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। सबै समीक्षकले हास्यव्यङ्ग्य शैलीमा लेखिएको उक्त पुस्तकमा अमात्यले सरल र चोटिलो भाषा शैलीको प्रयाेग गरेकाे बताए। समीक्षकहरूले कृतिका सबल र दुर्बल पक्षबारे खुलेर चर्चा गरेका थिए।

साहित्यकार खेमराज पोखरेलले ‘शुक्रबारे गन्थन’ मा समाविष्ट लेखहरू संस्मरणात्मक र हास्य रसले प्रेरित भएको बताए। त्यस्तै साहित्यकार डा. कुसुमाकर शर्मा गौतमले ‘शुक्रबारे गन्थन’ मा नेपाली र नेवारी समाजका ऐतिहासिक र सांस्कृतिक पक्षहरू सुन्दर तरीकाले वर्णन गरिएको बताए।

हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले ‘शुक्रबारे गन्थन’ एउटा गन्थन मात्र नभएर जीवन र जगतका दर्शन समावेश भएकाे बताए।

परिचर्चा कार्यक्रममा लेखक अमात्यले आफ्नो किताव लेखन, प्रकाशन र त्यसपछिकाे अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रमका मुख्य अतिथि लक्ष्मण गाम्नागेले अमात्यको कितावको चर्चा गर्दै यो एउटा गन्थन मात्र नभएर एउटा गहन सामाजिक मन्थन भएको बताए।

त्यस्तै कार्यक्रमको अन्त्यमा गाम्नागेले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरेर कार्यक्रम रोमान्चक र जीवन्त बनाएका थिए।

बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा चर्चित कमेडियन तथा कार्यक्रम प्रस्तोता अर्जुन दाहालले कार्यक्रमको प्राविधिक पक्षको संयोजन गरेका थिए।

कार्यक्रममा सहभागी बाङ्गा अक्षरका कार्यकारी सदस्यहरू - डा. टिका लम्साल, बाबु आचार्य, भोज अर्याल लगायत अतिथिकाे रूपमा उपस्थित भएका थिए। हास्यव्यङ्ग्यकार तथा गजलकार धनराज गिरी, वरिष्ठ साहित्यकार विश्वराज अधिकारी तथा साहित्यकार डा. नवराज खतिवडाले नेपाली हास्यव्यङ्ग्यका विविध आयामबारे लक्ष्मण गाम्नागे र लेखक अमात्यसँग अन्तरक्रिया गरिएकाे थियाे।  

प्रकाशित: २४ पुस २०८१ १०:४० बुधबार

# Poem # Story # Muktak # Sukrabare ganthana # Critical Commentary # Sasakta rachana