कला

गुलाबी सहरमाथि गह्रौँसुरको गजुर

नीयात्रा

जीवन कुनै योजनाको क्रमबद्ध दस्ताबेज होइन। यो त वस्तुतः एउटा संयोग हो। संयोगले पाइएको जीवनको कुनै एक पलमा संयोगवश प्राप्त अद्भूत अनुभूतिको सगरमाथा मापनीय हुँदैन। यस्तै संयोगको योगफलमा गह्रौँसुरको इतिप्रकृति (इतिहास+प्रकृति)सँग साक्षात्कार हुने अवसर मिलेको थियो। एउटा औपचारिक काम विशेषले नेपालकै एक मात्र गुलाबी सहर (पिङ्क सिटी) स्याङ्जाको वालिङ आएको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाइका जिल्ला संयोजक विश्वराज आचार्य सरसँग होटल गाउँबेसीमा भेट भयो। उहाँ कामविशेषले त्यतैतिर पुगेर तात्तातो अनुभव लिएर आउनुभएको रहेछ। केही औपचारिक भलाकुसारीपश्चात् उहाँले गह्रौँसुरको ऐतिहासिकता र त्यहाँबाट दृश्यपान गर्न सकिने प्राकृतिक सुन्दरताको बयान गर्नुभयो। साथै यहाँ आएपछि त्यस ठाउँ जान छुटाउन नहुने सल्लाह पनि दिनुभयो। यसले हामीमा त्यहाँ जाने उत्साह जगाइदियो।  

जीवनलाई औपचारिक कार्यक्रमको रुटिनभित्र समेट्न खोजिए पनि मनमा उत्साहको अथाह सागर उर्लेपछि त्यसलाई शमन गर्नैपर्ने हुन्छ। मान्छे बाह्य रूपाकृतिमा भिन्न देखिन्छ, यद्यपि उसको मन–प्रकृति खासै भिन्न हुँदैन रहेछ। हामी कोही पूर्वका, कोही पश्चिमका, कोही पहाड त कोही तराई साथै कोही त विदेशी पनि थियौं। जो जहाँका भए पनि सबैको मनमा उस्तै उत्साहको सागर उर्लेकै थियो। समुद्रपारिका जापानी सहयात्री याशिताका तानाकाको मनमा पनि उस्तै उत्साह उर्लिएको रहेछ। अनेक मन एक मनमा परिणत भएपछि जहाँ इच्छा त्यहाँ उपाय निस्कियो, ‘बिहान सबेरै गह्रोकोट प्रस्थान गर्ने र औपचारिक कार्यक्रमको नियमित समयमा फर्किसक्ने।’  

‘तर बिहान दश बजेसम्म त कुहिरोले आँखा उघार्दैन होला नि त!’ सञ्जीव गुप्ता सरले संशय व्यक्त गर्नुभयो। ‘याँ तल पो कुहिरो लाग्छ त, त्यो त कुहिरोमाथि हो, बादलमाथिको स्वर्गजस्तै छ, झन् रमाइलो हुन्छ, तल कुहिराको सेतो तहबिचमा पहाडका तरेली अनि माथि हिमालय शृङ्खला, गज्जब हुन्छ, आकाश पनि खुलेको हुन्छ। घाम झुल्किँदै पुग्नुस् न,’ विश्वराज सरले संशयको पर्दा मात्र हटाइदिनुभयो। हाम्रो योजनाको सुइँको थाहा पाउनेबित्तिकै विनोद न्यौपानेजीले बिहान सात बजेका लागि यातायातको व्यवस्था मिलाइदिनुभयो।

उचाइमा पुग्नु भनेको आफूलाई होइन, अरूलाई महत्व दिनु हो। आफू र आफ्नो स्वार्थ त्यागेर परार्थ सेवामा लागेपछि, वरिपरिकालाई होइन परपरकालाई महत्व दिन थालेपछि मान्छेले उचाइ प्राप्त गर्छ। गह्रौँसुर चुलीमा उक्लिएपछि हामीले पनि आफूलाई बिर्सियौं, नजिकका कुरा भुल्यौं अनि परपरका पर्वत–हिमालमा केन्द्रित भयौं।

