कला

फेरिँदै नयाँ वर्षको चलन

पुल्चोक इन्जिनियर क्याम्पसमा तेस्रो वर्षको परीक्षा दिएर बसेका दीपेन्द्र ठाकुर आगामी नयाँ वर्ष फरक तरिकाले मनाउने योजनामा छन्। यसअघिका नयाँ वर्षमा परीक्षा परेकाले राम्रोसँग मनाउन नपाएका उनी यसपाली भने काठमाडौंको वृद्धाश्रम र अनाथआश्रमका सदस्यहरूसँग बिताउने निर्णय गरेका छन्।

‘धेरै केही गर्न नसके पनि एक दिनको समय उहाँहरूसँग बिताउने मन छ,’ उनी भन्छन्, ‘अनावश्यक खर्च गरेर मनाउनुभन्दा सानै भए पनि समाजसेवा गरेर मनाउन उत्तम लाग्छ।’

हरेक पर्व साथीभाइसँग घुमेर तथा खानपिन गरेर रमाइलो गर्नेको भीडमा यस्तो पात्र भेटिनु नौलो कुरा हो। नयाँ वर्षको दिन समाजसेवा गरियो भने वर्षभरि राम्रो काम गर्न ऊर्जा मिल्ने उनी बताउँछन्। हरेकले आफ्नो ठाउँबाट नयाँ वर्षको दिन नयाँ कुरा सोच्न सकियो भने सकारात्मक परिवर्तन हुने उनको अपेक्षा छ। ‘हाम्रो सानो सहयोगले कसैको अनुहारमा मुस्कान ल्याउँछ भने किन त्यो काम नगर्ने? उनी प्रश्न गर्छन्। अरुको ओठमा हासो ल्याउन सक्ने मानिस आफू कहिल्यै दुःखी नहुने उनको धारणा छ।

आपसी सद्भाव र एकअर्कामा भाइचाराको सम्बन्ध बनाउन नयाँ वर्ष माध्यमजस्तै बनेको छ। त्यससँगै रंगीचंगी फूल र हरियाली वातावरणले नयाँ वर्षमा उल्लास थप्ने गरेको छ। पछिल्लो समय नयाँ वर्षलाई सद्भाव साटासाट र शुभकामना आदानप्रदान गरेर मनाउने चलन छ।

सधैँ एडभेन्चरस काम गर्न रुचाउने जावालाखेलकी नन्दनी थापा यो नयाँ वर्षमा बञ्जी जम्प गर्ने तयारीमा छिन्। घरपरिवारबाट टाढा काठमाडौंमा अध्ययन गर्दै बसेकी नन्दनी सिन्सियर कलेक्सनमा ट्राउजर किन्दै गर्दा भेटिइन्। लुगामा डिस्काउन्ट माग्दै गरेकी नन्दनी बञ्जीको लागि निकै उत्साहित देखिएकी थिइन्। ‘मलाई बञ्जी जम्प गर्ने ठूलो इच्छा थियो। नयाँ वर्षको दिन इच्छा पूरा भए वर्षभरि सोचेको कुरा पूरा हुन्छ की? उनले हाँस्दै भनिन्।

ललितपुर, ग्वार्कोका ४५ वर्षीय गोविन्द गुरागाईं यसपालीको नयाँ वर्ष पारिवारिक जमघट गरेर मनाउने तयारीमा छन्। उनको परिवारलगायत नातेदार पनि काठमाडौँमै भएकाले पारिवारिक  भेटघाट गर्न सबैलाई घरमा निम्ता समेत दिइसकेका छन्। त्यस्तै नयाँ वर्षको सुरुवातमा बिहानै पशुपतिनाथको दर्शन गर्न जाने योजना समेत छ उनको। ‘वर्षभरिका रिसराग, गल्तीलाई नदोहो¥याई अगाडि बढ्ने एक्येबद्धता गर्ने योजनामा छु,’ उनी भन्छन्। नयाँ वर्ष जसरी बितायो वर्षभरी त्यसैगरी बित्छ भन्ने जनविश्वास रहेकाले पनि उनी परिवारसँग रमाइलो गर्ने सोचमा रहेको बताउँछन्। ‘मैले परिवारलाई उपहार र आफूलाई नयाँ लुगा पनि किनिसकेको छु,’ उनले हास्दै सुनाए।

नेपाल मन्डलमा भने चैत मसान्तमा बिस्केटको लिंगोलाई उठाएर भोलिपल्ट सोही लिंगोलाई ढालेर नयाँ वर्ष मनाउने प्रचलन रहेको पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्। ‘नयाँ वर्ष विजय, स्वतन्त्रताको रूपमा वि.सं.पछि मनाइँदै आइएको हो,’ उनले भने।

राष्ट्र र जनताको रक्षा होस् भनी कामना गरेर नयाँ वर्ष मनाइने उनले बताए। ‘२२ औ राज्य हुँदा, एक राज्यले अर्को राज्यलाई जित्दा विजय उत्सवको रूपमा मनाउन सुरु गरिएको हो,’ उनले भने।

समय परिवर्तनसँगै पर्व मनाउने तरिका र चलनमा पनि फरक आएको उनको भनाइ छ। उनका अनुसार पहिले परिवारसँग मात्रै सीमित रहेर नयाँ वर्ष मनाइन्थ्यो। अहिले भने साथीभाइ, इष्टमित्रलगायतसँग पनि नयाँ वर्ष मनाइन्छ।

नयाँ वर्षमा मौसमले साथ दिने र सफा हिमाल खुलेको मनोरम दृश्य अवलोकन गर्ने माहोल हुने नेपाल अल्र्टनेटिभ ट्रेकका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङ बताउँछन्। पछिल्लो समय नयाँ वर्ष मनाउने तरिकामा निकै फरक भएको उनले अनुभव गरेका छन्। ‘नेपालीमा घुम्नु पर्छ भन्ने सोचको विकास भएको छ,’ उनले भने, ‘सके विदेश नसके स्वदेशभित्रै पनि घुम्ने मान्छे बढेका छन् ।’ यसले आन्तरिक पर्यटनमा टेवा पुगेको उनले बताए।

बच्चा, युवा पुस्ता, अधवैशैलगायत हरेक उमेर समूहको घुम्ने समय हुन्छ। युवापुस्ता ट्रेकिङ, हाइकिङ गर्न रुचाउँछन् भने अधवैशै तीर्थ यात्रामा रमाउँछन्।

नेपालीले इभ र नयाँ वर्षको दिन घुम्नकै लागि छुट्याउने गरेको उनी बताउँछन्। ‘अन्य समयमा व्यस्त हुने र नयाँ वर्षको दिन समय मिलाएर नयाँ ठाउँमा घुम्न जाने, नयाँ समुदायको खाना स्वाद लिन रुचाउने, नाचगानमा रम्न चाहनेको संख्या निकै बढेको छ,’ उनी भन्छन्। विदेशमा घुम्न जाने नेपालीको संख्याभन्दा स्वदेशमा घुम्नेको संख्या बढी भएको उनले बताए

प्रकाशित: १ वैशाख २०७५ ०२:०० शनिबार

फेरिँदै वर्षको चलन