कला

मस्त मुस्कानमा मुस्ताङ

नियात्रा

२०८१ साल कात्तिक १७ गते, चुक घोप्टिएजस्तो निष्पट्ट अँध्यारो रात। मादल बजेको कर्णमधुर आवाज वारिपारिका गाउँटोलसम्म फैलिएको थियो। त्यो एउटा रमाइलो अविस्मरणीय क्षण गाउँमा हामी भैलो खेलिरहेका हुन्छौं। बेलायतबाट भाइ लालबहादुर पनि चालिस वर्षको अन्तरालमा देउसीभैलो खेल्ने निश्चय गरेरै गाउँ आइपुगेको छ। आँगनको वरिपरि गाउँप्रतिको न्यानो प्रेम अलापेर फनफनी भैले टिमलाई फेरो मार्दै नाच्छ।

मानौं उसको मन तिहारको सयपत्रीजस्तै ढकमक्क फुलेको छ। गाउँको मुहार बदल्नका लागि कुनै प्रकारको सहयोगको हात फुकाउन केही कसर बाँकी राखेको छैन उसले। म अन्दाज गर्छु कि उसको हृदयको धरातलमा पुष्पवृष्टि भएको छ र ऊ स्वप्नवाटिकामा रमिरहेको छ। उसको अन्तस्थमा आभा पोखिएर यस धरतीमा जूनको पराग पोखिएको छ।

भैलो कार्यक्रम मजाले जमेको छ। अचानक मध्यरातमा मेरो फोनमा घन्टी बज्छ। म उठाउँछु अलिक पर गएर। ‘२० गते मुस्ताङ जानुपर्छ। १९ गते बेलुकासम्म इटहरीमा तयारी भएर आउनुपर्छ,’ छोरा सुनिलको सन्देश आउँछ।

वर्षौं अघिदेखिको हिमालपारिको भूगोल टेक्ने र अवलोकन गर्ने हतारोको हुटहुटीमा म अवश्य थिएँ नै तर त्यसले मूर्तरूप पाउने मेरा लोभी रहरहरू असरल्ल थिए। त्यहाँ मेरो पदार्पणको तात्पर्य यही थियो कि मुस्ताङ, अझ अपर मुस्ताङमा शक्ति राष्ट्रहरूको किन गिद्धे दृष्टि केन्द्रित हुन्छ ? यसको अर्थ के हामीले मध्यवर्ती मुलुकको भूमिकालाई कायम गर्न सकेका छैनौं ? यस्तै मामिलाले मलाई बारम्बार सताउने गथ्र्यो। यस्तो चिन्ता चैतमासको हुरीसँगै सल्किएको डढेलोले झैं मलाई सताइरहन्थ्यो। बेलाबेलामा पुष्टअपुष्ट धेरै हल्ला पनि कानमा पर्थे। यो अन्तर्पीडा मातृभूमिप्रति मेरो प्रदीप्त भएर आएको अगाध स्नेहको नतिजा थियो।

कात्तिक २० गतेको बिहान झिसमिस नहुँदै हामी पन्ध्र जनाको डफ्फा जुट्छौं धरानमा। किरण भाइको परिवार, पुनम र इशा, हामी चारजना, डम्बर बहिनी, काजीमान भाइ र शुशीला बहिनी, उनीहरू श्रीमान्–श्रीमती र चालक दुईजना। दुइटा गाडी लैजाने तय भएको छ। झन्डै पौने ६ बजे हामी चतराको पुलतिर रमाना हुन्छौं। मधेशतिरको बाटो नभई गाईघाट, सिन्धुली हुँदै सिधै हेटौंडा प्रवेश गर्ने यकिन भइसकेको छ। भिमान हुँदै जाँदा बाटोको दुरी निकै छोटो हुँदोरहेछ भन्ने हाम्रो अनुमान छ।

हेटौंडाको खानपिनपछि चितवनतर्फ हुइँकिन्छौं। साढे तीन बजे दासढुङ्गा पुगेर मदनआश्रितको सालिकसँग केही पोज तस्बिर मोबाइलमा कैद गर्छु र त्यहाँको भूबनावट अवलोकन गर्छु। त्यो दुर्घटना हुन नसक्ने स्थल हो भन्ने म निष्कर्षमा पुग्छु। बेलुकाको बसाइ पोखराको लेकसाइडमा हुन्छ। थाकेको हुनाले सबै आआफ्नो सुरमा हुन्छन्। मचाहिँ होटलको काउन्टरमै गएर एक प्याला जनजाति ठर्रा टुइँक्याइदिन्छु।