वालिङ बजारदेखि दश किलोमिटरजति तेर्सोतेर्सो कतै कच्ची त कतै पक्की बाटो उचालिएपछि गह्रौँसुर चुली पुगियो। समुद्र सतहदेखि करिब १६ सय मिटरको उचाइको त्यस चुलीबाट आठ हजार मिटरमाथिका अन्नपूर्ण हिमशृङ्खलालाई नजिकैबाट नियाल्न सकिने रहेछ, पोखराबाट अलि पर देखिएको माछापुच्छ्रे हिमाल अझ नजिक आउने रहेछ। दामोदर न्यौपाने र गौरीशङ्कर पाण्डे सरले त अन्नपूर्ण हिमालको टुप्पा समाएर फोटो नै खिच्नुभयो। मैले पनि दायाँ हातले हिमालको टुप्पा समाएको नक्कल गरेँ, वसन्तराज ढकाल सरले मिलाएर तस्बिर खिचिदिनुभयो। हामीले त्यहींबाट हिमाल चुली स्पर्श गर्‍यौं, फोटो खिच्यौं।  

उचाइमा पुग्नु भनेको आफूलाई होइन, अरूलाई महत्व दिनु हो। आफू र आफ्नो स्वार्थ त्यागेर परार्थ सेवामा लागेपछि, आफ्ना वरिपरिका होइन परपरकालाई महत्व दिन थालेपछि मान्छेले उचाइ प्राप्त गर्छ। गह्रौँसुरको चुलीमा उक्लिएपछि हामीले पनि आफूलाई बिर्सियौं, नजिकका अन्य कुरा भुल्यौं अनि परपरका पर्वत हिमालमा केन्द्रित भयौं। हिमालय शृङ्खलालाई साथ दिएर बसेका महाभारत शृङ्खलाका तरेली पहाडहरूको दृश्य त्यस डाँडोको जुन सुरबाट हेरे पनि उस्तै सुन्दर देखिन्छन्, उस्तै मनमोहक छन्। तिनमा आफूले आफूलाई बिर्साउने जादु रहेछ।  

‘यहाँबाट स्याङ्जाको अधिकांश भाग, पाल्पा, कास्की, तनहुँ, पर्वतदेखि नवलपरासीसम्मका छिमेकी जिल्लाको दृश्यपान गर्न सकिन्छ।’ त्यहाँ स्थित मन्दिरका पुजारीले प्रस्ट्याइदिनुभयो। सूर्योदयको कलिलो किरणले सजिएको धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमालय चुचुराहरू काँधमा काँध मिलाएर बसेका थिए। एकातिर कालीगण्डकी र अर्कातिर आँधीखोलाका नागबेली दृश्यलाई भने कुहिराको सेतो सिरकले ढाकेको थियो। हामीले त्यसको दृश्यपान गर्न पाएनौं।  

मैले त्यसै स्थानका एक जना स्थानीयसँग यसको ऐतिहासिकताबारे सोधखोज गरेँ– ‘यो चौबिसे राज्यअन्तर्गतको एउटा महत्वपूर्ण राज्य हो। हाल स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८ र १० मा पर्ने यहाँको गह्रौँकोट दरबारको निर्माण १४३२ सालमा भएको इतिहास छ। दशरथ खाँडबाट सुरु भई जस खाँड, उत्तिम खाँड, जामुने खाँड, लमहिमती खाँड, कर्ण खाँड, उच्च खाँड, अजर खाँड, अधर खाँड, धुरु खाँड र अन्तिम स्वतन्त्र राजा भक्त खाँडसम्मले राज्य गरेका थिए। गोरखा राज्यको एकीकरण अभियानपछि यो विशाल नेपाल राज्यको अभिन्न अङ्ग बन्न पुग्यो,’ उनले एकै झमटमा खुलस्त पारिदिए।  

