कला

भौतिकवाद र अध्यात्मवाद

निबन्ध

प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ। र, प्रत्यक व्यक्तिका लागि जीवनमा यस्तो आकांक्षा राख्नु स्वाभाविक पनि हो। तर केवल आकांक्षा राख्दैमा अथवा इच्छा गर्दैमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने चाहिं होइन। यसका लागि अथक प्रयास, परिश्रम र पुरुषार्थको पनि उत्ति नै आवश्यकता पर्दछ।

अब प्रश्न उठ्न सक्छ– उसो भए कसरी जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ त? कस्तो किसिमको प्रयास, परिश्रम अथवा पुरुषार्थबाट यी कुराहरू प्राप्त गर्न सकिन्छ त? अथवा भनौं कुन मार्ग अवलम्बन गर्नाले जीवनमा यी कुराहरू प्राप्त गर्न सकिन्छ त?

यी प्रश्नहरूको उत्तर खोजी गर्ने क्रममा मूलतः दुई प्रकारका विचार अथवा दृष्टिकोण बहस र छलफलमा आउने गर्दछन्। ती हुन् भौतिकवाद र अध्यात्मवाद। संक्षिप्त रूपमा भन्ने हो भने जुन व्यक्तिले आफूलाई अविनाशी आत्मा ठान्छ ऊ अध्यात्मवादी हो र जसले आफूलाई भौतिक देह अथवा शरीर ठान्छ ऊ भौतिकवादी हो।

यद्यपि यी दुवै पक्षबीच बेलाबखत बहस वा छलफल हुँदा एकले अर्कालाई गलत वा निरर्थक ठान्ने र आफ्नो पक्षलाई मात्र सही ठान्ने प्रवृत्ति पनि पाइन्छ। तर यथार्थता के हो भने यी दुवै एक अर्काका सहयोगी हुन् र परिपूरक हुन्। किनकि जीवनलाई सही र सन्तुलित रूपमा सञ्चालन गर्न अध्यात्मवाद र भौतिकवाद दुवैलाई हामीले सामञ्जस्य मिलाएर लैजानु आवश्यक हुन्छ।

सर्वप्रथम भौतिकवादकै सन्दर्भमा केही चर्चा गरौं। जस्तो कि हामी सबै प्रकारका सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू भौतिक शरीरकै माध्यमबाट सम्पन्न गर्दछौ। तसर्थ हामीले आफ्नो भौतिक शरीरको पनि उचित ख्याल राख्दै यसलाई स्वस्थ र तन्दुरुस्त अवस्थामा राख्नुपर्ने हुन्छ। यसका लागि हामीले योग, ध्यान, व्यायाम लगायत शरीरको आवश्यकता अनुरूप विभिन्न पौष्टिक तत्त्वयुक्त खाद्य पदार्थहरू नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ। किनकि शरीर अस्वस्थ भए अथवा कुनै प्रकारको रोगबाट ग्रस्त भए कुनै पनि व्यक्तिले आफ्नो सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू एकाग्र भएर गर्न सक्तैन। किनकि ऊ आफ्नो शारीरिक रोग वा पीडाबाट नै बेचैन भइरहेको हुन्छ। तसर्थ ती अध्यात्मवादीहरू जसले  ब्रम्ह सत्यम् जगत मिथ्या अर्थात् ईश्वर सत्य हो, बाँकी समस्त जगत झुठो हो भन्छ, त्यो सही मान्न सकिन्न। किनकि कुनै पनि व्यक्तिले यस भौतिक जगतको सहयोगबिना आफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउन सक्तैन। जब हाम्रो भौतिक तन र मन स्वस्थ रहन्छ तब नै हामी आफ्नो सामाजिक आध्यात्मिक कार्यहरू एकाग्र भएर सम्पन्न गर्न सक्तछौ।