बिहान मिर्मिर फाट्नै लागेको छ। म होटलको छतमा निस्कन्छु। उत्तरतर्फ माछापुच्छ्रेले हेलो भनेर मलाई स्वागत गर्छ। उसलाई म आफ्नो अँगालोमा बेसरी कस्छु। सौभाग्यशृङ्गारमा सजित माछापुच्छ्रे मबाट लजाउँदै भाग्न खोज्छ तर उसलाई म आफ्नो काबुमै राख्न सफल हुन्छु। ऊसँग यो मेरो पहिलो प्रीति होइन, मात्र नवीकरण हो।

पोहोर त फेवामा डुँगा चढेर सँगै तैरेका थियौं र चिनोसमेत साटासाट गरेका थियौं। यसकारण पनि म उसलाई जीवनपर्यन्त मेरो हृदयको फाँटबाट गायब गर्न सक्दिनँ। पोखरासम्मको घुमघाम त मैले पहिले नै भ्याइसकेको हुनाले पोखरा कटेपछिका दृश्य कैद गर्ने छटपटी ममा थियो।

सात बजे हामी पोखरा छोडेर सुइखेत र घट्टेखोलाको किनार हुँदै पर्वतको कुश्मातर्फ हानिन्छौं। नागडाँडा काटिसकेर लुम्लेको सिरानबाट चर्चित गाउँ घान्द्रुक पनि हाम्रो सामुन्ने दृष्टिगोचर हुन्छ। घान्द्रुकमा बाक्लो गाउँ अथवा घना बस्ती भएको अनुभूति हुन्छ। ऊप्रति म श्रद्धाले शिर निहु¥याउँछु। लुम्लेको कृषि फार्म बुढेसकाल लागेर जीर्ण अवस्थामा देखिन्छ।

 नयाँ पुलमा केही चमेनागृहहरू छन्। यति मात्र होइन, चमेनागृहभित्र प्रेमिकाको आँसुजस्तै स्निग्ध लोकल ठर्रा पनि त हुनसक्छ भनेर म अनुमान लगाउँछु। जसलाई आधाजति मधुशालाको विशेषण दिँदा पनि नियमापत्ति नहुन सक्छ। त्यस झझल्को कारण तत्क्षणभर मेरो जिब्रो रसाएर उधुम मच्चाउँछ। त्यहाँबाट पर्वत र कास्कीका क्षेत्रहरू प्रशस्तै मात्रमा देखिन्छन्। त्यहाँ निर्माण भएका घरहरू हेर्दा बसाइँसराइपूर्वको जस्तो बेजोड छ जस्तो लाग्दैन। निकै रकम खर्चेर पक्की घरहरू निर्माण भएको देखिन्छ। त्यसतर्फको बसाइँसराइको गन्तव्य पोखरा नै रहेछ।

पर्वत क्षेत्र प्रवेश गर्नुअगावै मोदी खोलाको प्रभातकालीन चिसो हावाले श्रद्धापूर्वक हामीलाई स्पर्श गर्छ। त्यसले हामी सबैलाई आनन्दानुभूतिको अन्तरबोध हुन्छ। मोदीखोला जसले तीन–तीनओटा जलविद्युत् आयोजना मुलुकलाई सुम्पेको छ। उसलाई म विनीत भावले शिर झुकाउँछु। भित्री मनदेखि सलामी पनि अर्पण गर्छु। यो मुलुकलाई दिलैदेखि उसको कति भारी अनुकम्पा छ ?

पर्वतको कुस्मा, बागलुङ सदरमुकाम बागलुङ बजार र म्याग्दीको बेनी नटिकल माइलका हिसाबको दुरीले उस्तो टाढा छैन। सडक घुमाइफिराइ हुँदा पनि त्यतिविधि लामो दुरी छैन। कुस्मा र बागलुङ बजारलाई कालीगण्डकीले सीमाबन्धन गरेको छ। ती दुईवटा बजारको उचाइ थोरै तलमाथि छ।

कैयौं शताब्दीअघि कालीगण्डकी कुस्मा र बागलुङको उचाइमा बगेको हुनुपर्छ। एउटा लामो कालखण्डको अवधि खर्चेर नदीले दायाँबायाँको चट्टान खियाउने क्रममा आज कालीगण्डकीको सतह तल ओर्लेको छ। किनभने दुइटै सहरहरू चुनढुङ्गाको चट्टानमाथि अवस्थित छन्।