धार्मिक परिप्रेक्ष्यबाट पनि गह्रौँसुरको महत्व कम रहेको छैन। गह्रौँकोटमा राजा दशरथ खाँडले कालिकादेवीको मन्दिर निर्माण गरेका थिए। यो मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र पनि हो। त्यहाँ अहिले पनि भाकल गरेर बोका, परेवा आदिको बलि दिने गरिएको छ। त्यसै गरी यहाँ महाकाली, महासरस्वती, महालक्ष्मीको शक्तिस्वरूपमा मन्दिर परिसरको नवनिर्माण गरिएको छ। महालक्ष्मी मन्दिरका पुजारीका अनुसार ‘बलि दिइने कालिका थानमा मगर जातका र अन्य मन्दिरमा ब्राह्मण जातका पुजारी रहेका छन्।’ त्यसैले यो मगरात क्षेत्रको समन्वय एवम् आस्थाको केन्द्र हो। तसर्थ यहाँ बडादसैँका अवसरमा भक्तजनको ओइरो लाग्ने गरेको छ। यहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म एकादशी र चौथीबाहेकका दिन विशेष पूजा हुने गरेको कुरा त्यहाँका एक जना स्थानीयले जानकारी दिए। तसर्थ यो धार्मिक आस्थाको पनि अग्लो केन्द्र बनेर उचालिएको छ। त्यसैले यो ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक सम्पदाको त्रिवेणी हो।  

एक जना स्थानीयका अनुसार ‘हाल यस क्षेत्रको विकासमा वालिङ नगरपालिकाले विशेष ध्यान दिएको छ। यहाँ गह्रौँसुरदेवी क्षेत्रलाई समेटेर ९२ रोपनी क्षेत्रफलभित्र आकर्षक प्रवेशद्वार, दृश्यावलोकन केन्द्र, ऐतिहासिक महत्व झल्किने कोतघर, धर्मशाला, भगवली र कालिकादेवी मन्दिर, धर्मशाला, चमेनागृह, शौचालय, पक्की सडक, पदमार्ग, अतिथिगृह, खानेपानीलगायतका क्षेत्रमा लगानी गरिएको छ।’ हामीले पनि कोटपरिसरमा ढुङ्गा र टायल बिछ्याएर आगन्तुकहरूको मन आकर्षित गर्ने प्रयास पनि गरिएको देख्यौँ।

गह्रौँकोटको मन्दिर परिसरसम्म पुग्नका लागि पदमार्ग पनि निर्माण गरिएको रहेछ। हामी उकालो जाने क्रममा नै हाम्रा गाडी चालकले झन्डै पदमार्गको बाटामा गाडी लिएर गएनछन्। उनी पोखराका बासिन्दा भए पनि पहिले आइसकेको भन्दै बुज्रुक बन्न खोज्दा पदमार्गतिरको अनकन्टार जङ्गलमा पुर्‍याएर फर्काएका थिए। हुन त उनी पनि गलत थिएनन्। एक जना स्थानीयले त्यो त पुरानो बाटो हो, अहिले अर्को सजिलो बाटो यता छ भनी देखाइदिएका थिए। जे भए पनि उनले समयमा नै गन्तव्यमा पुर्‍याएका थिए। जीवन यस्तै स्मृति बनाउने अनि मेटाउने र फेरि अर्को बनाउने एउटा खेल रहेछ। उनले यस्तै खेल खेले। हामीले पनि एउटा स्मृति बिम्ब बोकेर ल्यायौं– ‘तलतिर गुलाबी रङले रङ्गिएका घरले भरिँदै गरेको वालिङ बजार अनि त्यसको माथि शिरमा गह्रौँकोटको गजुर!’

प्रकाशित: ६ पुस २०८१ ०८:५३ शनिबार

#अक्षर