कला

भारतमा कन्सर्ट नगर्ने दिलजीतकाे घाेषणा

भारतीय गायक तथा अभिनेता दिलजीत दोसांझ यति बेला आफ्नो म्यूजिकल टूर दिल-लुमिनाटीका कारण चर्चामा छन्। हालै उनले चण्डीगढमा प्रस्तुति दिएका थिए। शोको क्रममा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अब भारतमा प्रदर्शन नगर्ने बताएका छन्।

दिलजितले सरकारले भारतमा कन्सर्टको पूर्वाधार नबनाउँदासम्म भारतमा कन्सर्ट नगर्ने बताएका छन्। कन्सर्टका क्रममा उनले देशको कमजोर पूर्वाधारप्रति निराशा समेत व्यक्त गरे।

दिलजीतको शोमा मानिसहरूको ठूलो भीड जम्मा हुन्छ, जसका कारण धेरै पटक मानिसहरू दुर्घटनाको शिकार बन्ने गरेका छन् । जसबाट कन्सर्टलाई लक्षित गरी टीकाटिप्पणी गरिन्छ। साे क्रममा दिलजीतले भने, 'हामीलाई त्रास दिनुको सट्टा स्थान र व्यवस्थापन तय गर्नु जरुरी छ।'

उनले भनेका छन्, 'म सम्बन्धित अधिकारीहरूलाई भन्न चाहन्छु कि भारतमा लाइभ शोको लागि पूर्वाधार छैन। यो ठूलो कमाइको स्रोत हो, धेरै मानिसहरूले काम पाउँछन् र यहाँ काम गर्न सक्षम छन्।'

दिलजितका अनुसार उनको सेट लाइभ शो अनुसार डिजाइन गरिएको थिएन। सेट बीच भागमा बनाएर फ्यानहरू सेट वरिपरि भएकाे र भारतमा यस प्रकारकाे सेट नभएकाे उनकाे भनाइ छ।

केही समयअघि मात्र चण्डीगढमा दिलजीतकाे लाइभ शोका क्रममा दर्जनौं मानिसले बजारमा रहेका बिक्रेताहरूबाट रक्सी किनेर खुल्ला ठाउँमा पिए र प्रहरीहरू मूक दर्शक बनेर बसेका थिए। लाइभ शोमा सिनियरदेखि जुनियरसम्मका कर्मचारीहरू ड्युटीमा उपस्थित भए पनि उनीहरूलाई मदिरा सेवन गर्न कसैले रोकेका थिएनन्। जबकि खुला स्थानमा मदिरा सेवन गरेकोमा मुद्दा दर्ता गरी पक्राउ गर्ने कानुन रहेको छ।

प्रहरीको ध्यान दिलजीतको कार्यक्रममा मात्रै थियो। कार्यक्रम बाहिर मानिसहरूले नियम तोडिरहेका थिए। बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। लाइभ शोका क्रममा ठूलो आतिशबाजी भएको थियो भने स्टेजको पछाडि पेट्रोल पम्प थियो। वरिष्ठ प्रहरी अधिकारी स्वयं ड्युटीमा उपस्थित हुँदाकाे अवस्थामा कुनै दुर्घटना भयो भने जिम्मेवार को हुने भन्दै उनले प्रश्न गरे। एजेन्सी 

प्रकाशित: २ पुस २०८१ ११:०५ मंगलबार

#NagarikNews #Entertainment