१) मुक्तक
मीठो मुस्कुराउने कला, टक्करबाट सिकेको हुँ,
मैदानको महिमा मैले, अक्करबाट सिकेको हुँ।
बुटाबगरमा भेटिने गर्छन्, सिकाउने गुरू तर,
होस सम्हाली हिंड्नचाहिं, ठक्करबाट सिकेको हुँ।
२) मुक्तक
पर्यो टर्यो,पर्यो टर्यो, यस्तै हुँदै जान्छ,
फल्यो झर्यो,फल्यो झर्यो, यस्तै हुँदै जान्छ।
प्रकृतिको नियम यही, चक्र घुम्छ यस्तै सधैं,
टिप्यो छर्यो, टिप्यो छर्यो यस्तै हुँदै जान्छ।
३) मुक्तक
ताना एक बोकिंदैन, अनेक बोकिन्छ के गर्नु,
कहाँकहाँबाट आएर केके ठोकिन्छ के गर्नु।
छरलबरल पारेर बोकिने यो खुद्रे जिम्मेवारीले,
मासु टोक्न खोज्दा जिब्रो मात्र टोकिन्छ के गर्नु!
४) मुक्तक
माटामुनि सडाउन खोज्नेको कमी थिएन,
छिर्के हानी लडाउन खोज्नेको कमी थिएन।
उम्रें,उठें विश्वास जगाएँ र त आज यहाँ छु,
होमको चरुझैं डढाउन खोज्नेको कमी थिएन।
५) मुक्तक
आँखैले देखेको कैयौं कुरा झुटो हुन्छ,
हरियो वृक्ष पनि शिशिर हुँदा ठुटो हुन्छ।
यति बुझ्नू,जगतमा चोखो वस्तु केही छैन,
धँगेराको रस पनि त माहुरीको जुठो हुन्छ।
प्रकाशित: ११ पुस २०८१ १३:०७ बिहीबार