कला

चालिस वर्षपछि टिकनीका ओखलमा चिउरा

धराेहर

कुनै बेला चिउरा भन्नेबित्तिकै भक्तपुरको टिकनी प्रख्यात थियो। यहाँ रहेका ३२ वटा घरको दैनिक काम चिउरा कुटेर नजिकको बजारमा बेच्नु थियो। यसैबाट उनीहरूको गुजारा चल्थ्यो। तर आधुनिक मेसिनको आगमनसँगै चिउरा कुट्ने त्यो परम्परागत तरिका हराउँदै गयो। झन्डै चार दशकदेखि चिउरा कुट्न रोकिएको यो स्थानमा शुक्रबार बिहानबाट भने ओखलमा घान लागेको छ।

‘चालिस वर्षपछि पहिलोचोटि फेरि चिउरा कुट्दैछु,’ शुक्रबारबाट सुरु तीन दिने मध्यपुर महोत्सवका अवसरमा टिकनीमा चिउरा कुट्दै गरेकी ६५ वर्षीय दुर्गा राजवाहकले भनिन्, ‘ओखलमा लुसीले चिउरा कुट्दा निकै रमाइलो लागेको छ।’

उति बेला राति दुई बजेदेखि नै उठेर चिउरा कुट्ने गरेको अनुभव सुनाउँदै उनले अहिले त्यो पुरानो समयको याद आएको बताइन्।

उनीसँगै रहेकी ७५ वर्षीया झुलु राजवाहकले पनि विगतको याद ताजा भएको सुनाइन्। हाँडीमा धान भुट्दै गरेकी उनले महोत्सवका कारण बुढेसकालमा फेरि खुसी मिलेको सुनाइन्। ‘चिउराको काम हाम्रो जीवन थियो,’ उनी भन्छिन्, ‘दिनरात चिउराको तयारीमै बित्थ्यो।’

आधुनिक मेसिनको आगमनसँगै टिकनीको चिउरा कुट्ने चलन हराएको ६१ वर्षीय माहिला राजवाहकले बताए। चिउरा टिकनीको जीवन भएको बताउँदै यसलाई निरन्तरता दिन सके खुसी मिल्ने उनको बुझाइ छ। ‘अझै पनि हरेक घरका कोठामा पुराना लुसी र ओखल भेटिन्छन्,’ उनले भने, ‘हामीलाई प्रोत्साहनको खाँचो छ।’

विगत ३५ वर्षदेखि लोप भएको टिकनी बजीको इतिहास किताबमा मात्रै सीमित भएकाले यसलाई जीवन्त पार्न महोत्सवमार्फत टिकनी बजीको पुस्तान्तरण गरिने मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बताए।

युवामा यो परम्परालाई पुस्तान्तरण गर्न महोत्सवमा प्रदर्शन गरेका छौं,’ उनले भने, ‘मध्यपुरको टिकनी परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधि र उत्पादनलाई जीवन्तता प्रदान गरिने छ।’ 

जीवनका दुई पाटा

महोत्सवको अर्को आकर्षण ६ वर्षीया बालकुमारी एभरिना बज्राचार्य र १०३ वर्षीया मोतीमायाको एउटै मञ्चमा रहेको उपस्थितिले दिएको छ। उदाउँदै गरेको र अस्ताउँदै गरेको सूर्यमा देखिएको सुन्दरताले धेरैको ध्यान खिचेको छ। ६ वर्षीया एभरिना नर्सरी, युकेजी पार गर्दै कक्षा एकमा पुगेकी छिन्। एक सय तीन वर्षकी मोतीमाया जीवनमा अनेकौं चरण पार गरेर सुन्दरतम क्षणमा पुगेकी छिन्।

एभरिनाको अनुहारमा देखिएको लालित्य र मोतीमायाको अनुहारमा देखिएको गम्भीरताले सिङ्गो नगर चम्केको छ। उनीहरूको मुस्कानसँगै तस्बिर खिच्नेको ताँती लागेको छ। ‘मैले जीवनको दुई रूपलाई एकै ठाउँमा देख्न पाएँ,’ विजय श्रेष्ठले भने, ‘मलाई दुवै जीवन निकै सुन्दर र आकर्षक लागेको छ।’

