कला

स्मृत अस्पताल

कथा

रात छिप्पिसकेको थियो। एक्कासि रातको एक बजे शरद् बिउँझियो। उसको शरीर असाध्यै गाह्रो भएको थियो। घरका परिवार सबै मस्त निन्द्रामा थिए। गाह्रो झन्झन् बढ्दै गयो। ओछ्यानमै ओल्टेकोल्टे फर्किंदै पीडा सहेर बसिरह्यो।

भोलिदेखि त उसलाई ज्वरो आउन थाल्यो। त्यो रात उसलाई ज्वरो आउन लागेर पो गाह्रो भएको थियो भन्ने कुरा बल्ल थाहा पायो। ज्वरो आएको तीन दिनपछि ऊ डाक्टरकहाँ जँचाउन  अस्पताल गयो।

डाक्टर– ‘तपाईंलाई के भयो ?’

शरद्– ‘डाक्टर साहेब, मलाई ज्वरो आयो। जिउ पनि साह्रै दुख्छ।’

डाक्टर– ‘ज्वरो आएको कति दिन भयो ? कतिसम्म ज्वरो पुग्छ ?’

शरद्– ‘तीन दिन भयो, ज्वरो चार डिग्रीसम्म पुगेको छ।’

डाक्टर– ‘ठिक छ, जाँचूँ त एकचोटि ?’

डाक्टर साहेबले छाती जाँच्दै लामो सास फेर्नुहोस् भन्नुभयो। जिब्रो, आँखा, मुख पनि हेर्नुभयो। प्रेसर पनि नाप्नुभयो। यी सबै जाँच गरेर भन्न थाल्नुभयो, ‘तपाईंको प्रेसर घटेर माथिको नब्बे मुनिको साठी मात्र पो छ। तपाईंलाई केही जाँच गर्नुपर्छ। अहिले इमर्जेन्सीमा जानुहोस्। त्यहाँको डाक्टरलाई म लेखिदिन्छु। तपाईंलाई स्लाइन पानी चढाउनुपर्छ। भरेसम्म घर पठाउँला। म पनि पछि त्यहाँ आउनेछु।’

शरद् इमर्जेन्सीमा गयो। पुनः त्यहाँका डाक्टरहरूले उसलाई जाँच गर्न थाले। उसको शरीरमा स्लाइन पनि चढाए। रगत जाँच, पिसाब जाँच, एक्स रे, इसिजी, इको सबै गराए।

रिपोर्ट एकपछि अर्को गरेर डाक्टर साहेबले हेर्नुभयो। रिपोर्ट हेरेपछि उहाँले भन्नुभयो– ‘तपाईंलाई डेंगी भएको छ, तपाईंको प्लेटलेट्स पनि धेरै घटेको छ। तपाईंलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।’

प्लेटलेट्स भनेको रगतमा पाइने एक प्रकारको तत्त्व, त्यो कम भएपछि आन्तरिक रक्तस्राव भई मानिसको मृत्यु पनि हुन सक्ने कुरा पनि उसले थाहा पायो। अब उसको घर जाने इच्छा तुरुन्तका लागि बन्द भयो। ऊ उपचारका लागि अस्पताल भर्ना भयो।

अस्पताल भर्ना भएको भोलिपल्ट, रातको समय थियो। भित्तातिर फर्केर शरद् अस्पतालको बेडमा पल्टिरहेको थियो। भित्तामा एउटा भुसुनो आयो। उसले त्यसलाई औंलाले थिच्यो। उसले त्यो भुसुनो म¥यो भन्ने ठानेको थियो तर त्यो भुसुनो त झन्झन् माथि सर्थ्याे। फेरि जहाँको त्यहीं त्यो भुसुनो आउँथ्यो। जति चोटि थिचेर मारे पनि त्यो त भित्तामा आएर हिँड्थ्यो। ऊ अचम्म पथ्र्याे। यस्तो अनौठो दृश्य शरद्ले देख्थ्यो। यो तर्कना, वास्तविकता वा दृष्टिभ्रम उसलाई के भयो के ? डेंगीले उसलाई त यस्तो पो बनायो।