मालढुङ्गा पुगेपछि दुइटा वैकल्पिक बाटो, एउटा कालीगण्डकी नतरी सिधै पर्वत हुँदै म्याग्दीको बेनी प्रवेश गर्छ भने देव्रे लागेर कालीगण्डकीको पुल तरेर बागलुङ बजार हुँदै त्यो सडक पनि म्याग्दीको बेनीमा जोडिन्छ। बेनीमा कालीगण्डकी र अर्को खोलाको मिश्रण भएपछि जलप्रवाह ह्वात्तै बढेको छ।

गलेश्वर हुँदै राहुघाट तरेर उत्तर हानिएपछि मात्र देखिन्छ कालीगण्डकीको सक्कली अनुहार। बइसरीमा त कालीगण्डकी दुवैतर्फ असी डिग्रीको भिरबीचबाट खुम्चिएर बग्छ। नदी मुस्ताङको समरसम्म पुग्दा त उसलाई पाँचचोटि तर्नुपर्छ।

सम्मोहनीय रुप्से झरना सेतो फरियामा सिँगारपेटार गरेर उभिएकी छे। उसले लगाएको नूपुरको छमछमी आवाज गुञ्जायमान हुँदै हाम्रा कानहरूको अन्तरकुन्तरलाई छिचोल्दै भित्री तहसम्म पुग्छ। उसको सौभाग्यज्योतिको कैरन गरिनसक्नु छ। ऐँभात समेट्दै पुल्टुङबाजी खाइरहेको रुप्से झरनाको माधुर्यलाई देखेर अलिक तलतिर बग्ने कालीगण्डकी व्यर्थैमा रुप्सेको डाह गर्दै ठुस्केजस्तो भान पर्छ।

झरनाको विनोदप्रिय चेहराबाट आभा छचल्किएको छ। जसले भोकतिर्खा दुवैको क्षुधा मेटिदिएको छ। सेतो परिधानमा कर्णप्रिय धुन सुसेल्दै एउटा जीवित परम सुन्दरी बनेर अरूलाई स्तम्भित बनाउँदै निरन्तर बगिरहन्छे ऊ। तल नजिकैको कालीगण्डकीको पाउतिर। मानौं रूपवान् तन्नेरीहरूले उछिनपाछिन गर्दै पिछा गरिरहेका छन् उसलाई।

शालीन सुन्दरी रुप्सेलाई जदौ भन्छु म। घाँसा पुग्दा त कोणधारी वृक्षहरूको प्रभुत्व बढ्दै गएको छ। त्यहाँ भिरमा चट्टान फोरेर ठुला पानीको स्रोत उछिट्टिएर निसृत भएको छ। त्यो उदेकलाग्दो चमत्कार छ। त्यहाँ कतै ईश्वरको टुनाबाट जमेको रहस्य त होइन ? भन्ने शङ्का उत्पन्न हुन्छ। घाँसामा गाडीमा डिजेल भरेर हामी अगाडि बढ्ने सिलसिला जारी नै रहन्छ। ह्यासो कैह्वकु गाउँ, मिसीगाउँ हुँदै हामी पुग्छौं लेतेगाउँ, त्योभन्दा पहिले तर्छौं लेतेको पुल पानीको स्रोत त्यहाँ उल्लेखनीय छ।

लेतेदेखि मुन्तिर गालीगण्डकी पनि एउटी नव यौवनाजस्तो लाजले भुतुक्कै भएर होला मलाई ऊ गायबको भएको अनुभूत हुन्छ। तर लेते पार गरेपछि उसको चमत्कार अर्को चौडा छाति बनाएर निर्धक्क छ ऊ। उसले दायाँबायाँको किनार अकल्पनीय ढङ्गले विस्तार गरेको छ।

 अवश्य नै यहाँबाट पठार भूमिको सुरुवात भएको छ। यस्तो भूबनावट लेतेदेखि छुक्साङमाथि कालीगण्डकी तर्ने पुलसम्म एकनास छ। कालीगण्डकीले आफ्नो किनार विस्तार गरेकै कारणले जोमसोम एअरपोर्ट निर्माण सम्भव भएको छ। झिसमिसको आसपासमै जोमसोमलाई बिउँझाउँदै पोखराबाट हवाईजहाजले उडान भर्न थाल्छ। दश बजेपश्चात् हावाका कारण जहाजले जोमसोम उडान भर्न प्रायः सम्भव हुँदैन।

