कला

सहारा

लघुकथा

१) प्रेम

‘हेर्नुस् न। हाम्रो कुरा मात्रै भएको निकै दिन भएछ।’

‘अनि के भो त?’

‘अब फेसबूकमा मात्रै कति गफ गर्ने बरु एकपटक भेटौं न।’ कलाले प्रस्ताव राखी।

‘त्यसो भए तिमी पठाओमा आऊ न त।’ जीवनले सम्झाए।

उनीहरूले ठाउँ तोके। समय मिलाए।

कलाले होटलमा हात समात्दै प्यारपूर्वक भनिन्, ‘जीवन! हजुरको घरपरिवारले थाह पाए भने हजुर के गर्नुहुन्छ?’

- सुखदुःख सुनाउने पनि एउटा साथी चाहिंदो रहेछ। यसमा मेरो छुट्टै माया छ। के मैले तिमीलाई माया गर्नु पाप हो र?’ जीवनले प्रतिप्रश्न गरे।

‘हामी दुवैका बालबच्चा छन्। घरमा आवश्यकता पूरा भएकै छ तर कसैले कुरा काटे भने के गर्ने होला भनेको नि!’

चियाको चुस्की मार्दै थिए उनीहरू। त्यही होटलको पल्लो कुनामा जीवनकी श्रीमती अर्को एकजनासित मस्किंदै गरेको देखिई।

२) सहारा

‘मैना, आज बुबालाई अलि सञ्चाे छैन, राम्रोसँग हेरविचार गर है’ भन्दै सन्तोष कार्यालय गए। घरधन्दा सकेर उनी फेसबूक हेर्न लागिन्।  विरामी ससुरा बा बिहानै खुवाउनुपर्ने औषधि खुवाउन बिर्सेछु भन्दै मैना बुबालाई खाजा र औषधि खुवाइन्।

सन्तोष कार्यालयबाट घर आउने बेलामा गाडीमा एकजना आमाले ‘बाबू, मलाई छोराबुहारीले घरबाट निकाले। मेरो जाने ठाउँ कतै भएन। आज एक दिन बास दिनुस् न बाबु’ भनेर सन्तोषको पछिपछि लागिन्। सन्तोषलाई पनि माया लागेर आयो र घरमा लिएर आए।

मैनाले बुढासँग को आएको होला भन्दै हेरिरहिन्। सन्तोषले सबै कुरा बताए। खाना खाने बेलामा ससुरा बा र आमा दुवै जनालाई सँगै राखेर खाना दिइन्। खाना खाएर दुवै गफ गर्दै आआफ्ना दुःखहरू सुनाउन थाले। सन्तोष पनि बुबाको छेउमा गएर बसे।

सन्तोषका बुबाले भने, ‘छोरा, तँलाई धेरैधेरै धन्यवाद। म यी दुःखी आमासँगै मिलेर बस्न चाहन्छु।’

सन्तोषले खुशी हुँदै भने, ‘दुवै जना खुसी हुनुहुन्छ भने हजुरहरू बाँचुञ्जेल खुशी हुनुहोला र एक अर्कालाई खुशी राख्नुहोला, बधाई छ।’

यति भनेर सन्तोषले एक अर्काका हातमा हात राखिदिए।

- कल्पना भण्डारी

प्रकाशित: १३ पुस २०८१ १३:१५ शनिबार

# Laghukatha # Poem # Niyatra