नेपाली चलचित्र ‘लाज शरणम्’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। बुधबार निर्माण टिमले इस्वी संवत् २०२५ को शुभारम्भका अवसरमा चलचित्रको तीन पोस्टर सार्वजनिक गरेको हो।
चलचित्र चर्चित हास्य सिरियल 'सक्किगोनि' समूहले निर्माण गरेको हो। सार्वजनिक पहिलो पोस्टरमा सक्किगोनिका कलाकार हरिश निरौला (कके) र कलाकार विजय बराल देखिएका छन्। यसमा विजयले हरिशको ढाडमा बसेर शंख फुकिरहेका देखिन्छन्।
दोस्रो पोस्टरमा विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), र हरिश निरौला कफिनको फ्रेमभित्र देखिन्छन्। अर्जुन घिमिरे सिरियलकै ‘पाँडे’ पात्रको गेटअपमा देखिएका छन्।
तेस्रो पोस्टरमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उनको अगाडि हिमाल, बस्ती र भगवान् शिवको प्रतिमा देखिन्छ।
सार्वजनिक पोस्टरले फिल्मले विषयलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने संकेत गरेको छ। कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको यो फिल्म आगामी महाशिवरात्रि, फागुन १४ गते देशव्यापी रूपमा प्रदर्शन हुदैछ।
फिल्ममा विजय बराल, प्रशान्त ताम्राकार, अर्पण थापा, महेश त्रिपाठी, रेणु योगी, माला लिम्बु लगायतका कलाकारको अभिनय छ। सक्किगोनि टोलीबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, र कमलमणी नेपाल (खुपीका बाउ) ले पनि फिल्ममा अभिनय गरेका छन्।
फिल्मका छायांकार सुदीप बराल हुन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको भूमिकामा छन्।
‘लाज शरणम्’ हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिचर फिल्म हो। दर्शकहरूले सिरियलबाट पाएको माया र समर्थनले चलचित्रलाई पनि सफल बनाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
फिल्मले गम्भीर विषयलाई रमाइलो र रचनात्मक ढंगले प्रस्तुत गर्ने संकेत पोष्टरहरूबाटै दिएको छ। निर्माण टिमले फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा राखेको छ।
प्रकाशित: १७ पुस २०८१ १६:४७ बुधबार