स्लाइन, एन्टिबायोटिक्स, भिटामिन बी कम्प्लेक्स के के हो के के ? औषधि हातको नसाबाट दिन थालियो। दिनका दिन रगत जाँच। एक दिन बिराएर छातीको एक्स रे। त्यसरी नै बारम्बार पेटको भिडियो पनि गरियो। यो रोगले शरीरको फोक्सोमा पानी भरिने, पित्तथैली सुनिने, फियो बढ्ने जस्ता असरहरू देखिने रहेछ। यसरी विभिन्न अंगलाई असर गर्ने रहेछ।

डाक्टर बारम्बार आएर भन्नुहुन्थ्यो– ‘तपाईंलाई त विशेष हेरचाह गर्ने कक्षमा लगेर उपचार गर्नुपर्ने हो तर तपाईं क्याबिनमा हुनुहुन्छ। तपाईंलाई कुनै पनि समय गाह्रो भयो भने तुरुन्त नर्सलाई भन्नुहोला, विशेष निगरानी गर्ने कोठामा राखेर तपाईंको उपचार गर्नुपर्छ।’

उपचार गर्दा गर्दै प्लेटलेट्स बढ्न सकेन। ऊ अझै खतरा मुक्त भएको थिएन। डेंगीले झन् शरद्लाई गाल्दै लग्यो। अन्तमा उसलाई प्लेटलेट्स बढाउन रगतमा पाइने प्लाज्मा दिनैपर्ने भयो।

प्लाज्मा पाउन सजिलै सकिएन। प्लाज्मा खोज्न थालियो। उसकै रगत समूहको प्लाज्मा कतै पाइएन। ऊ अस्पतालको बेडमा रोगसँग लडिरहेको थियो। ज्वाइँ, छोरी, छोरा र श्रीमती सबैले प्लाज्माका लागि प्रयत्न गरे। आफन्तहरू प्लाज्माका लागि शोधखोज गर्न थाले। जीवन बचाउने दिलदार व्यक्तिबाट रगत दान भयो। रगत दान गरेको करिब तीन घण्टापछि मात्र रगतबाट प्लाज्मा छुट्याउन सकिने रहेछ। केही समयपछि बल्ल शरद्को शरीरमा हातको नसाबाट प्लाज्मा दिन थालियो। शरद्ले रक्तदातालाई मनमनै धन्यवाद दियो।

प्लाज्मा दिन थालेपछि पनि उसको रगतमा प्लेटलेट्सको मात्रा बढ्न सकेन। घर परिवार र आफन्त सबै चिन्तित हुन थाले। अब के हुने हो ? सबैलाई चिन्ता लाग्नु स्वाभाविक पनि हुने नै भयो। सबै परिवारको अनुहारमा चिन्ताको रेखा प्रस्ट देखिन्थ्यो। डाक्टर नर्सहरू सबै बिरामीको सेवामा संलग्न थिए। शरद् भने रोगसँग लडिरहेको थियो। चिकित्सकको प्रयास जारी थियो। केही पिन्ट प्लाज्मा शरीरमा चढाएपछि बल्ल उसको रगतमा प्लेटलेट्सको मात्रा बढ्न थाल्यो र ऊ खतराबाट मुक्त भयो।

अस्पतालको क्याबिनमा बस्दा ऊ घर सम्झिरहन्थ्यो। कहिले घर जाऊँजस्तो उसलाई भएको थियो। क्याबिनमा सबै सुविधा भए पनि घरजस्तो कहाँ हुनु र ? आफ्नो घरमा बेग्लै आनन्द हुने। आफ्नो ओछ्यानजस्तो कहींको पनि नहुने। ऊ आफ्नै घरको कोठा, बार्दली, बैठक सम्झिरहेको थियो। त्यही बखत डाक्टर साहेब आउनुभयो। सबै रिपोर्ट हेर्नुभयो र उसको छाती जाँच्नुभयो। ल, अब आज घर जाने भन्नुभयो। डाक्टरको यो वाक्य सुनेर शरद् खुसी भयो।

