कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ माथि हालै परिचर्चा कार्यक्रम भएको छ।
नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाएका साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ छैटाैं कविता कृति हो। पाँच मुक्तकसङ्ग्रह, हाइकुसङ्ग्रह, कथासङ्ग्रह सहित उनका ३८ कृति प्रकाशन भएका छन्।
कार्यक्रम शैली साहित्य समाज नेपालका अध्यक्ष मन्जुश्री प्रधानको सभापतित्वमा भएको थियो। पुस्तकबारे विश्लेषण सहितभाव बिम्व,अनुप्रास, भाषाशैली, परिवेश आदिबारे निकै सुन्दर ढंगले विशिष्ट साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गरेका थिए। लाकोजूका कविताहरू हृदयस्पर्शी रहेको विचार उनले पाेखे। साथै कृति र कृतिकारका सबै पक्षको समालोचनासहित उनको सरल लेखनशैलीबारे छुट्टै पहिचान भएको कुरा स्पष्ट पार्दै कृतिकारलाई शुभकामना व्यक्त गरेका थिए।
कृतिको समीक्षा गर्दै डा. ज्ञाननिष्ठ ज्ञवालीले घामको पर्खाल सबैलाई न्यानो प्रदान गर्ने कृति भएको भाव पोखे। कवि लाकोजूले आफूले कविता लेख्न थालेको लामो समय भए पनि कविता सिक्दै गरेको बताए।
उक्त कार्यक्रममा कवि ध्रुवराज थापा, राजुबाबु श्रेष्ठ सागर, शैलेन्द्र श्रेष्ठले घामको पर्खालबाट कविता वाचन गरेका थिए।
कार्यक्रममा साहित्यकार गोपाल पौडेल मण्डने, भीमप्रसाद काफ्ले, डा. छायादत्त न्यौपाने, मोतिराज बम, संगिता ठाकुर, विजयराम कर्माचार्य, रश्मि रिमाल, रुद्र अधिकारी, दिल्लीप्रसाद मुलटिउन, मानन्धर अभागी लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा शैली साहित्य समाजले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत कवि लाकोजूलाई अभिनन्दन गरेको थियो। कवि लाकोजूका कविता, कथा, मुक्तक, गीत, सांस्कृतिक निबन्ध, संस्मरण, अनुवाद गरी तीन दर्जन कृति प्रकाशित छन्। उत्तिकै सङ्ख्यामा उनका सम्पादित कृति छन्।
प्रकाशित: १४ पुस २०८१ ११:१८ आइतबार