लेते कटेपछि बोक्सी नामको खोला छ। मलाई नाम सुन्दै खुल्दुली मच्चिएर खिन्नता बोध हुन्छ। निर्मम भएर आम नारीजगत्लाई अपमान हुने गरी कसरी यो नाम थमाइयो ? आखिर बोक्सा खोला राखेको भए के हुन्थ्यो ? टुकुचे गाउँ छिरेपछि मलाई कवि भूपी शेरचनको याद आउँछ, जुन गाउँमा उनी जन्मिएका थिए। स्वर्गवासी भूपीलाई मैले अन्तर्हृदयदेखि नै श्रद्धासुमनको भाव व्यक्त गर्छु। सडकको छेवैमा टुकुचे र टोगा मैत्रीद्वार निर्माण भएको छ। टोगा जापानको एउटा गाउँ। उनीहरू मित–मित। त्यो मैत्रीद्वार मेरो नजरमा उपस्थित भएपछि म पुलकित हुन्छु र श्रद्धाले शिर झुकाउँछु र गर्वले शिर उठाउँछु।

मार्फादेखि त पुरापुर कालीगण्डकीको दायाँबायाँ मास्तिरका भूभागहरूमा सामान्य बुट्यानहरू मात्र छन्। लेते, मार्फा, मिसी, घ्यो, छाकताङ र समरबाहेक सबै निर्जन। वरिपरि, कागबेनी र छुक्साङमा फापरको खेती देखिन्छ। केही बुट्यान भएका नाङ्गा पाखाहरूमा भेडा, च्याङ्ग्रा र नाउरका बथानबाहेक अरू जीवजनावर कहीं पनि दृष्टिगोचर हुँदैनन्।

सरासर समरतिर रमाना हुँदा त मार्फाको वास्तविक अनुहार सडकबाट अड्कलबाजी गर्न सकिँदैन तर मार्फाको भित्री बस्तीमा छिरिसकेपछि मलाई मेरो परिकल्पनाभन्दा बाहिरको जादुगरी दृश्यहरू देखिन्छन्। त्यहाँभित्रका गल्ली त काठमाडौं असनजस्तै व्यवस्थित होटलहरू, गल्लीहरू आकर्षक तवरबाट ढुङ्गाद्वारा बिछ्याइएको छ।

आन्तरिक र बाह्य पर्यटकहरूको घुँइचो, पाइला राख्ने ठाउँ छैन। जोडाजोडी र अन्यहरू बक्खु लगाएर फोटो खिच्न र टिकटक बनाउन व्यस्त र मस्त दुवै। हाम्रो भ्रमणदलका सदस्यहरू पदमबहादुर जुहारचनको स्याउको बगैंचामा अनुमति लिएर स्याउ टिप्न छिर्छौं। बगैंचामा स्याउको दृश्य अवलोकन गर्दा मनै परितृप्त।

स्याउ जोखेर दाम भुक्तान गर्दैगर्दा म सुटुक्कभित्र पसेर स्याउको तीनतलेमा वास बस्ने एक प्याला प्रेमरूपी रस घुट्क्याउँछु। त्यसपछि म जुहारचनको थोरै अन्तरवार्ता लिन्छु। जोमसोमदेखि अगाडि बढ्दै जाँदा नदीको दायाँबायाँका भिरहरूमा कालो चट्टान देखा पर्छ। यिनै कालो चट्टानबाट शताब्दीऔंसम्म कालीगण्डकीको पानी र बालुवाको घर्षणबाट शालिग्राम निर्माण भएको भन्ने मेरो निष्कर्ष छ।

एउटा लामो कालखण्डपछि त्यसले घुरिलो लोहोरोजस्तो आकार रूप लिन सकेको हुन सक्छ। यही तरिकाबाट कैयन् अवधिपछि खोला र नदी किनार देखिने घुरिलो ढुङ्गाहरू निर्माण हुने यस्तै तारतम्य मिलेर बनेको हुन सक्छ।