आज अस्पताल भर्ना भएको केही दिनपछि शरद् अस्पतालबाट डिस्चार्ज भई घर फर्कियो। ऊ साह्रै कमजोर भएको थियो। एउटा पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने रहेछ। कति रोग लागेपछि मृत्युसँग लडेर फर्कंदा रहेछन् भने कति मृत्युलाई वरण गर्दा रहेछन्। शरद्को टोलमा पनि धेरैलाई डेंगी लागेको थियो। त्यसमध्ये कतिको त मृत्यु पनि भयो। मृत्यु हुनेलाई सम्झँदा उसलाई नमिठो भएर आउने गथ्र्यो।

शरद्लाई डेंगी भएको पनि करिब एक महिना बितिसक्यो। अझै पनि ऊ औषधि सेवन गरिरहेको थियो। शरीरमा पूर्ण तागत आएको थिएन। जाडो बढ्दै थियो। शरद् घरको कौसीमा घाम तापिरहेको थियो। अलिअलि चिसो बतास चल्यो।

एकपछि अर्को अस्पतालको सम्झना उसको मानसपटलमा आइरह्यो। उसले भगवान्रूपी नर्स र डाक्टरलाई सम्झन थाल्यो। कुनै डाक्टर शरद्लाई सर भन्थे भने कुनै डाक्टर तथा नर्स उनलाई नामबाट सम्बोधन गर्थे। सबै डाक्टर÷नर्स आएर उसलाई सोध्थे, ‘कस्तो छ तपाईंलाई अहिले ?’ ऊ हाँसेर जवाफ दिन्थ्यो, ‘हजुर, मलाई ठिक छ।’

उनीहरूले त्यसपछि भन्थें, ‘तपाईं हाँसेर ठिक छ भन्नुहुन्छ तर तपाईं क्लिनिकल्ली ठिक हुनु हुन्न।’

उनीहरूको औषधोपचार र हेरचाहबाट नै आज म यो अवस्थामा आइपुगेँ भनेर विचार गर्दै ऊ घरको कौसीमा घाम तापिरहेको थियो। शरद्लाई डेंगीको कहरले दिएको दुःख, समयको बर्बादी र धनको नाश भएको सम्झना आयो। शरद्ले कौसीवरिपरि हेर्‍यो। गमलामा विभिन्न किसिमका फूल फुलेका थिए। कहिले फूलमा आएर बस्थे पुतली, कहिले माहुरी फूलको रस चुसेर आनन्द लिइरहेका हुन्थे।

उसले फेरि आकाशतिर हेर्‍यो। आकाश कञ्चन निलो थियो। टाढा बादलका केही सेता टुक्रा थिए। एउटा सानो बादलको टुक्राले सूर्यलाई ढाक्यो। चिसो ह्वात्त बढ्यो। हावा जोडले चल्न थाल्यो। फेरि एकैछिनमा सूर्यलाई ढाकेको बादल अलिपर पुग्यो र फेरि सूर्य चम्कन थाल्यो। ऊ बसेको ठाउँमा घाम लाग्यो अनि न्यानो भयो। उसले मनमनै विचार गर्न थाल्यो। प्रकृति र मानिसको जीवन पनि उस्तै उस्तै त हो नि– कहिले घाम, कहिले छाया, कहिले अँध्यारो, कहिले उज्यालोे। शरद् मनमनै भन्दै थियो– ‘धन्न बाँचियो !’

ऊ अस्पतालको स्मृति र निलो आकाशको क्षितिज हेर्दै खिस्स हाँस्यो।

प्रकाशित: २९ मंसिर २०८१ ०५:५० शनिबार

# Story # Smriti Hospital