कला

कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ!

मुक्तक

१) मुक्तक

आफ्नो जिन्दगी आफैंसँग धेरै डर लाग्छ,

दु: ख-पीडा भए पनि जिउन कर लाग्छ।

मनभित्रको डरलाई साहसमा बदलेर,

संघर्ष गर्दा आफ्नै जिन्दगीको भर लाग्छ।

२) मुक्तक

मनको कुरा नगरेको धेरै भयो तिमीसँग,

गाउँको खोली नतरेको धेरै भयो तिमीसँग।

सम्झनाका तरेली ती आउँदाखेरि मुटुमाझ,

अमर माया नभरेको धेरै भयो तिमीसँग।

३) मुक्तक

मीठो लागेर के गर्नु सबै खाना खान सकिंदैन,

मन लागेर के गर्नु सबै ठाउँ जान सकिंदैन।

कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ,

देखे जति सबै कुरा साथमा लान सकिदैन।

४) मुक्तक

हजारौं तिर्थयात्री धानेकी छिन् भुलभुले दूधकुण्डले,

सबको मनलाई तानेकी छिन् भुलभुले दूधकुण्डले।

अति राम्रा माछासहित जलमा बस्छिन् जालपादेवी,

सुन्दर ठाउँलाई छानेकी छिन् भुलभुले दूधकुण्डले।

५) मुक्तक

सुन्दर ती फूलहरू बास्नासहित आफ्नो बोटमा बस्छन् नि,

आयु सकी ओइलाएपछि त्यसैत्यसै भुईमा खस्छन् नि।

आफ्नो सुन्दर रूप र संसार चटक्क छोडेर,

सबैसबैलाई बिर्सिएर आकाशतिर पस्छन् नि।

प्रकाशित: २५ मंसिर २०८१ १०:०९ मंगलबार