कला

‘स्क्रिप्ट पढेर खलनायक’

फिल्म ‘नेप्टे’का नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ । तस्बिरः नागरिक

काठमाडौं–अधिकांश फिल्ममा ‘नायक’का रुपमा देखिँदै आएका अभिनेता दयाहाङ राई आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नेप्टे’मा पहिलो पटक खलनायकको चरित्रमा देखिँदैछन्।

 फिल्मको स्क्रिप्ट मनपरेरै अधिकांश फिल्ममा ‘नायक’का रुपमा देखिँदै आएका दयाहाङलाई यसपटक भने स्क्रिप्टले ‘खलनायक’ बनाइदिएको छ।‘फिल्मको कथा र विषय उत्कृष्ट छ । स्क्रिप्ट पढि सकेपछि मेरो चरित्र निकै दहाै लाग्यो । अनि मैले खलनायक नै रोजें,’दयाहाङ भन्छन्,‘मेरो भूमिका र फिल्म दर्शकको रोजाइमा पर्नेमा म ढुक्क छु । मलाई विश्वास गरेर भए पनि दर्शक नेप्टे हेर्न हलसम्म आउनुहुनेछ।’

मंगलबार भएको पत्रकार भेटघाटमा  फिल्मका प्रस्तुतकर्ता तथा नायक रोहित रुम्बाले ‘नेप्टे’ कमेडी कथामा एउटा मनोरञ्जनपूर्ण फिल्म बनाएको बताए । ‘फिल्म क्षेत्रमा एक दशक लामो अनुभवलाई यो फिल्ममा पोखेको छु,’रुम्बाले भने,‘फिल्ममा सबै कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । हाम्रो मेहनत खेर नजानेमा म ढुक्क छु।’

निर्देशक देवकुमार श्रेष्ठले फिल्मको गीत र ट्रेलर हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेकाले उनीहरुले फिल्मलाई अझ बढी मनपराउने आशा व्यक्त गरे । ‘‘नेप्टे’ कमेडी फ्लेबरको फिल्म हो । मेरा अघिल्ला फिल्ममा भन्दा यसमा केही फरक गर्ने प्रयास गरेको छु ।’ देवकुमारले भने।

फिल्मकी नायिका छुल्ठिम गुरुङले ‘नेप्टे’ अहिले आइरहेको फिल्मभन्दा फरक रहेको बताइन् । ‘मलाई फिल्मको कथाले छोयो । कमेडी र सस्पेन्स फिल्म हेर्न चाहने दर्शकका लागि यो फिल्म राम्रो हुन्छ,’ छुल्ठिमले भनिन् । कलाकार बुद्धि तामाङले ‘नेप्टे’मा आफ्नो चरित्र अघिल्ला फिल्मसँग नमिल्ने दाबी गरे । ‘म दर्शकलाई यो फिल्ममा कमेडीको पूर्ण मनोरञ्जन दिनेछु । मलाई लाग्छ मेरो यस्तो चरित्र अन्य फिल्ममा दर्शकले हेर्न पाउनुहुने छैन ।’ उनले भने।

आर रोशनी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाललगायतका कलाकारको अभिनय छ ।फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।


 

प्रकाशित: २९ चैत्र २०७४ ०२:४७ बिहीबार

स्क्रिप्ट पढेर खलनायक