जोमसोममा रहेको रातको भोलिपल्ट म बिहानै एअरपोर्टको नजिकतिर पुगेको हुन्छु। नीलगिरि हिमालमा घामको झुल्काले प्रवेश गरेको छैन। झिसमिस भने टरिसकेको छ। त्यतिखेरै पोखराबाट तारा एअरले जोमसोममा उडान भरिसक्छ। त्यसपछि हामी लाग्छौं नीलगिरि भ्यु–प्वाइन्टतर्फ। हामी भ्यु–प्वाइन्टमा पुग्न समर्थ हुन्छौं।

अर्को समूहको गाडी बिचैमा रोकिन्छ। त्यहाँदेखि पारिपट्टि कोणधारी जंगलको बाहुल्य छ। त्यहाँमाथि नीलगिरि हिमाल प्रसन्नतासाथ ठिंङ उभिएको छ। ऊ मुस्कुराएको छ। झन्डै–झन्डै सुन्दरी किलयोपेट्राजस्तै। प्रकृति कसैको वशमा बन्दी हुँदैन। उसको आफ्नै नियम छ तर त्यहाँ हामीलाई भने संयोग जुरेको नै भन्नुपर्छ। अचानक हिमपहिरोको विस्फोटको आवाज तरङ्गित भएर गुञ्जायमान भएर आकाश धर्ती सबैतिर फैलिन्छ।

हिउँका ढिस्काहरू तलतिर बजारिँदै झर्ने क्रममा कुइरीमण्डल भएर आसपासका भागलाई खास्टोले छोपेजस्तै गरेर विस्तार हुन्छ। म यो मौकालाई चुक्न नदिई ती दृश्यहरूलाई आफ्नो क्यामरा हतार हतार बन्दी बनाउँछ। पछिल्लो टिम बीचैमा रोकिएको छ। दम्स्याइलो फाँटमा बुट्यानहरूमा अबिर छरेजस्तो छ। मानौं त्यो कुनै एउटा चित्रकारको कला हो।

हप्ताभरको सफरको रौनक गजब छ। म पनि रौसे मार्कामै पर्छु। धराने काजीमान भाइ पनि त्यस्तै। गाउँमा देउसी खेल्न नपाई गाउँ छोडेको रन्को। बन्दीपुर बजारमा गुरुङसेनी दिदीबहिनीहरू र गुरुङ दाजुभाइहरूसँग म, काजीमान र सुनिल धौ फुकाएर उनीहरूसँग नाच्छौं। फनफनी घुमेर नाच्ने हाम्रो औडाह पनि तृप्त हुन्छ। परन्तु रिमइहरूसँग मायाको चिनो साटासाट गर्ने साइत भने नजुरेको रहेछ।

जोमसोमबाट धौलागिरि र नीलगिरि दुइटैलाई एकैचोटि अँगालोमा कस्न सकिन्छ। उनीहरू यति निकट छन्। उनीहरू आपसमा प्रेमरसले विभोर भएर प्रत्येक दिन परिचुम्बन गर्दा हुन्। म आफू त्यसको परिद्रष्टा भएझैं लाग्छ। मलाई के छाँटा चल्यो कुन्नि ? उनीहरूलाई विवाहबन्धनमा जोडिदिनुपर्छ भन्ने म निष्कर्षमा पुग्छु। अनि दृढका साथ ती दुईलाई विश्वासका साथ उनीहरू लगनगाँठोमा बाँधिदिन्छु। ती दुवै वर र वधुमा परिणत भएको परिकल्पना गर्छु म। युगौंयुगसम्म तिनीहरू एउटै आँचलले बाँधिइरहने छन् भन्ने विश्वास मलाई अन्तर्बोध भएर आउँछ।

आखिरमा म ईश्वरसँग प्रार्थना गर्दै भन्छु नीलगिरि र धौलागिरि तिमीहरू यस लोकमा कहिल्यै पनि विधुर र विधवा नहुनू। मुस्ताङलाई छोड्ने बेला अथवा नरमाइलो बिछोडको क्षणमा म बर्बराउँछु। फेरि भेटौंला मुस्ताङ अहिलेलाई जदौ, टसिदले, फ्याफुल्ला, जोजोलोप्पा, झोर्ले र सेओ भन्दै म ऊसँग बिदा हुन्छु। म गाडीबाट म्याग्दीतर्फ रमाना भइरहँदा उसले वाइ भनेर उसले हातहरू हल्लाइरहेको मलाई प्रतीत हुन्छ।  

प्रकाशित: २९ मंसिर २०८१ ०५:५६ शनिबार

# Masta muskanma Mustang # Niyatra