कला

संस्कृतिकर्मी लाकोजूकाे ‘पनौतीका केही जात्रापर्वहरू’ लोकार्पण

साहित्यकार एवं संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूकाे ‘पनौतीका केही जात्रापर्वहरू’ को तेस्रो संस्करण लोकार्पण भएकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक कार्यक्रम बीच लाकोजूकाे ‘पनौतीका केही जात्रापर्वहरू’ लोकार्पण गरेका हुन्। उनले संस्कृति र प्रकृतिमा नेपाल सम्पन्न रहेकाले नेपाललाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरे। साथै सांस्कृतिक सम्पदालाई जीवन्त दिन लोकार्पित पुस्तक महत्त्वपूर्ण हुने उनको विश्वास छ।

पुस्तकमा पनौती नगरपालिकामा प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वबारे उल्लेख गरिएको छ। पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्रा, पनौतीका उल्लेखनीय केही पर्व, पनौतीका प्रचलित उल्लेखनीय केही नाच र हाल प्रचलनमा नरहेका केही जात्रापर्व गरी पाँच खण्डमा विभाजन गरिएको छ।

त्यस्तै समालोचक तथा चिन्तक मधु आचार्यले पुस्तकमा संस्कृति र जात्रापर्वको सामान्य वर्णन मात्र नरहेको त्यसको वैज्ञानिक विश्लेषण पनि रहेकाले पुस्तक पठनीय रहेको बताए।

कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष तथा पूर्व सांसद शिव हुमागाई, प्रदेश सभा साँसद तीर्थ लामा, शम्भुलाल श्रेष्ठ, विजय कर्माचार्य लगायतले मन्तव्य राखेका थिए। सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान समेत गरिएको थियो।

प्रकाशित: ७ पुस २०८१ १०:१२ आइतबार