कला

सीताको ‘जर्नी अफ फ्रेट्स’

काठमाडौं – सितारवादक सीता मैया राजचलले सितारका धुन संग्रहित नयाँ एल्बम ‘जर्नी अफ फ्रेट्स’ श्रोतामाझ ल्याएकी छन्। सितारका धुनकै तीन एल्बम बजारमा ल्याइसकेकी सीताको नयाँ एल्बममा आठ धुन छन्।

एल्बममा ‘वर्षा’, ‘द जर्नी’, ‘नटी माइण्ड’, ‘रोज गार्डेन’, ‘स्टेला अन ड्रिम’, ‘रि युनियन’, ‘मिष्ट्री लभ’ र ‘द बाउन्डलेस फ्लाइट’ धुन संग्रहित छन्। सीताले नयाँ वर्षलाई लक्षित गर्दै एल्बममा रहेको ‘रोज गार्डेन’को भिडियो पनि सार्वजनिक गरेकी छिन। भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवालको अभिनय छ।

प्रकाश तुलाधरको सम्पादन र बुद्ध थापाको छायांकन रहेको भिडियोमा निकेश खड्काको निर्देशन छ। प्रतिमा थापाले निर्माण गरेको गीतमा गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुंगामा थोमस बर्ची छन्।

ललितकला क्याम्पसमा ६ वर्ष बढी समय अध्यापन गराएकी सीता ‘संगीत थेरापी’मा पनि सक्रिय छिन्। २०५४ सालबाट स्टुडियोमा सितार बजाउन शुरु गरेकी सीताले सन् २००४ मा ‘परम्परा’ र सन् २०१२ मा ‘टकिङ स्ट्रिङस’ नाम सितार धुनका एल्बम बजारमा ल्याइसकेकी छन्। ‘मैले नेवारी, आधुनिक र पप गरि ६ गीतमा स्वर पनि दिईसकेकी छु। तर मलाइ सितार बादन नै राम्रो लाग्छ,’ उनले भनिन्, ‘म आफूलाई त्यसमै पाउँछु। पछिल्लो समय सितारवादन मार्फत नै जीविकोपार्जन त सहज छैन तर सितार नै जीवन बनिसकेको छ। त्यसैले धुन संग्रहित एल्बमलाई बजारमा ल्याएकी छु।’

प्रकाशित: ३० चैत्र २०७४ ०३:५९ शुक्रबार

सीताको जर्नी अफ फ्रेट्स