कला

फूल

कविता

छ याम फुल्ने फुल मस्तसँग

छ बैश झुल्ने झुल मस्तसँग

हौ, फूल जातै छर है पराग

दुर्गन्ध मास्दै जग पार साफ। (१)

सत्ता छ तिम्रै डर पीर छैन

छौ वागभित्रै अरुले छुँदैन

पाईरहेछौ मल गोड पानी

छौ है बनेकी युगकी निसानी।(२)

देख्दै छु चारैतिर प्रेम वर्षा

भेट्दैछु मीठो युगमाझ चर्चा

दागै नभाकी अति रूप खानी

फूलै बनोस् यो पनि जिन्दगानी।(३)

मौका यहीं हो सपना सपार्ने

ढपक्क फुल्दै पहिचान राख्ने

सङ्घर्षका ती सब दुःख भुल्दै

छ मार्ग खुल्ला कुद घाम जस्तै। (४)

सधै वसन्ती दिन आउदैन

सधै गुलाबी रङ छाउदैन

काटेर कोही लिनसक्छ डालो

नयाँ उदाए दिनुपर्छ पालो।(५)

- यम रेग्मी

प्रकाशित: ८ पुस २०८१ ११:४५ सोमबार

# Poem # Story