कला

आफन्तको पीडा

कथा

उसले के सोचेको थियो, थाहा भएन। उसको व्यवहारले म छटपटाइरहें, तडपिरहें रातभरि निद्रा परेन, मनमा कुरा खेलिरह्यो। आफन्तको खोल ओढेकाले दिएका पीडाका सौगातहरूलाई बिर्सन खोजे पनि बिर्सन सकिंदो रहेनछ। मान्छेमान्छेको बीचमा पैसाको तगारोले मलाई पनि पराई बनाएरै छोड्यो। एउटा अपरिचितसँग गर्ने व्यवहारभन्दा पनि भिन्दै व्यवहार गर्ने कसरी आफन्त हुन सक्छ, म चिन्तित बनिरहें।

मान्छेले मान्छेलाई गर्ने व्यवहार बडो गजब हुुँदो रहेछ। अझ आफन्तले गर्ने व्यवहारले साह्रै घात गर्दोरहेछ। सपनामा पनि नसोचेका कुराहरू भए ममाथि। एकछिन त स्तब्धै भएँ। शरीरसँगै मष्तिस्क शून्यमा हरायो। म हराएँ, ती कोमल वाणीहरू छुरा बनेर धसिए मुटुमा। मेरो आत्मा छटपटायो। जीवनमा फेरि आफन्तको प्यास बढ्यो, लगलग काम्न थाले मेरा हातसँगै नातासम्बन्धहरू।

ऊसँग वर्षौ अगाडिदेखिको नाता थियो। हर सुखदुखमा सहयोगका हात बढ्थे। समकक्षीको नाताले सहपाठीको नाताले सम्बन्ध बढेको थियो। संयोग पिताको पनि राम्रो परिचय थियो। उनको परिवारसँग परिवारबीच आउनेजाने क्रम चलिरहेको थियो। त्यो सुखद् दिनका सम्झनाहरू अझै स्मृतिमा ताजै छन्।  त्यो सुख र आज काखमा राखेर घाँटी सेरेको दुःख साथसाथ छन।

थोरै सम्पत्तिका लागि पनि मान्छेले आफ्नोपन बिर्सिंदो रहेछ। यो मानवले प्रकृतिबाट पाएको गुण हो वा अवगुण बुझ्न नसकिंदो रहेछ। फेरि मान्छेको मन बदलिन्छ, फेरिन्छ कतिखेर कुन बेला पत्तै हुँदो रहेनछ। पराइका पीडाहरू केही समयपछि आफैं विलीन हुन्छन्, हराउँछन् सजिलै बिर्सन सकिने रहेछ। तर, आफन्त बनेर आत्माको नजिक रहेर दिएका पीडाहरू किन समयसमयमा दुख्छ थाहा नै हुँदैन।

अन्तिम पटक म त्यो घरमा ठूल्दाइको विवाहमा गएको थिएँ बस्ने गरी। विवाहमा ठूलो रौनक थियो। चार दाजुभाइमध्ये जेठो छोराको विवाह वास्तवमै धुमधामसँग गरिएको थियो। परिवारमा ठूलो खुशी छाएको थियो। आपसमा बडो मेलमिलाप देखेर म पनि आनन्दित हुन्थें। दिनहरू बित्दै गइरहेका थिए। मेरो उमेर पनि बढ्दै गइरहेको थियो।

विद्यालयबाट बनभोज आयोजना गरिएको थियो म र मेरा साथीहरूसँगै वनभोज गयौ। बाल्यमन साथीसंगीको संसर्गमा  रमाइलो लाग्नु बिलकुल स्वाभाविकै हो। वनभोजमा खुब रमायौ। बेलुका फर्कदा निकै ढिला भइसकेको थियो। विद्यालयसम्म बसले छोड्दियो। त्यहाँबाट घरसम्म पुग्न निकै कठिन थियो तर असम्भवचाहिं थिएन। तैपनि रातको समय हल्का डर लागिरहथ्यो।

मेरो असल मित्रले आफ्नै घरमा वस्न अनुरोध गरे। म बाटो हराएको पथिकझैं पछि लागें।  रात निकै बितिसकेको थियो। मसँगै अर्को एक साथी असल मित्रको घरमा पुग्यौं सुत्नका लागि भाउजूले ओछ्यान मिलाइदिंदै केके भन्दै हुनुहुन्थ्यो।

सबै कुरा मैले राम्ररी बुझिनँ तर घर टाढा हुने मान्छे किन वनभोज जानु? रातविरात अर्कालाई दुःख दिएर भन्ने शब्द स्पष्ट सुनें। निकै खल्लो लाग्यो। वास्तवमा उहाँले भनेको पनि ठिकै हो। म धेरैबेर निदाउन सकिनँ। बालमस्तिष्कमा रातभर असह्य पीडा भैरह्यो। रात दुखसँग काटें।  कुन बेला बिहानी होला र हिडौं जस्तो भइरह्यो। मिर्मिरेमा हामी उठेर हिंड्यौ।

आफन्तका नाममा कसैले दिएको पीडा अत्यन्त दुख्दो रहेछ। त्यसपछि म त्यो घरमा कहिले फर्केर गइनँ। आमाबुवाले बाेलाउँदा पनि केके भनेर टारिदिन्थे तर कारण कसैलाई बताएको थिइनँ।

बाह्र वर्षपछि आज ठूलो दाजुसँग भेट भयो निकै मीठामीठा कुराहरू भए। म दाजुकै निम्ताेमा आफ्नो काम पनि भएकाले समय मिलाएर उहाँको अफिसमा पुगेको थिएँ। अफिसको सजावट ठिकै थियो। मैले आफ्नो कामबारे भनें। त्यतिबेला म आर्थिक कठिनाइमै बाँचिरहेको थिएँ।

ठूलै आशा बोकेर कामका लागि गएको थिएँ। उहाँले व्यवसायीको मीठो बोलीमा सान्त्वना दिनुभयो। मैले आफ्नो कामको जिम्मा लगाएर हिडें। दुईतीन दिनपछि आउने जानकारी दिए। त्यतिबेलासम्म काम सकिसक्ने ढाडस उहाँले दिनुभयो। आर्थिक कुरा भएन। यो मेरो कमजोर पक्ष थियो। मेरो अन्तर्मनले अरू नचिनेको मानिसलाई केही दिनुभन्दा आफन्तलाई नै दिंदा राम्रो सल्लाह दिएको थियो कालान्तरमा त्यो गलत सावित भयो।

चौथो दिनमा म फेरि दाजुको अफिसमा पुगें। विविध बहाना बनाएर काम आलटाल गरियो भोलिको निम्ति कुदाइयो। म भोलिपल्टै ठीक समयमा पुगेँ किनकि काममा धेरै ढिलाे भैसकेको थियो। बल्लतल्ल काम भयो। मेरो हातमा एउटा विल थमाइयो। विल राम्ररी हेरें। म अवाक् भएँ। बाेल्न सकिनँ। विलको अङ्क अझ बाहिरको मान्छेले लिनेभन्दा ठिक दोब्बर थियो। म छानाबाट खसेसरह भएँ। अनुमानभन्दा ठीक विपरीत भयो। मेरो विचारमा आँधी आयो। मेरो मुटुमा गहिरो चोट आजसम्म छ। बेलाबेलामा आफन्तले दिएकाे पीडाले झस्काइरहन्छ।

प्रकाशित: १८ मंसिर २०८१ १२:४९ मंगलबार

# Katha #Parai