कला

नृत्यशास्त्री थापालाई रमेश विकल वाङमय पुरस्कार

नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानले आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो।

यसैगरी मासिक एक सय अभियानलाई रमेश विकल-सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा रमेश विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो।

रमेश विकल कला-सङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ। पुरस्कृत व्यक्तित्वहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरूले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।

समारोहमा स्व. विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’ लाई सम्मान गरिएको थियो। त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति  प्रदान गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, प्रतिष्ठानका महासचिव विजय चालिसे लगायतले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलको योगदानको स्मरण गरेका थिए।

प्रकाशित: ७ पुस २०८१ ०९:३९ आइतबार