सुनको झ्याल, सब्जीको स्वागतद्वार

मान्छेले के देखाउँछ ? यसको सहज उत्तर छ– जे ऊसँग छ। मध्यपुरको अर्को आकर्षक ठाउँ नगदेशका किसानले भने सागसब्जीको स्वागतद्वार बनाएर अवलोकनकर्ताको ध्यान खिचेका छन्। बारीमा फलेका तरकारीबाट सुसज्जित उक्त ढोकाले नगदेशको सान बढाएको छ।

उक्त ढोकाबाट नगरमा छिर्दा किसानहरू आफ्नो काममा व्यस्त देखिएका थिए। आँगनैबाट बाजागाजासहितको टोली जाँदा पनि किसान आफ्नै काममा व्यस्त देखिन्थे। ‘हाम्रो काम नै हाम्रो उत्सव हो,’ सागको मुठा बनाउँदै गरेकी रत्नकेशरी बादेले भनिन्, ‘हाम्रो समग्र जीवन हेर्ने हो भने यही महोत्सवमा आउनुहोस्।’

त्यस्तै नगदेशमा रहेको सुनको झ्यालले पनि महोत्सवको आकर्षण बढाएको छ। मध्यपुर थिमि–७ नगदेश अवस्थित ऐतिहासिक सिद्धिगणेश घरमा राखिएको सुनको झ्याल निकै आकर्षक रहेको छ। उक्त झ्याल करिब तीन सय वर्ष पहिला निर्माण गरिएको स्थानीयको  अनुमान छ।

महोत्सवको रौनक

भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीन दिने मध्यपुर महोत्सव सुरु भएको छ। मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म मध्यपुर नगरका विभिन्न स्थानमा सञ्चालन भएको छ। हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ सुरु महोत्सवले सर्वसाधारण रमाएका छन्।

महोत्सवमा मध्यपुर थिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेसा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको छ। महोत्सवका क्रममा थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुँदै टिकनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रलाई प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिएको छ।

स्थानीय कला, संस्कृति, मौलिक पेसा, परिकार र उत्पादन प्रवर्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यका रूपमा परिचित गराउने र यहाँका ऐतिहासिक जात्रा तथा पर्वबारे जानकारी प्रदान गर्दै ती समयमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य महोत्सवले राखेको नगरपालिकाले जनाएको छ। महोत्सवका कार्यक्रमहरू शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोडे र टिकनीको नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा सञ्चालन हुनेछन्।

महोत्सवमा विभिन्न २५ प्रकारका परम्परागत नाच प्रस्तुत गरिएका छन्। नाचमा अष्टमातृका, इन्द्रअप्सरा, नागचा, लाखे, मयुर, महाकाली आदिको प्रदर्शन हुनेछ। धिमे बाजा, गुँला बाजा, बाँसुरी बाजा र दाफा भजनलगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरूले नगरलाई गुञ्जायमान बनाएको छ।

नेवार संस्कार र भेषभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनीले अवलोकनकर्ताको मन लोभाएको छ। त्यस्तै नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद र दाफा भजनसहितका भजनकीर्तन प्रदर्शन महोत्सवमा आकर्षक पक्ष रहेका छन्।

महोत्सवमा विभिन्न ५० खानाका स्टल र पुस्तक प्रदर्शनीका चार स्टल रहेका छन्। परम्परागत नृत्य नियाल्दै बाँसुरीको धुनमा मौलिक नेवारी खाजाको स्वाद लिनेको भिड जम्मा भएको छ।

यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो। साथै वः महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता र भजन गायनजस्ता कार्यक्रमले नगरलाई आन्तरिक र बाह्य पर्यटनमा आकर्षणको केन्द्र बनाउँदै आएको अनुभव नगरपालिकाको छ। नगरपालिकाले महोत्सवलाई जीवन्त र दिगो पर्यटनमुखी बनाउन स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गरिरहेको जनाएको छ।

महोत्सवका थप आकर्षणमा भगवान् गौतम बुद्धको अस्तु धातु, चपाचोको पाटी, विहार र नग देशको बुद्ध विहारमा प्रदर्शन गरिएको छ। त्यस्तै थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सकिने छ। जिब्रो छेड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने छ।

त्यसैगरी लिच्छवीकलादेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटाको करिब पाँच फिट अग्लो सु कुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकनबजीको जीवन्त प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकार आदि महोत्सवमा प्रदर्शन गरिएको छ।  

प्रकाशित: १३ पुस २०८१ ०९:२४ शनिबार

# Chiura in Okhal Tikni after forty years