कला

अदृश्य नायक

निबन्ध

संसारले फूल देख्छ, देख्दैन बोटका जरा। माटोमुनि बसेर बोटमा फूल फुलाउन जराले कति तपस्या गरेको हुन्छ, बेखबर रहन्छ संसार। यो कुरा फूललाई त अवश्य थाहा हुन्छ, तैपनि फूल फुल्नमै मस्त रहन्छ। सबैले प्रशंसा गरिदिन्छन् रङ, बास्ना र फुलाइको। त्यही प्रशंसामा मग्न हुन्छ फूल अनि आफूलाई उभ्याउने जरा पनि भुलिदिन्छ।

हामी गुनगुनाउँछौं अजम्बरी गीत। एकोहोरो प्रशंसा गर्छौं आवाजको, किनभने सुनिन्छ सबैभन्दा पहिला त्यही आवाज। अलिक भावुक श्रोताले शब्द केलाउँछ। गीतको निर्माता, भाका बनाउने र गायकलाई लय सिकाउने सङ्गीतकार अर्थात् गीतको संयोजन गर्ने संयोजकप्रति अधिकांश बेखबर रहन्छन्।

भर्खरै मिठो सारङ्गी रेटिएको एउटा चलचित्र हेरेर फर्केको छु। चलचित्रमा मलाई अरू सामान्य लाग्यो, सबैभन्दा विशेष लाग्यो सारङ्गीको परिष्कृत धुन। चलचित्रभरि देखिए त्यसका नायक, नायिका र अन्य केही पात्र। देखिएन उक्त परिष्कृत धुन बजाउने सारङ्गी वादक। मेरो मनले सारङ्गीको वास्तविक वादक चलचित्र अवधिभर खोजिरह्यो। कहीं आएको ऊ। आए त केवल अभिनय गर्ने अभिनेता मात्र। लाग्यो, संसारमा अभिनेता जताततै देखिन्छन्, देखिँदैनन् वास्तविक नायक।

टुक्रे देशहरूलाई एक बनाउने पृथ्वीनारायण शाह इतिहासका पानापानामा लेखिएका छन्। त्यतिबेला पृथ्वीनारायण शाहसँगै युद्धमा होमिने प्रायः योद्धाको नामनिसान कुनै इतिहासको पानामा छैन। विपक्षीलाई छप्काउने धारिला हतियारका निर्माता सायद हतियार बनाउँदा बनाउँदै आरनमै पोलिएर मरे होलान्। तिनको योगदान इतिहासले कहिल्यै समेटेन। वास्तवमा युद्धमा होमिएर मर्ने योद्धाहरू, युद्धका लागि हतियार बनाउने विश्वकर्माहरू नेपाल एकीकरण नामक नाटकका पर्दामा नदेखिने नायकहरू हुन्।

युद्धको सन्दर्भ आउनासाथ नेपालमा चलेको दशवर्षे सशस्त्र युद्ध सम्झनामा आइहाल्छ। युद्धपश्चात् बाँचेकाहरूले मस्ती गर्ने रहेछन्, युद्धमा मृत्युवरण गरेकाहरूको नामनिसान नरहने रहेछ। क्रान्तिका नाममा वलिदानी दिने पर्दापछाडिका नायकहरूको यकिन तथ्याङ्कसमेत युद्ध खेलाउने पार्टीसँगै छैन होला।

यहाँ सधैं भ्रमपूर्ण नाटकको मञ्चन हुँदो रहेछ। जसको जीवन नै दुःखान्तक नाटकको नायकका जस्तो छ, उसको दुःखद कथाको रोयल्टी खाएर धनी बनेका छन् युद्धको नेतृत्व सम्हालेको अभिनय गर्ने बनावटी नायकहरू। वास्तविक नायक त केही जेलमा हराए, केही जंगलमा हराए, केही जमिनमुनि लुकाइए। पर्दाबाहिरका यिनै नायकको मृत्युको ब्याज खाँदैछन् पर्दामा अभिनय गर्ने अभिनेता।

जहाँतहीं देखिने यथार्थ हो यो। यात्रीलाई नदी पार गराउने नाविक, प्रसिद्धिप्राप्त व्यक्तिलाई जन्माउने आमाबुबा, शिष्यलाई आफूभन्दा कैयौं गुणा उच्च स्थानमा पुर्‍याउने शिक्षक, दर्शक दीर्घामा बसेर निरन्तर हुटिङ गर्ने दर्शक, भोट दिएर नेतालाई जिताउने कार्यकर्ता यस्तै पर्दा पछाडिका नायक हुन्। यी नायकलाई कसैले चिन्दैनन्। सबैले चिन्छन् केवल नदी तरिसकेका यात्री, सफल शिष्य, गोल हान्ने मेसी–रोनाल्डो अनि चुनाव जित्ने नेता।