अर्कोतर्फ अध्यात्मवादको उपेक्षा वा बेवास्ता गरी भौतिकवादको मात्र पछि लाग्नाले पनि जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न। हुन त कतिपय भौतिकवादी व्यक्तिले जीवनमा जति भौतिक उपलब्धि हसिल गर्न सकियो त्यति नै जीवन सुखी र सहज बनाउन सकिन्छ भन्ने धारणा राखेको पाइन्छ। र, सोही धारणाअनुरूप दिन र रात नभनी भौतिक उपलब्धिकैपछि कुदिरहेको पनि हामी देख्ने गर्दछौ। तर यस्तो धारणा जीवनको यथार्थतासँग मेल खाएको देखिंदैन।

के साँच्चै आज भौतिक विलासिताको मात्र पछि लाग्ने व्यक्ति वा मुलुकले वास्तविक खुशी प्राप्त गर्न सकिरहेको छ त? शान्तिको अनुभूति गर्न सकिरहेको छ त? पक्कै पनि छैन। बरु यस्तो भौतिक प्रगति उत्कर्षमा पुगेका मुलुकहरूमा अहिले नैतिक र सामाजिक मूल्यमान्यताहरू क्रमिक रूपमा खस्कदै गइरहेको छ।

उदाहरणका लागि युरोप, अमेरिका जस्ता विकसित मानिएका मुलुकहरूमा समेत अहिले मानसिक रोगीहरूको संख्या बढिरहेको छ। र, सोहीअनुरूप त्यहाँ आत्महत्याको दरमा समेत वृद्धि भइरहेको बताइएको छ।

भनिन्छ, अमेरिकामा मात्र प्रति एक हजार व्यक्तिमा एकजनाले आत्महत्या गर्ने र्गछन् र त्यहाँका अस्पतालहरूमा करीव ५० प्रतिशत शय्या मानसिक रोगीहरूकै लागि भनी छुट्याइएको हुन्छ।

त्यस्तै अर्को एक जानकारी अनुसार ७० प्रतिशत अमेरिकी युवाहरू कुनै न कुनै प्रकारबाट लागू औषधकाे दुर्व्यवसनमा फसेका छन्। पारिवारिक सम्बन्धको कुरा गर्ने हो भने अमेरिकाको औसत वैवाहिक जीवन अवधि भनेको ४/५ वर्षको मात्र हुन्छ। अर्थात् त्यहाँ सम्बन्धविच्छेद र पुनर्विवाह जस्ता घटनाहरू सामान्य रूपमा हुने गर्दछन्। जसले गर्दा त्यहाँ पारिवारिक र सामाजिक मूल्यमान्यताका संरचनाहरू पनि टुट्दै र भत्कदै गइरहेका छन्।

अवश्य पनि बढ्दो भौतिकवादी प्रवृत्ति र विलासीतापूर्ण जीवन पद्धतिकै कारण त्यहाँ यस किसिमका मनोसामाजिक विसंगतिहरू बढिरहेका हुन् भन्न सकिन्छ। यसबाट के स्पष्ट हुन्छ भने भौतिक उपलब्धिको मात्र पछि लागेर जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न। बरु यसबाट अनेकन् प्रकारका लोभ, लालच र इच्छा-आकांक्षाहरूले मानव मनलाई गाँजिरहेको हुन्छ, अस्थीर बनाइरहेको हुन्छ।

वास्तवमा अध्यात्मवादको अभाव अथवा उपेक्षाकै कारण हाम्रो मनमस्तिष्क यति प्रदूषित हुन पुगेको छ कि यसबाट हाम्रो भौतिक क्षेत्रमा भएको उपलब्धि समेत उल्टो मानव समुदायका लागि अशान्तिको कारण बन्न पुगेको छ, असन्तुष्टिको जड बन्न पुगेको छ। त्यसैले आज विज्ञान र प्रविधिको विकासबाट मानिसले हासिल गरेको भौतिक उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव समुदायलाई पतनोन्मुख मार्गबाट जोगाउने हो भने आध्यात्मिक ज्ञान र चेतनाको विकास हुनु अति नै आवश्यक देखिन्छ।

अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन। वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारी उपलब्धिकै कारण सिंगो विश्व आज एउटा सानो गाउँमा परिणत हुन पुगेको छ।

हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौ। टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौ।

वातानुकूलित यन्त्रको आविष्कारले हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौ। विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदान प्रदान गर्न सक्ने भएका छौ।

केही दशक अघिसम्म मात्र एक ठाउँको चिट्ठी अर्को ठाउँमा पुग्न हप्तौ र महिनौ लाग्ने गर्थ्याे तर आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइवर आदि जस्ता संचार प्रविधिको विकासले हाम्रो सूचना र संचार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ। तर यति हुँदा हुँदै पनि हाम्रो मनमस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता मनोविकृतिहरूबाट टाढा रहन सकिरहेको छैन, मुक्त हुन सकिरहेको छैन।

यसरी आज एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव ह्रदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेको छ, क्षय हुँदै गइरहेको छ। परिणामस्वरूप भौतिक रूपमा आज विश्व साँघुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ। यसको प्रमुख कारण यही मान्न सकिन्छ कि हामीले भौतिक उपलव्धि र आध्यात्मिक उन्नयनलाई सामान्जस्य गरेर अघि बढ्न सकिरहेका छैनौ।

भौतिक विकास हुनु पक्कै पनि मानव समुदायका लागि खुशीको कुरा हो, गौरवको कुरा हो तर भौतिक स्रोत र साधनलाई सही रूपमा प्रयोग नगरी अथवा मानव हितमा उपयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ। फलस्वरुप आज मानिसहरु चिन्ता, तनाव, कुण्ठा एवम् अनेकन् प्रकारका शारीरिक मानसिक रोगहरुबाट ग्रसित हुन पुगेका छन्। अशान्ति, भय र निराशाको बादलले मानव मनमस्तिष्कलाई ढपक्क ढाकिदिएको छ।

निःसन्देह हामी आत्मा र शरीर दुवै हौ। किनकि जबसम्म हामी जीवित रहन्छौं आत्मा र शरीरको समायोजन गरेर नै हामी आफूलाई जीवात्मा भनेर सम्बोधन गर्दछौ। त्यसो त कुनै व्यक्तिको मृत्यु हुँदा पनि हामी त्यो व्यक्तिले संसार छाड्यो भन्ने गर्दछौ। उसको त्यो भौतिक शरीर हाम्रै अगाडि लडिरहेको हुन्छ। यसबाट पनि स्पष्ट हुन्छ हुन्छ, त्यहाँ दुई प्रमुख तत्व अन्तरनिहित हुन्छ। एउटा आत्मा र अर्को शरीर।

मानिसको मृत्युपछि आआफ्नो प्रचलित धर्म संस्कार अनुरूप उसको त्यो भौतिक शरीरको अन्त्यष्टि गरिन्छ तर उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्त्वका रूपमा स्मरण गरिन्छ। यस दृष्टिकोणबाट हेर्दा हामीले शरीर र आत्मा दुवैलाई समान रूपमा सम्मान र महत्त्व दिनुपर्ने हुन्छ।

मानव शरीर मूलतः पाँच भौतिक तत्वहरूबाट निर्माण भएको हुन्छ। जसलाई हामी पंच तत्त्व भन्ने गर्दछौं। ती पंच तत्त्व हुन् पृथ्वी, जल, अग्नि, वायु र आकाश। यी पाँचै तत्त्वसँग हाम्रो भौतिक शरीरको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। त्यसैले मानिसको मृत्युपछि अन्ततोगत्वा उसको भौतिक शरीर पनि यिनै पाँच तत्त्वसँग विलय वा समाहित हुन पुग्दछ। तर उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा लिइन्छ। यस प्रकार मानव शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हामी पाउँछौ।

तसर्थ संक्षेपमा हामी के भन्न सक्छौ भने मानव ह्रदयमा अन्तर्निहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने भौतिकवाद र अध्यात्मवादबीच उचित समन्वय र सन्तुलन कायम राख्दै दुवैलाई एक अर्काको परिपूरक र सहयोगीको रुपमा अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ।

 - राजेशमान केसी

प्रकाशित: ७ पुस २०८१ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App