निबन्धकार उद्धव सापकोटाको निबन्धसंग्रह ‘संस्मरणमा जीवनयात्रा’ को लोकार्पण भएको छ।
बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे।
कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार र भावी सन्ततिलाई लेखकबारे जानकारी राख्न सक्ने कृति आएको भन्दै खुशी व्यक्त गरे। ‘सेनाले राजनीति बुझेको हुन्छ तर राजनीति गर्दैन। सापकोटाले विभिन्न राजनीतिक सन्दर्भको तथ्यलाई स्पष्ट राख्नुभएकाले यो संकेत गर्छ’ भन्दै उद्धव सापकोटा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे। उनले कृतिले नेपाली सेनाबारे धेरै कुरा उजागर गरेको पनि बताए।
कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ कवि हरि अधिकारीले उद्धव सापकोटा लेखनीमा इमानदार भएको आफूले पाएको बताए। अधिकारीले निबन्धकार सापकोटालाई सामाजिक क्षेत्रमा लगनशील र सकारात्मक सोच भएका व्यक्तिको रूपमा उनको चर्चा गरे।
यसैगरी अर्का वक्ता समालाेचक डा. शेखरकुमार श्रेष्ठले कृतिको सार बताउँदै जन्मकालदेखि वर्तमान समयसम्म कृतिकार आइपुग्दा देखे, भोगेका र गरेका गतिविधिबारे कृतिले जानकारी दिएको बताए। उनले जीवनको उर्वरमय र महत्त्वपूर्ण घुम्तीहरूलाई बढी जोड दिएको कृति निबन्ध पनि हो र संस्मरण पनि हो भन्दै कृतिले धेरै कुराको जानकारी दिएको बताए।
रचनागर्भबारे लेखकीय मन्तव्य राखेका लेखकले सबैप्रति आभार व्यक्त गरे।
सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘पुस्तक निकाल्नु भनेको छोराले घर बनाउनु र छोरी मान्छेले सन्तान जन्माएको जस्तो हुनुपर्नेमा वर्तमान समयमा त्यस्तो भएको छैन। साहित्य जस्तो क्षेत्रमा अराजकता र नराम्रा पक्षहरू हावी भएको छ’ भन्दै चिन्ता व्यक्त गरे।
उनले ‘चेक काटेर लेखक बन्नेहरू पनि छन् तर तिनमा सिर्जनशीलता हुँदैन। साहित्य भनेको साधना हो। हतार गर्नेहरू साहित्यमा लाग्नु हुँदैन। त्यस्ताले त दौडमा भाग लिनुपर्छ भन्दै संस्मरण लेख्नु भनेको इमानदारी लेखन हो। आफूलाई सार्वजनिक गर्नु हो। कमीकमजोरी नलुकाई लेख्नु हो’ भन्दै निबन्धकार सापकोटा इमानदार लेखकको रूपमा आफूले पाएको बताए।
स्रष्टाका गुरु लेखनाथ हुमागाईले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, कवि एवं वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी, सापकोटा कल्याण केन्द्र नेपालका सभापति डा. कविन्द्रप्रसाद शर्मा सापकोटा लगायतका अतिथिहरू थिए।
समाजका सदस्य साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा मञ्चासिन अतिथिहरूलाई समाजकी कोषाध्यक्ष तारा सुवेदीले खादा तथा मालाले स्वागत गरेकी थिइन्।
उक्त कृति निबन्धकार सापकाेटाले नै प्रकाशनमा ल्याएका हुन्।
प्रकाशित: १० पुस २०८१ १३:०५ बुधबार