योगमायाको लहैलहैमा लागेर जलसमाधि लिएका कैयौं नारी देखेर मेरो मन सधैं कुँडिन्छ। त्यो दिन अरूण नदीले प्रातः झिसमिसे नहुँदै कति महान् आमाका छोरीलाई बगायो, कति बाबुनानीका आमालाई बगायो, कति निर्दोष मन अँध्यारोमा उकुसमुकुस हुँदै पानीभित्र बिलाए। तर त्यहाँ कुनकुन मन नदीमा डुबे, कसकसका छोरीहरूले वलिदानी दिए अनि कुनकुन बालबच्चा टुहुरा भए भन्ने निसान कहींकतै छैन। सबैले देखेका छन् मात्र योगमाया। कसैले देखेको छैन योगमायालाई सच्चा योगी बनाउने यावत आत्माहरू।

हाम्रा आँखा कहाँसम्म पुग्न सक्छन् ? उत्तर प्रस्ट छ– यी आँखा भौतिक पर्दामा घुम्छन्, पर्दाभित्रका आध्यात्मिक पत्र यी आँखाले देख्दैनन्। हाम्रा कानले के के सुन्न सक्छन् ? उत्तर प्रस्ट छ– यी कानले स्वरयन्त्रको आवाज, बादलका गड्याङगुडुङ, बन्दुकको चिच्यावट वा मादलका घिन्ताङ सुन्छन्। अर्थात् बाह्य कानले सुन्छन् यस्तै भौतिक आवाज। यिनले सुन्दैनन् मनको वाणी, आकाशका आकाङ्क्षा, बारुदको थकावट अनि मादलको माधुर्य। अर्थात् जगत् डुल्दैछ फगत संसार। जगत्ले फूल देख्छ, देख्दैन प्रकृति। जगत् वेदका ऋचा घोक्छ, बुझ्दैन वैदिक जीवन।

अदृश्य चिज शक्तिशाली हुन्छ। हामीले कहिल्यै देखेनौं परमात्मा। भौतिक दुनियाँमा कहिल्यै साक्षात्कार हुन पाएनौं ब्रह्मसित। साक्षात् रूप देखिँदैन प्रकृतिका कालिगडको। बाहिरी आँखामा अवतरित हुँदैन मान्छेभित्रको सत्त्व। यी सबै मनको पर्दाभित्र मात्र अवतरित हुन्छन्। यी देखिन्थे भने कहाँ रहस्यमयी भएर शक्तिशाली रहिरहन्थे र ? यी अदृश्य छन् र त शक्तिशाली छन्। पर्दाभित्रका नायकको रूप यस्तै अमूर्त हुन्छ। उदाङ्गो बन्नु आफूलाई अरूको नजरमा कमजोर बनाउनु हो। छोप्नुपर्ने चिज कहिल्यै देखाउनुहुँदैन। आफूलाई पारदर्शी होइन, सधैं रहस्यमय बनाइरहनुपर्छ। रहस्यभित्र शक्ति हुन्छ। शक्तिशाली बन्न पर्दाभित्रको नायकत्व जोगाइरहनुपर्छ।

भूतभन्दा भविष्य सधैं शक्तिशाली प्रतीत हुन्छ। भूत पर्दामा आइसकेको हुन्छ, भविष्य पर्दाको गर्तभित्र अव्यक्त स्वरूपमा रहन्छ अर्थात् दुनियाँको आँखामा अवतरण गर्न बाँकी हुन्छ। त्यसैले भविष्य सधैं रहस्यमय र अमूर्त हुन्छ। त्यही रहस्यभित्र शक्ति छ। आँखाले देखेको मात्र संसार होइन, आँखापारि झनै ठुलो संसार छ। आँखाभन्दा पारि पुग्न सक्छ मन। मनपारिको संसार पनि अनन्त छ। पर्दामा देखिन्छ सीमित संसार। पर्दापारिको संसार असीमित छ। त्यसैले दृश्य नायकभन्दा अदृश्य नायक बढी शक्तिशाली हुन्छ।

अहिले कलम चलाउँदा चलाउँदै महसुस हुँदैछ– हरेक चिजको गुणवत् तत्त्व अन्तर्यमा लुकेको हुँदोरहेछ। हाम्रो शरीरका मुुटु, कलेजो, मिर्गौला, फोक्सो, गिदीजस्ता अंग हेरौं त। विशेष सुरक्षासाथ शरीरको अन्तर्यमा निहित छन्। बलियो हड्डीको बाकसभित्र सज्जित छ गिदी। करङको खोल ओडेर लुकेका छन् मुटु, कलेजो, फोक्सो। बडो जतनसाथ लुकेर बसेको छ मिर्गौला। लुकेर बसेका छन्, यद्यपि चलाएका छन् शरीर। यी अंग चलेसम्म शरीर छ, यी चल्न छाडेपछि शरीर शरीर रहँदैन। जीवन चलाउने नायक अंग हुन् यी।

