कला

भोको पेट नाङ्गो आङलाई के राष्ट्रियता, विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे!

पाँच मुक्तक

१) मुक्तक

कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,

अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे।

भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता!

विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।

२) मुक्तक

न बिजगणितका सूत्रले काम दियो जीवनमा,

न नाफाको नियमले नै दाम दियो जीवनमा।

पढाइ एउटा, गराइ र भोगाइ अर्कै रहिरह्यो,

न चिनाको फलादेशले माम दियो जीवनमा।

३) मुक्तक

सम्म बाटोमा नि ठेस लाग्न सक्छ,

मीठो खानामा नि केश लाग्न सक्छ।

खराब भनी दोष नलगाऊ कसैलाई,

फालेको ढुंगा नि बेस लाग्न सक्छ।

४) मुक्तक

बादल लाग्दा घाम पनि उघेँ जस्तो लाग्ला,

धनीलाई त सुनहिरा पनि सस्तो लाग्ला।

अरूलाई त गाली गर्छौ होच्याउँछौ अति,

त्यही ठाउँमा तिमी भए, सोच कस्तो लाग्ला।

५) मुक्तक

मेरो समस्या उसले थाहा पाएको छ,

त्यसैले उसमा खुशीयाली छाएको छ।

बोलीमा मलम व्यवहारमा काँडा बोकी,

घरीघरी मेरो समीपमा उ आएको छ।

प्रकाशित: १३ पुस २०८१ १२:२६ शनिबार

# Muktak # Laghukatha # Kabita # Niyatra