कला

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ। प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार काठमाडौंँमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारकाे घोषणा गरेको हो।

अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राध्यापक डाक्टर वीणा पौड्याललाई चयन गरिएको छ। त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

यसैगरी स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार युवा पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतलाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोक गायक तथा सङ्कलक कमलीकान्त भेटवाललाई प्रदान गर्ने निर्णय गरेको छ।

वरिष्ठ समालाेचक महेश पाैड्यालकाे अनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेकाे छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचासपचास हजार रुपैयाँ राशि रहेको छ।

उक्त पुरस्कार तथा सम्मान माघ अन्तिमतिर पुरस्कार समर्पण गरिंदै छ। स्मरण रहोस्, प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ।

प्रकाशित: २१ मंसिर २०८१ ०८:०९ शुक्रबार