मुटुको अदृश्य घाउको कथा पनि यस्तै हुन्छ। देखिने घाउभन्दा नदेखिने घाउ बढी दुख्छ। वचनको घाउ, अपमानको घाउ, घृणाले डामेको मनको घाउ अर्थात् मुटुभित्रको अदृश्य घाउको दुखाइ असह्य हुन्छ। दृश्य घाउ र अदृश्य घाउको दुखाइ नै भिन्न हुन्छ। उपचारमा पनि त्यही सिद्धान्त लागु हुन्छ। दृश्य घाउको शल्यक्रिया गर्न तुलनात्मक रूपमा सहज होला तर अदृश्य घाउको मुहान फेला पार्नै मुस्किल हुन्छ। मनले चाहेन भने त्यो अदृश्य घाउ निको हुनेवाला छैन। मनको घाउ दिन प्रतिदिन बल्झिँदै जान्छ, घाउको डोब दिन प्रतिदिन ठुलो हुँदै जान्छ। आखिर त्यही अदृश्य घाउले नै सिध्याउँछ जीवन। त्यसैले अदृश्य घाउलाई कहिल्यै नजरअन्दाज गर्नु हुँदैन।

समाजले समय समयमा नायकको खोजी गर्छ। समाज जब जटिल मोडमा पुग्छ, जब विपत्तिले थिलोथिलो बनाउँछ, तब महसुस हुन्छ नायकको आवश्यकता। विनाशकारी भूकम्पमा ज्यान दाउमा राखेर उद्धारमा जुटेका सिपाही हुन् वा कोरोनाले थिलोथिलो पारेका बेला बिरामी मन बहलाउन उनीहरूका अगाडि नाचेर टिकटक बनाउने नर्स, यी समयले माग गरेका नायक हुन्। यस्ता नायक भित्तामा चल्ने चित्रमा देखिँदैनन्, कुनै गायकका गीतमा यस्ता नायकका कथा हुँदैनन्, कुनै सम्मानपत्रमा यी नायकको नाम टाँसिँदैन। किनभने यी त पर्दाबाहिर कर्म गर्ने नायक हुन्। यिनले चिनाउन पनि जरुरी ठान्दैनन् आफूलाई।

कहिलेकाहीं नेताहरूले भन्ने गरेको सुनिन्छ– सरकार फेरिनुमा अदृश्य तत्त्वको भूमिका छ, अदृश्य तत्त्वले दरबार हत्याकाण्ड मच्चायो। आफूले चाहेअनुसारको राजनीतिक परिघटना घटेन भने उनीहरूले भनिहाल्छन्– अदृश्य बादल देशको आकाशमा मडारिइरहेको छ। त्यही कालो बादलले देशलाई भिजायो। दरबार हत्याकाण्डपश्चात तत्कालीन प्रधानमन्त्रीले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ पनि त्यही अदृश्य तत्त्व नै हो।

फरक यत्ति हो, सबै अदृश्य तत्त्व नायक हुँदैनन्। नायकत्व त उनीहरूको कर्मले निर्धारण गर्ने हो। उनीहरूको कर्म असत् धारमा अगाडि बढेको छ भने त्यहाँ अदृश्य खलनायकत्व देखिन्छ। दृश्यभन्दा अदृश्य तत्त्व शक्तिशाली भने अवश्य हुन्छ। दृश्य नायकभन्दा अदृश्य नायक, दृश्य खलनायकभन्दा अदृश्य खलनायक नै शक्तिशाली हुन्छ।

फोटो खिच्ने व्यक्ति फोटोमा देखिँदैन, चलचित्र छायाङ्कन गर्ने व्यक्ति पर्दामा देखिँदैन, पत्रिकाका सम्पादक समाचारमा देखिँदैनन्। विद्यार्थीको सफलता देखिन्छ, गुरु देखिँदैनन्। नदी देखिन्छ, मूल देखिँदैन। चित्र देखिन्छ, चरित्र देखिँदैन। माता देखिन्छिन्, मातृत्व देखिँदैन। कविता देखिन्छ, कवि देखिँदैन। शरीर देखिन्छ, आत्मा देखिँदैन। ज्वाला देखिन्छ, ताप देखिँदैन। शब्द देखिन्छ, अर्थ देखिँदैन। साधक देखिन्छ, साधना देखिँदैन। मन्दिर देखिन्छ, आस्था देखिँदैन। खाना देखिन्छ, स्वाद देखिँदैन। विद्यार्थी देखिन्छ, विद्या देखिँदैन। यी देखिने समग्र चिजको गुणवत्ता नदेखिने तत्त्वमा निर्भर रहन्छ। वास्तवमा दृश्यचिजको आत्मा हो अदृश्य तत्त्व। मासुको थुप्रो मात्र मान्छे होइन, अदृश्य प्राण छ भने बल्ल त्यो थुप्रो मान्छे बन्छ। प्राण नभए त्यही मासुको थुप्रो शव बन्छ। त्यही प्राण हो अदृश्य नायक।  

प्रकाशित: २९ मंसिर २०८१ ०५:४६ शनिबार

# Nibandha # The Invisible Hero