कला

‘आफूविरुद्ध आफैं’ अभियानमा कथाकार रिजालको ‘अब उप्रान्त’

‘आफूविरुद्ध आफैं’ अभियानको तेस्रो श्रृङ्खला कथाकार नवराज रिजालको ‘अब उप्रान्त’ कथासङ्ग्रहकाे समीक्षा गर्दै सम्पन्न भएको छ।

कथाकार रिजालको कथाकारिता, विषयवस्तु चयन र लेखनशिल्पबारे कवि तथा समालोचक आरएम डंगोलले प्रकाश पारेका थिए। कृतिमाथि प्रकाश पार्दै डंगोलले पात्र चयन र विषयवस्तुका आधारमा रिजालका कथाले छुट्टै पहिचान बनाएको चर्चा गरेका थिए।

कथामा के भन्ने प्रश्नमा विषयवस्तुको महत्त्वपूर्ण भूमिका हुन्छ। पात्रले कसको बारेमा भन्ने र कथाशिल्प वा कथन पद्धतिले कसरी भन्ने भन्नेबारे जानकारी दिने समीक्षक डंगोलले बताए।

कथा जति कल्पनाशील भएर अघि बढ्छ त्यति नै नवीनता थपिने समेत डंगोलले बताए। यसमा भाव पक्षले समस्याको उजागर गर्ने र विचारले निष्कर्ष दिने उनको भनाइ थियो।  

कथाकार रिजालले पनि आफ्नो कथा लेखनको धरातल भनेको नेपाली माटो र यसको जर्गेना कसरी गर्ने भन्ने रहेको बताए। “मैले तीस वर्षको लेखन यात्रामा जे सिकें, देखें त्यो समाजभित्र विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा कुनै परिवर्तन नभएको हुनाले फेरि यो व्यथा भोग्नु नपरोस् भन्ने हेतुले कथासङ्ग्रहको नाम नै ‘अब उप्रान्त’ राखेको बताए।

अभियानका सचिव होमशंकर बास्तोलाले चलाएकाे कार्यक्रममा कवि तथा समीक्षक छविरमण सिलवाल, होमशंकर बास्तोला र बोधराज पौडेल समेतले कथाकार र कथासङ्ग्रहबारे आफ्नो धारणा राखेका थिए।

उक्त अभियानमा कविहरू आरएम डंगोल, होमशंकर बास्तोला, नवराज रिजाल, बोधराज पौडेल, छविरमण सिलवाल, प्रतिरोध कार्की, दिपक विहीन आबद्ध छन्।

रिजाल कथाकार मात्र नभई लघुकथा, कविता र बालसाहित्यका क्षेत्रमा समेत कलम चलाउने स्रष्टा हुन्। उनका दुई दर्जन बढी कृति प्रकाशित छन्।

प्रकाशित: २० पुस २०८१ ०९:२२ शनिबार

# Katha